काठमाडौं । जलविद्युत लगानीकर्ताहरुको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) ले विद्युत व्यापार गर्न स्थापना गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) मा दुई वाणिज्य बैंकहरु संस्थापक लगानीकर्ता बनेका छन् ।
हिमालयन बैंक र एनएमबी बैंकले नेपेक्समा सेयर लगानी गरेका हुन् । दुबैं बैंकले नेपेक्सको १०/१० प्रतिशत सेयर किनेका छन् । हिमालयन र एनएमबीले २०/२० करोड रुपैयाँका दरले सेयर लगानी गर्ने नेपेक्सका सञ्चालक तथा इप्पानका कार्यकारी सदस्य उत्तमब्लोन लामाले बताए ।
पहिलो चरणमा बैंकहरुले २/२ करोड रुपैयाँ सेयर लगानी गरेका छन् । बाँकी रकम पछि थप्ने प्रतिवद्धता बैंकहरुले जनाएका छन् । कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ छ । सो पुँजीको १० प्रतिशत अर्थात २० करोड रुपैयाँ स्वपुँजी (इक्विटी) जम्मा भइसकेको छ ।
नेपाल पावरले भारतको मनिकारन पावर लिमिटेडसँग विद्युत व्यापारको सम्झौता गरेको छ । जसअनुसार मनिकारनले नेपालमा बढी भएको ५०० मेगावाट बिजुली किन्ने सम्झौतामा उल्लेख छ । यसका साथै नेपाल पावरमा मनिकारनको १५ प्रतिशत सेयर लगानी हुने भएको छ ।
इप्पानमा आवद्ध जलविद्युत, बिमा र बैंक र विदेशी गरी विभिन्न ८४ कम्पनीहरुको लगानी रहेको नेपेक्सले जनाएको छ । यस्तै हिमालयन जनरल इन्स्योरेस कम्पनी लिमिटेड पनि नेपेक्सको संस्थापक सेयरधनी बनेको छ । उसले पहिलो चरणमा १ करोड रुपैयाँ लगानी गरेको छ । बाँकी रकम पछि लगानी गर्ने भएको हो ।
यस्तै बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले पनि १० प्रतिशत इक्टिी लगानी गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताएका छन् ।
नेपेक्समा बंगलादेशको ऊर्जा कम्पनीले १५ प्रतिशतसम्म इक्विटी लगानीको प्रतिवद्धता जनाएको सञ्चालक लामाले बताए । बाँकी नेपालमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर लगानी जुटाउने योजना नेपेक्सको छ ।
नेपेक्सको प्रथम वार्षिक साधारणसभाले सञ्चालकको चयन गरेको छ । कम्पनीको अध्यक्ष चयन गर्न बाँकी छ ।