सोमबार, माघ ३ २०७८ १०:२२ AM

×

सुन्दर अटोले वैशाखदेखि दुईपांग्रे उत्पादन थाल्ने, ६ अर्ब ४० करोड लगानी 

images

काठमाडौं । राजधानीमा सर्वसाधारणका लागि विद्युतीय बस सञ्चालन गर्दै आएको सुन्दर यातायातले लगानी विस्तार गरेर यातायात उद्योगमा फड्को मारेको छ । नेपाली, यूएई र चिनियाँ साझेदारीमा स्थापना भएको सुन्दर अटो इन्जिनियरिङ कम्पनीले आउँदो वैशाखदेखि नेपालमै दुई पांग्रे विद्युतीय गाडीको उत्पादन थाल्ने भएको हो । 

कम्पनीले विद्युतीय सवारी उत्पादन गर्न लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सैनामैनामा एसेम्बल प्लान्ट स्थापना भइरहेकाे छ । तर बैसाखका लागि भने कम्पनीले धुम्बराहीस्थित सुन्दर अटाे इन्जिनियरिङकै जग्गाभित्र रहेकाे चार्जिङ स्टेसनबाट १५ ओटा दुई पाङ्ग्रे सवारी उत्पादन गर्नेछ । धुम्बराहीमा सुन्दर अटाेकाे ६ राेपनी जग्गा छ जसमध्ये २ राेपनी जग्गालाई बारेर सुन्दरले प्रारम्भिक एसेम्बलकाे काम गर्नेछ । प्लान्ट निर्माणको काम ९९ प्रतिशत सम्पन्न भइसकेको र केही भित्री पूर्वाधार मात्रै सक्न बाँकी रहेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले क्यापिटल नेपाललाई जानकारी दिए । 

‘उद्योग भवन तथा अन्य संरचना स्थापनाको काम ९९ प्रतिशत सम्पन्न भइसकेको छ । आन्तरिक सामान जडानको काम मात्र अब बाँकी छ’ थापाले भने, ‘अब छोटो समयमै सबै सम्पन्न हुन्छ । केही अवरोध उत्पन्न नभएमा २०७९ वैशाखबाट विद्युतीय मोटरसाइकल उत्पादन सुरु गर्नेछौं ।’ 

सुन्दर अटोले चिनियाँ एवम् भारतीय दुवै कम्पनीका टु ह्विलर्स सवारीसाधन उत्पादन गर्नेछ । विद्युतीय बस तथा ठूला सवारीको एसेम्बल उद्योग स्थापनाको काम भने हालसम्म ७० प्रतिशत बाँकी रहेको उनले सुनाए । उक्त प्लान्टकाे भने निर्माण कार्य पूरा गरी एसेम्बल सुरू गर्न अझै डेढ, दुई वर्ष लाग्ने उनी बताउँछन्र । 

ठूला बस उत्पादन गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र नक्साको काम सकिसकेको र चाहिने सामाग्री आयात भइरहेको उनको भनाइ छ ।

उक्त प्लान्टमा कम्पनीले बीएके, युरोबस, जर्मन टेक्नोलोजी तथा चिनियाँ कम्पनीका गाडीहरु एसेम्बल गर्नेछ । यी सबै युरोपेली प्रविधि आधारित गाडीहरु हुन् । उद्योग स्थापना गर्न नगरपालिकाले १० बिघा जग्गा उपलब्ध गराइसकेको छ ।

कम्पनीले ६ अर्ब ४० करोड रुपैयाँको लगानीमा चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी निर्माण गर्न लागेको हो । विद्युतीय सवारी एसेम्बलको यो भेन्चरमा सुन्दर यातायात र यूएईको एसईसी कम्पनीको ५१ प्रतिशत र चिनियाँ कम्पनी सिचुवान गोहान अटोमोबाइल्सको ४९ प्रतिशत स्वामित्व हुने गरी संरचना तयार पारिएको छ । 

देशभित्र दुई पांग्रे सवारीको बजार राम्रो रहेका कारण चार पांग्रेकै पूर्वाधारमा दुई पांग्रेको पूर्वाधार पनि थप गरेर सञ्चालनमा ल्याउन लागेको सञ्चालक थापा बताउँछन् । हालका लागि दुई पांग्रेलाई सञ्चालनमा ल्याई आगामी दिनमा चार पांग्रेलाई पनि अघि बढाउने कम्पनीको योजना रहेको उनले सुनाए । 

सुन्दर यातायातले दुई वर्ष अघिदेखि नै एसेम्बल उद्योग स्थापनाको काम थालनी गरेको हो । तर, कोभिड महामारीका कारण निर्धारित समयभन्दा काम ढिलो भएको थापाको भनाइ छ । 

‘उद्योग कलकारखाना निर्माणमा सरकारको स्पष्ट नीति नै छैन । सरकारले विद्युतीय सवारी भनेको के हो भन्ने कुरा नै बुझेको छैन । सरकारबाट सहयोग पाएका थियौं भने हामी १ वर्षभित्रै काम सम्पन्न गरिसक्थ्यौं’ उनले भने ।

एसेम्बल उद्योग स्थापनापछि सवारी एसेम्बलका लागि कच्चा पदार्थ तथा पाटपुर्जा आयातको करमा सहजीकरण गरिदिनुपर्ने उनको माग छ । प्लान्टबाट पहिलो वर्ष ३ सय सवारी उत्पादन गर्ने योजना छ ।

अवस्था सहज हुँदै गएमा पार्टपुर्जा आयात गरी वार्षिक १ हजार गाडी उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।  प्रत्येक वर्ष १ हजार गाडी उत्पादन गर्दा ९ अर्ब रुपैयाँसम्म लागत लाग्ने थापा बताउँछन् । 

मङ्गलबार २७ पुस २०७८ ०१:५७ PM मा प्रकाशित

प्रतिक्रिया