काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएदेखि देखिएको तरलता (लगानीयोग्य रकम) अभावको चाप अझै गहिरिएपछि बल्ल अर्थ मन्त्रालयले चासो लिएको छ । खासगरी, साउन अन्तिममा मौद्रिक नीतिले पुँजी, कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो ) हटाएर कर्जा निक्षेप अनुपात (सीडी) ९० प्रतिशत हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै तरलता अभावको समस्या झन-झन गहिरिँदै आएको छ ।
बैंकहरुमा आर्थिक वर्षको सुरुवाती दिनहरुमा उच्च कर्जा लगानी भएको र त्यो रफ्तार कायमै रहेका बेला सीडी कार्यान्वयनले कर्जा लगानीमा अबरोध मात्रै गरेन्, ब्याजदर वृद्धिलाई समेत टेवा पुग्याे।
पछिल्ला दुई महिना कर्जा लगानी मात्रै रोकिएन, निक्षेप पनि आशातित रुपमा बढ्न सकेन । जसको असर तरलतामा चाप पर्यो । निरन्तर तरलताको चाप पर्दै गएपछि शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक र २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई छलफलका लागि भन्दै अर्थ मन्त्रालय बोलाएका छन् ।
पछिल्लो समय केन्द्रीय बैंकले लिएको नीतिका कारण बजारमा लगानीयोग्य रकमको चरम अभाव हुँदै गएको छ । बैंकहरु लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । यसले अर्थतन्त्रमै गम्भीर असर पुग्न थालेपछि अर्थमन्त्री शर्माले विशेष चासो दिँदै गभर्नर महाप्रसाद अधिकारी र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएका हुन् ।
लगानीयोग्य रकम चरम अभाव भएपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा समेत परेको छ । बजारमा लगानीयोग्य रकमको अभाव हुने बित्तिकै बैंकहरुलाई ब्याज बढाउन पनि सजिलो हुन्छ । केन्द्रीय बैंकले केही दिनमै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पनि गर्दै छ ।
सेयर लगानीकर्ताले सेयर धितो कर्जाको ४ र १२ करोड रुपैयाँको सीमालाई खारेज गराउन अर्थमन्त्री शर्मासामू लगानीकर्ता पुगेका थिए । अर्थमन्त्री शर्माले बजारलाई अहित हुने कुनै पनि निर्णय केन्द्रीय बैंकबाट नआउने भन्दै लगानीकर्तालाई आश्वास्त पार्न खोजेका छन् । मौद्रिक नीतिको समीक्षा आउनुपूर्व अर्थमन्त्रीले सरोकारवालाई छलफलका लागि बोलाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र राष्ट्र बैंकलाई अहिले देखिएको समस्यामाथि छलफल र त्यसको समाधानका उपाय निकाल्न बोलाइएको हो । ‘अहिले बजारमा जे जति समस्या उत्पन्न भएका छन्, ती विषयहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ,’ स्रोतले भन्यो, ।