काठमाडौं। गोरखाको ‘लिगलिगकोट’ धार्मिक तथा ऐतिहासिक रुपमा निक्कै महत्वपूर्ण स्थान हो। पर्यटकीय दृष्टिकोणले यो ठाउँ आकर्षणको केन्द्र मानिन्छ। आन्तरिक तथा वाह्य पर्यटक घुम्नकै लागि आउँछन्। तर, यस ठाउँको उचित विकास हुन नसक्दा ओझेलमा परेको छ।
पर्यटकका लागि आवश्यक पूर्वाधार तयार गर्न सके ठूलो संख्यामा पर्यटक आउने सम्भावना छ। अनूकुल र पर्याप्तमात्रामा पूर्वाधार नहुँदा पनि यो ठाउँ घुम्नकै लागि थुप्रै पर्यटक आउने गरेका छन्।
यहाँ बर्सेनि ठूलो संख्यामा पर्यटक आउँछन्। तर, पर्यटक बस्न होमस्टे र होटल छैनन्। जसका कारण एक रात बस्न पनि बन्दीपुर वा गोरखाबजार फर्किनुपर्ने बाध्यता छ।
पर्यटकको यो समस्या देखेका केदार गन्धारीले केही गर्ने निर्णय लिए। सोहीअनुसार काठमाडौंका गन्धारीले तीन वर्षअघि ‘लिगलिगकोट हेरिटेज स्टे फार्म हाउस’ सञ्चालनमा ल्याए। ऐतिहासिकरूपमा महत्वपूर्ण मानिएको लिगलिगकोट प्राकृतिक सौन्दर्य, सांस्कृतिक र जातीय विविधताले भरिपूर्ण ठाउँ हो। जसका कारण पनि घुम्न आउँछन्।
पर्यटकको आवश्यकता महसुस गरेर लिगलिगकोट हेरिटेज फार्म हाउस सुरु गरेको गन्धारी बताउँछन्। यो अरु भन्दा अलि फरक व्यवसाय हो। यहाँ आउने पर्यटकलाई न्यानो आतिथ्यका स्वागत गरेर च्वाइसअनुसारको खाना उपलब्ध गराइन्छ। यहाँ स्थानीय, अर्गानिक र जातीय खानाहरू पाइन्छ।
यस व्यवसायबाट संस्कृति, कला र जीवनशैलीलाई पुर्नर्जीवित गर्ने गन्धारीको लक्ष्य छ। लिगलिगकोट आउने पर्यटकको समस्यालाई समाधानलाई अवसरको रूपमा लिदै उनले २०१९ मा फार्म हाउस निर्माण गरेका हुन्।
लिगलिग कोटको ऐतिहासिक महत्वलाई एकीकृत गर्दै त्यहाँको पाँच वटा जातजातिको आ–आफ्ना सांस्कृतिक पक्ष र कलात्मक मूल्य मान्यतालाई प्रवर्द्धन गर्ने गरी फार्म स्टेलाई सञ्चालन गर्ने तयारी उनको छ।
गाउँको भौगोलिक स्थान साइकल र पैदल यात्राका साथै चरा अवलोकन र वन्यजन्तु अवलोकनजस्ता प्राकृतिक अनुकूलतालाई अधार बनाएर उनले व्यवसाय सञ्चालन गर्ने सोच बनाए।
उनले यस व्यवसायलाई मूर्तरुप दिन करिब एक करोड सात लाख लगानी गरिसकेका छन्। उनले यस व्यवसायलाई परियोजनाको रुपमा स्थापित गर्ने प्रायसअनुरुप पूर्वाधार निर्माणका लागि मात्रै २० लाख रुपैयाँ खर्चेका छन्। यहाँ म्युजिक थेरापी, सांस्कृतिक कार्यक्रम र रिट्रीट सुरू गर्ने बताएका छन्।
यस व्यवसायलाई अझ फराकिलो बनाउँदै उनले परिवारले बनाएको परम्परागत नेपाली भान्साअनुसारका खानेकुराहरु पस्कने योजना बनाएका छन्। अझ स्थानीय खानेकुराहरु बनाएर पर्यटकलाई चखाउने चाहना रहेको उनले बताए।
नेपाली परम्परागत जीवन पद्धतिलाई सन्तानका लागि जोगाउनुपर्छ भन्ने धरणा उनको छ। उनी पहिलेदेखि नै समुदायसँग सम्बन्धित उद्यमहरूमा संलग्न थिए। उनले अटिजम र अन्य मानसिक स्वास्थ्य समस्याबाट प्रभावित युवालाई मद्दत गर्न औपचारिक रूपमा संगीत थेरापी अध्ययन गरेका छन्।
उनी सारंगी सामाजिक उद्यममा ६ वर्षदेखि आबद्ध छन्। उनले फार्म स्टेमा पर्यटकहरूका लागि विभिन्न प्याकेजहरू (लिगलिगे दौड, साइकल दौड, संगीत थेरापी, नेचर वाक/ट्रेल दौड, फलफूल बगैंचाको भ्रमण र अवलोकन र तरकारी खेती र खाना पकाउने कक्षाहरू) समावेश छन्।
उनको फार्म हाउसले संस्कृति र जैविक विविधतालाई बढावा दिइरहेको झल्को दिन्छ। गोरखा र लमजुङका दुर्गम गाउँका १५ गरिब तथा सीमान्तकृत बालबालिकालाई शिक्षा दिनको लागि पनि उनी सक्रिय छन्।
कोरोना महामारीको समयमा खाद्यान्न अभाव हुँदा उनले मासिक २५ किलोग्राम चामल, दाल, खाना पकाउने तेल, नुन, साबुन र अन्य अत्यावश्यक सामाग्री वितरण गरेका थिए। लिगलिगकोटलाई ग्रामीण नेपालमा घुम्नलायक गन्तव्यको रूपमा स्थापना गर्ने उनको योजना छ। यस्तै समुदायमा स्थानीय सांस्कृतिक विविधतालाई प्रवद्र्धन गर्ने र आतिथ्य र पर्यटन उद्योगमा चेतना जगाउनु पनि हो।
आत्मनिर्भर समुदाय बनाउने सोच राखेर फार्म हाउस सुरु गर्न नगरपालिकाको स्वीकृति पाउँदा खुसी लागेको उनी बताउँछन्। उनको कम्पनीले यसअघि नै गाउँका सदस्यहरूलाई आफ्नै जग्गामा फलफूलका रूखहरू उपहार दिन थालेको छ।
‘रूखहरूको हेरचाह गर्ने जिम्मा उनीहरूको हो यसले उनीहरूलाई आम्दानी गर्न सहयोग गर्छ,’ उनी भन्छन् ‘कम्पनीसँग भरपर्दो सिँचाइमार्फत तरकारी प्लाट सुरु गर्ने, फार्म हाउसलाई फार्म स्टेको रूपमा स्थापित गर्छ, जुन समयसँगै हाम्रो समुदायका छ स्थानीय जातीय समूहका लागि उच्चस्तरको गेस्ट हाउस, रिट्रीट र सांस्कृतिक संरक्षण केन्द्र बन्नेछ।’
उनको फार्म स्टेले आलु, स्याउ, सुन्तला, बदाम, ओखर, नास्पातीलगायतका २० भन्दा बढी प्रकारका फलफूलको रोपण सुरू गरिसकेको छ। विदेशी पर्यटकलाई नेपालको प्राकृतिक सुन्दरता, परम्परागत मूल्यमान्यता, स्थानीय खानपानसँग साक्षात्कार गराउने सोचका साथ उनी अघि बढिरहेका छन्।
यस कार्यले समग्र देशकै अर्थतन्त्रमा सहयोग पुग्ने आशा राखेको उनको भनाइ छ। उनी आफ्नो कामलाई मुलुकभर सन्देश प्रवाह गरेर सारा नेपालीलाई कृषि, पर्यटन व्यवसायको माध्यमबाट आत्मनिर्भर बनाउने योजनामा छन्। व्यवसायिक सोच लिएर मुलुकमा हजारौंले आर्थिक सवलीकरणको बाटो समात्न सक्ने उनी बताउँछन्।
अरुलाई संझाउन, बुझाउनका लागि पहिले आफूले गरेर देखाउनुपर्ने उनी बताउँछन्। स्थानीय र अन्तर्राष्ट्रिय आगन्तुकलाई आफ्नो ठाउँमा ल्याउने र उनीहरूलाई अर्गानिक खानाको स्वाद चखाउने, सुविधाजक बस्ने वातावरणको सिर्जना गर्ने उनको मुख्य लक्ष्य छ।