सोमबार, जेठ ३१ २०७८ १०:४८ AM

×

अस्वस्थ प्रतिस्पर्धाको भुमरीमा निर्जीवन बिमा व्यवसाय, बढ्दै जोखिम

images

बिमा कम्पनीहरूबीचको तीव्र प्रतिस्पर्धाले व्यवसाय आफूतिर तान्न अनेकन हत्कण्डा अपनाउन थालिएको छ । प्रतिस्पर्धा आफैंमा राम्रो भए पनि जायज/नाजायज माग पूरा गरिदिएर बिमालेख आफ्नो कम्पनीमा जारी गराउन पछिल्लो समय कम्पनीहरू मरिमेटर लागेका छन् । खासगरी ठूला कर्पोरेट घरानाका हुन् वा बैंक तथा वित्तीय संस्थासँग मिलोमतो गरेर होस बिमा कम्पनीहरू आफ्नो व्यापार बढेको देखाउन हरदम क्रियाशील देखिएका छन् । 

बिमालेख बिक्रीबाट कम्पनीलाई फाइदा वा घाटा के हुन्छ त्यसको लेखाजोखा नगरिकनै उधारोमा बिमालेख जारी गर्ने, बिभिन्न किसिमका सहुलियतहरू उपलब्ध गराउने र कमिसन फिर्ता दिनेजस्ता हत्कण्डा अपनाएर बिमा कम्पनीहरूले व्यवसाय हात पार्ने रणनीति अंगालिरहेका छन् । त्यसका लागि सम्बन्धी घरानाका वा बैंक तथा वित्तीय संस्थाका कुन कर्मचारीलाई के सुविधा दिएर आफूतिर व्यवसाय ल्याउन सकिन्छ त्यसको लेखाजोखा गर्नमै निर्जीवन बिमा कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू लागिरहेका छन् ।

उनीहरूले आवश्यकताअनुसार कतिपय क्षेत्रमा बिमा अभिकर्ता र मार्केटिङ प्रमुखलाई समेत अख्तियारी दिएर व्यवसाय बढाउन लक्ष्य (टार्गेट) दिने गरेकाले उनीहरूले पनि आफ्नो टार्गेट पूरा गर्न हुने/नहुने सबै काम गरेर व्यवसाय बढाउन उद्यत भइरहेका छन् । 

पछिल्लो समय निर्जीवन बिमा कम्पनीहरूका एजेन्टहरू घर, कार्यालय र कम्पनीमा बिमा गराउन भन्दै पुग्ने गरेका मात्रै छैनन्, उनीहरूले अहिले बिमा गरिरहेको कम्पनीको भन्दा राम्रो सेवा सुविधा दिने आश्वासन पनि बाँडिरहेका छन् । उपभोक्ताका हिसावले जुन राम्रो कुरा पनि हो । तर, भविष्यमा जोखिम बहन गर्ने क्षमता र कम्पनीले व्यवसाय लिइसकेपछि गर्ने व्यवहार ननियाल्ने हो भने उपभोक्ताले दुःख मात्रै पाउँदैनन्, कतिपय बेला ठूलो क्षति पनि बेहोर्नुपर्छ ।

तीनवटा नयाँ निर्जीवन बिमा कम्पनीले बजार प्रवेश गरेसँगै पुराना कम्पनीलेसमेत आफ्नो व्यवसायमा धावा बोलेको महसुस गरिरहेका छन् । हाल २० वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । आफूकहाँ बिमा नगरेको भए पनि बिमा कम्पनीहरूले कस्को बिमा कहाँ गरेको छ ? उनीहरूको सकिने अवधि, पाइरहेको विभिन्न सेवा सुविधाजस्ता कुराको जानकारी लिएर आफूकहाँ व्यवसाय ल्याउन निकै प्रयासहरू गरेको पाइन्छ ।

प्रतिस्पर्धा आफैंमा राम्रो भए पनि जायज/नाजायज माग पूरा गरिदिएर बिमालेख आफ्नो कम्पनीमा जारी गराउन पछिल्लो समय कम्पनीहरू मरिमेटर लागेका छन् । खासगरी ठूला कर्पोरेट घरानाका हुन् वा बैंक तथा वित्तीय संस्थासँग मिलोमतो गरेर होस बिमा कम्पनीहरू आफ्नो व्यापार बढेको देखाउन हरदम क्रियाशील देखिएका छन् । 

बिमा व्यवसाय विश्वासको एउटा आधार पनि हो । बिमा गरिसकेपछि कथंकदाति दुघर्टना भयो र दाबी भुक्तानी लिनुपर्यो भने कहाँ सजिलो हुन्छ भनेर सबैले हेरेकै हुन्छन् । चिनेजानेका व्यक्ति बिमा कम्पनीमा भएमा केही सजिलो गरी दाबी भुक्तानी पाइन्छ भन्ने बुझाइ धेरैको छ । पछिल्लो पटक ठूला कम्पनीहरूले उधारोमा समेत बिमा गर्ने सुविधा लिँदा कम्पनीहरू थप जोखिममा धकेलिएका छन् ।

विश्वासमा परेर ठूलाबडा र हुनेखाने पक्षहरूको बिमा नगद नलिइ पछि लिने सर्तमा बिमा गरिदिने र त्यस्तो बिमाको क्षति भएमा बिमाशुल्क भुक्तानी गर्ने नभए नगर्ने प्रवृत्ति पनि उत्तिकै छ । यसले बिमा बजारलाई नराम्रोसँग गाँजेको छ । 

होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष एवम् एयरपोर्ट होटलका सञ्चालक विनायक शाह बिमा कम्पनीहरू धेरै भएकाले आफ्नोमा बिमा गरिदिन भनेर धेरै एजेण्टहरू आउने गरेको बताउँछन् । बिमा गराउँदा धेरै चिनेजानेको आधारमा कम्पनी छनौट गर्ने गरिएको शाहको भनाइ छ । 

निर्जीवन बिमामा मानिसहरूले स्वेच्छिक रूपमा बिमा गर्ने प्रचलन अत्यन्तै कम छ । अझ दाबी भुक्तानीमा बिमा कम्पनीहरूले गर्ने ढिलासुस्ती र क्षतिअनुरूपको भुक्तानीमा विभिन्न बखेडाहरू झेलेका कतिपय मानिसहरू बिमाका विषयमा सकारात्मकभन्दा नकारात्मक धारणा फैलाउन उद्यत भएको पाइन्छ । यस्तो बेला बिमा कम्पनीहरूलाई बिमा व्यवसाय बढाउन कम्ती कठिन छैन ।

कतिपय क्षेत्रमा सरकारले अनिवार्य बिमा गराएकाले बिमा कम्पनीहरूले राहतको महसुस गरेका भने छन् । अहिले पनि निर्देशित बिमाकै कारण निर्जीवन बिमा व्यवसाय चलिरहेको छभन्दा अत्युक्ति हुँदैन । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा अनिवार्य बिमा गराउनुपर्छ । सवारीसाधनको कर तिर्दा अनिवार्य रूपमा तेस्रो पक्ष बिमा गराउनुपर्छ । अर्कोतिर बाली बिमाका अवधारणाहरू विस्तारै फक्रिँदै गएका छन् । यसले केही क्षेत्र बिमाका लागि उर्वरसमेत बनिरहेको छ । तर, स्वविवेकले मानिसहरू बिमा गराउँ भन्ने भावना भने अझै पाइँदैन ।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील बल्लभ पन्त निर्जीवन बिमा कम्पनीहरूमा व्यवसाय खोसाखोस साधारण प्रक्रिया भएको बताउँछन् । ‘व्यावसायिक तानातानभन्दा पनि बिजनेस लिने क्रममा के गरिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ पन्तले भने, ‘सेवा दिएर व्यवसाय तानेको छ कि अन्य प्रलोभन देखाएर खोसिएको छ भन्ने हेर्नुपर्छ । व्यवसाय खोसिने कम्पनीले खोसेर लैजानेको भन्दा स्तरीय सेवा दिनसके भविष्यमा फेरि राम्रो हुन्छ ।’ 

पछिल्लो समय बिमा कम्पनीहरू बिमा नयाँ क्षेत्रहरूको खोजी गर्नेभन्दा पनि भइरहेकै क्षेत्रबाट आफ्नो कम्पनीमा कसरी व्यवसाय ल्याउने भन्नेमा धेरै बिमा कम्पनीको ध्यान गएको छ । यसले सीमित क्षेत्रमा बिमा कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धाको अवस्था सिर्जना गरेको छ र यसैलाई पुराना कम्पनीहरूले व्यवसाय खोसाखोसको अवस्था रहेको भनेर व्याख्यासमेत गर्ने गरेका छन् ।

निर्जीवन बिमामा मानिसहरूले स्वेच्छिक रूपमा बिमा गर्ने प्रचलन अत्यन्तै कम छ । अझ दाबी भुक्तानीमा बिमा कम्पनीहरूले गर्ने ढिलासुस्ती र क्षतिअनुरूपको भुक्तानीमा विभिन्न बखेडाहरू झेलेका कतिपय मानिसहरू बिमाका विषयमा सकारात्मकभन्दा नकारात्मक धारणा फैलाउन उद्यत भएको पाइन्छ । यस्तो बेला बिमा कम्पनीहरूलाई बिमा व्यवसाय बढाउन कम्ती कठिन छैन ।

निर्जीवन बिमा गर्दा लिने बिमाशुल्कका बारेमा नियामक बिमा समितिले विभिन्न मापदण्डहरू निर्धारण गरिदिएको पनि छ । तर, बिमा कम्पनीहरूले कागजमा समितिका मापदण्डहरू पालना गर्ने र अन्य वैकल्पिक उपाय प्रयोग गरी व्यवसाय आफ्नो पक्षमा तान्न बिमा कम्पनी सक्रिय भइरहेका छन् । 

बिमा कम्पनीहरूको पुँजी वृद्धि भएसँगै कम्पनीका सञ्चालकहरूले व्यवस्थापनलाई पहिलेको भन्दा प्रतिफल नघटाउने गरी काम गर्न दबाब दिइरहेका छन् । सञ्चालकले लाभांशको अनुपात नघटाउन दबाब दिँदै गर्दा टार्गेटअनुसार व्यवसाय बढाउने क्रममा बजारमा कतिपय बेला जायज/नाजायज भएको हुनसक्ने आशंका बिमा कम्पनीका सीईओहरूको छ । 

अजोड इन्स्योरेन्स कम्पनीका सीईओ कुमारबहादुर खत्रीले तीव्र प्रतिस्पर्धाले माहोल बिग्रँदै जाँदा यदाकदा व्यवसाय खोसाखोसको अवस्थामा पुगेको टिप्पणीहरू सुन्नमा आएको बताउँछन् । ‘प्रतिस्पर्धी बजारमा एउटा कम्पनीमा गरिरहेको बिमा अर्कोमा जाने बित्तिकै ठूलै चलखेल गरेर लगेको हुनसक्छ भनेर आशंका गर्नु स्वाभाविक हो,’ सीईओ खत्रीले भने, ‘नेपालमा अनिवार्य रूपमा निर्देशन गरिएका बिमालेख (पोलिसी) बाहेक अन्य पोलिसी खासै धेरै बिक्दैनन् । यसले गर्दा बिमा कम्पनीहरूबीच बजार खोसाखोसको अवस्थामा पुगेको छ ।’

उता, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भने कतिपय कम्पनीहरूले आफ्नो सीमाभन्दा बढी बिमाशुल्क (प्रिमियम) लिन खोजेपछि अर्कोमा सर्ने गरिएको बताउँछन् । ‘बिमा कम्पनीको टार्गेट नपुगेसम्म प्रिमियम तोकिएको भन्दा कम लिने गर्छन् र धेरै व्यवसायीहरू त्यही कम्पनीमा रहन्छन्, अध्यक्ष सिंहले भने ‘तर, कम्पनीको टार्गेट पूरा भएपछि यो वा त्यो बहानामा प्रिमियम बढाउन थालेपछि अर्को कम्पनीमा स्विफ्ट गर्ने गर्छन् ।’ 

सामान्यतया परियोजनाहरूमा बिमा गराउँदा भने बोलकबोल गर्नुपर्ने हुन्छ । यस्तो बेला जसले बढी सुविधा दिन्छ, त्यो कम्पनीले पाउनु अन्यथा होइन । तर, त्यहाँ पनि परियोजना प्रमुखको मिलोमतोमा काम हुने गरेको भुक्तभोगीहरूको अनुभव छ । त्यस्तै अवस्था छ, निजी परियोजनाहरूमा पनि । परियोजनाका मुख्य व्यवस्थापकहरूले आफूलाई फाइदा हुने गरी निर्णय गर्ने हुँदा बिमा कम्पनीहरूले ठूलो मूल्य तिरेर भए पनि बिमालेख बिक्री गर्ने गर्छ ।

एउटा परियोजनाको बिमालेख घाटा बेहोरेरै लिन सके त्यसैलाई भजाएर अन्य आयोजनाहरू हात पार्न सहज हुने बिमा कम्पनीहरूको दाबी छ । त्यही भएर बिमा कम्पनीहरूले नाम चलेका ठूला परियोजना, एअरलाइन्स, यातायात क्षेत्रका कम्पनीहरूलाई आफ्नो पक्षमा पार्न ठूलै कसरत गर्छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले ऋण लगानी गर्नुअघि सबै ऋणको बिमा अनिवार्य गरेको छ । यसका लागि साधारणतया बैंकहरूले नै बिमा कम्पनी छनौट गरेर राखेको हुन्छ । सामान्यतया ऋणीहरूले आफूले मन लागेको कम्पनीमा बिमा गर्छु भन्न पाइँदैन । व्यवस्थापकीय हैसियतमा रहेकाहरूको मिलोमतोमा यस्तो सम्भव भएको हो ।

सामान्यतया परियोजनाहरूमा बिमा गराउँदा भने बोलकबोल गर्नुपर्ने हुन्छ । यस्तो बेला जसले बढी सुविधा दिन्छ, त्यो कम्पनीले पाउनु अन्यथा होइन । तर, त्यहाँ पनि परियोजना प्रमुखको मिलोमतोमा काम हुने गरेको भुक्तभोगीहरूको अनुभव छ । त्यस्तै अवस्था छ, निजी परियोजनाहरूमा पनि । परियोजनाका मुख्य व्यवस्थापकहरूले आफूलाई फाइदा हुने गरी निर्णय गर्ने हुँदा बिमा कम्पनीहरूले ठूलो मूल्य तिरेर भए पनि बिमालेख बिक्री गर्ने गर्छ ।

ऋणीहरूलाई बिमाको चक्करमा परेर बस्नुभन्दा बैंक तथा वित्तीय संस्थाले जे भन्छ, त्यही मानिदिने प्रवृत्ति छ । त्यति मात्रै होइन वित्तीय संस्थाहरूले आफ्नो ऋणको हिस्सा बराबर मात्रै बिमा गर्ने गर्छ । यसले सम्बन्धित ऋणी सम्पूर्ण सम्पत्तिको बिमाबाट बेखबर हुन्छ । भवितव्य कुनै दुर्घटना भएमा बिमा कम्पनीले बैंकले अघि सारेको बिमा कागजलाई देखाएर क्षति दिने÷नदिने निर्णय गर्छ । यस्तो समस्याबाट धेरै ऋणीहरू जुनसुकै बेला जोखिममा पर्न सक्ने डर छ ।

उता, बिमा कम्पनीहरूले आफ्नो पक्षमा व्यवसाय हात पार्न प्रिमियमनै छुट दिने गरेको व्यवसायीहरू बताउँछन् । अर्कोतिर आफंैले पाएको व्यवसायलाई पनि अर्को अमुक अभिकर्ता खडा गरेर बिमित कम्पनीलाई अभिकर्ता कमिसन उपलब्ध गराउने प्रवृत्ति पनि अधिक छ । बिमा कम्पनीका सीमित कर्मचारी तथा सम्बन्धित बिमितहरूको मिलोमतोमा ठूलो रकमको वैधानिक कारोबार बिमा कम्पनीको विपक्षमा भइरहेको हुन्छ । यसले एकातिर कम्पनीको व्यवसाय देखाउन पाइन्छ भने अर्कोतिर व्यक्तिगत फाइदा पनि हुन्छ ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने निर्जीवन बिमा बिजनेस एकबाट अर्कोमा सर्नुलाई सामान्य मान्छन् । प्रतिस्पर्धी बजारमा एकको बिजनेस अर्कोले लिनु आश्चर्यको विषय होइन’ पौडेलले भने, ‘तर, कुनै खराब नियत राखिएको छ भने कारबाही योग्य हुन्छ ।’ खराब नियत भनेको के हो भन्ने आफैंमा बहसको विषय हो । यद्यपि बिमा कम्पनीहरूले गलत अभ्यास गरेको भन्दै बेलाबखत बिमा समितिमा उजुरीहरू पर्ने गरेका पनि छन् । त्यसलाई समितिले विभिन्न निर्देशन र परिपत्रमार्फत सच्याउने कोसिस पनि गरेको हुन्छ । 

कम्पनीहरूलाई नाफा कमाउन निकै कठिन छ । अर्कोतर्फ नाफा घट्ला बढ्ला तर, व्यवसाय बढ्यो भनेर व्यवस्थापनले सञ्चालक समितिलाई आश्वस्त पार्नुपर्ने दायित्व उत्तिकै छ । सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री भने सानो बजारमा प्रतिस्पर्धा स्वाभाविक भए पनि अस्वस्थ प्रतिस्पर्धाले बिमा बजारमै नकारात्मक धारणाहरू विकसित हुन सक्ने औंल्याउँछन् ।

‘खासगरी नयाँ कम्पनीहरू बजारमा आएसँगै प्रतिस्पर्धा बढेको र बिजनेस तान्न होडबाजी देखिएको छ,’ क्षेत्रीले भने, ‘ग्राहकलाई क्षणिक फाइदा भए पनि दाबी भुक्तानीमा समस्या आउनसक्छ । यसले बजारमा नकारात्मक असर पर्ने भएकाले स्वस्थ्य प्रतिस्पर्धाको बाटो लाग्नु सबैका लागि हितकर हुन्छ ।’

हेली एभरेष्टका प्रवन्ध निर्देशक फुरग्याल्जे शेर्पाले बिमा कम्पनीले दिने सेवा सुविधाको आधारमा बेला–बेलामा परिवर्तन गर्ने गरिएको बताए । ‘एभियसन क्षेत्रमा बढीनै जोखिम हुने भएकाले जोखिम मोल्न सक्ने कम्पनीको योग्यता र क्षमतालाई हेरेर बिमा गर्ने गरिन्छ,’ शेर्पाले भने, ‘कुनै बेला भने बिमा कम्पनीहरूले बेचिरहेको बिमालेखमा बिमाशुल्क बढाउँदा बिमा कम्पनी परिवर्तन गर्नुपर्ने बाध्यता आइलाग्छ ।’

अस्वस्थ प्रतिस्पर्धाले बिमा कम्पनीहरूले सस्तो बिमाशुल्कमा बिमा गरिदिँदा जोखिमको हस्तान्तरण पनि कमजोर पुनर्बिमा कम्पनीमा गर्नुपर्ने हुन्छ । कमजोर पुनर्बिमा कम्पनी यसले जोखिम थेग्ने क्षमता पनि कम राख्छ । बिमाशुल्क कटौतीबाट पर्न सक्ने जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय स्तरका मान्यतालाई आधार मानेर आवश्यक निर्देशिका तयार गर्नु आवश्यक छ ।

कम्पनीहरू मर्यादित भएर बस्न नसक्नु अहिलेका लागि सबैभन्दा ठूलो चुनौती देखेका पन्त पुनर्बिमा कम्पनीहरूले नेपालको बिमा उद्योगलाई पत्याउन सक्ने आधार तयार गर्नुपर्नेमा जोड दिन्छन् । ‘पुनर्बिमा कम्पनीहरूले पत्याएनन् भने निर्जीवन बिमा व्यवसायलाई निरन्तरता दिन सकिँदैन,’ पन्तले भने ।

                                                                                                                                                                        क्यापिटल बिजनेस म्यागजिनबाट 
 

शुक्रबार​ २८ जेठ २०७८ ०७:४४ AM मा प्रकाशित

प्रतिक्रिया