काठमाडौं। भन्सार राजस्वमा सरकारले गम्भीर धक्का व्यहोरेपछि भन्सारका अधिकारीले वैधानिक बाटोबाट आउने सामानको अनावश्यक खोजी नीति सुरू गरेका छन्।
भन्सारका अधिकारीले यसअघिसम्म प्रतितपत्र (एलसी) बाहेक अन्य तरिकाबाट झिकाइएका सामानको मात्रै खोजीनीति गर थिए। तर अहिले पहिलो पटक एलसीबाट मगाइएका सामानको मूल्यलाई विश्वास नगरेर सन्दर्भ मूल्य पुस्तिका पल्टाएर हेर्न थालेका छन्।
भन्सार विभागले देशभरका भन्सार कार्यालयलाई परिपत्र गर्दै हरेक सामानको मूल्य सन्दर्भ मूल्य पुस्तिकासँग जाँचेर मात्रै छुटाउन निर्देशन दिएको छ। भन्सार राजस्व बढाउन सरकारले सन्दर्भ मूल्य पुस्तिकालाई सारेको हो।
स्रोतका अनुसार कतिपय वस्तुको मूल्य अन्तर्राष्ट्रिय बजारमा सस्तो छ। तर, त्यही वस्तुको भन्सारले तयार गरेको सन्दर्भ मूल्य पुस्तिकामा बढी भएको हुँदा भन्सारमा ठूलो लफडा चलिरहेको छ। राजस्वमा दबाब परेपछि हरेक सामान सन्दर्भ मूल्य पुस्तिकाअनुसार भए/नभएको हेर्न थालिएको छ।
भन्सार विभागका महानिर्देशक कमल भट्टराईले हरेक वस्तुको मूल्य र सन्दर्भ मूल्य मिले वा नमिलेको हेरेपछि मात्र सामान छाड्न भन्सारका अधिकारीहरूलाई निर्देशन दिएको बताए। एकातिर वैधानिक बाटोबाट आउने सामानमाथि सरकारले शंकाको दृष्टिकोणबाट हेर्ने र अर्कोतिर चोरीमार्फत निष्फिक्री भइरहेको आयातलाई रोक्न कुनै प्रयास गरेको छैन।
मुख्य भन्सार नाका तथा सहायक नाकाबाट ठूलो परिमाणमा चोरी पैठारी भएर सामान भित्रिरहेका छन्। त्यसरी भित्रिने सामानको रोकथाममा भन्सार, राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले कुनै प्रयास गरेका छैनन्।
वैधानिक तवरबाट भित्रिएका सामान कुन मूल्यमा आएको छ? सन्दर्भ मूल्यअनुसार छ की छैन भनेर हरेक सामानको चेकजाँच गरिरहेको छ। वास्तविक मूल्यमा सामान ल्याउँदा सन्दर्भ मूल्य पुस्तिकाअनुसार मिलेन भने जरीवाना लाग्छ।
‘यो भनेको सरासर हुन्डीमार्फत पैसा पठाउन भनेको हो,’ एक व्यापारीले क्यापिटल नेपालसँग भने, ‘अन्तर्राष्ट्रिय मूल्यलाई मान्दिन भन्नु भनेको हुन्डीमार्फत पैसा भुक्तानी गर्न प्रेरित गराएको हो।’
मानौ कुनै सामानको मूल्य प्रतिकेजी २५ डलर २० सेन्टमा भन्सारमा आइपुगेको छ। तर, उक्त सामानको सन्दर्भ मूल्य २७ डलर छ भने अब आयातकर्ताले २७ डलरमै एलसी खोल्ने बैंकबाट २७ डलरका हिसावले बैधानिक रुपमा पैसा विदेश पठाउनुपर्छ। अहिले सरकारले त्यही प्रावधानलाई प्रोत्साहन गरिरहेको उनीहरूको भनाइ छ।
आयात कडाईले बढ्यो तस्करी
मसला, चकलेट, मदिरा, लत्ताकपडालगायत ४७ थरी सामान आयातमा सरकारले कडाइ गरे पनि ती सामान अवैध बाटो हुँदै नेपाल भित्रिन रोकिएको छैन। आयातमा कडाइ गरिएका धेरैजसो सामान अवैध प्रक्रियाबाट नेपाल भित्रिइरहेको भन्सार स्रोतको दाबी छ।
एलसी नखोली आयात गर्न नपाइने ४७ वटा वस्तुमध्ये मसलाका आइटम, चकलेट, मदिरा, लत्ताकपडा, जुत्ता–चप्पल, अटोमोबाइल्स, विभिन्न खाद्यान्न, तयारी पोसाक, माछा, दूधजन्य उत्पादन, कृत्रिम र बिरुवा, केरा, सुपारी, साबुन, सर्फ, रङ, हेल्मेट, छाता, नक्कली गहना, फर्निचरलगायत छन्।
२०७८ मंसिर २६ देखि लागू हुने गरी सरकारले ४७ वटा वस्तु आयात गर्दा अनिवार्य एलसी खोल्नुपर्ने भन्दै आयातमा कडाइ गरेको हो। उक्त नियम लागू गरिएपछि भन्सार हुँदै वैध तरिकाबाट ती सामानको आयात घट्दै जान थालेपछि राजस्व पनि घट्दै गएको छ। वैध रुपमा आयात घटे पनि बजारमा ती सामानको अभाव छैन।
४७ वटा वस्तुको आयातमा अनिवार्य रुपमा एलसी खोल्नुपर्ने नियम लागू गरिएपछि ती सामान भन्सार हुँदै हुने आयातमा कमी आउन थालेको भन्सारकै अधिकारीहरु बताउँछन्। एकातिर एलसीमार्फत मात्रै सामान मगाउने व्यवस्था गर्ने र एलसीमार्फत भित्रिएका सामानमा अनेकथरी प्रश्न गरे पछि व्यापारीले गैरकानुनी बाटो रोजिरहेका छन्।