काठमाडौं । ऊर्जा उत्पादनको प्रमुख स्रोतका रूपमा रहेको कोइलाको चरम अभाव हुन थालेपछि त्यसको प्रत्यक्ष असर उत्पादनमा परेको छ । कोरोना महामारीले कोइला उत्पादन शून्यमा झरेपछि कोइलाको मूल्य तीन गुणासम्म बढिसकेको छ ।
कोइलाको उत्पादनमा कमी आएपछि विश्व अर्थतन्त्र नै धर्मराउने अवस्था आएको छ । विश्व बजारमा कोइलाको अभाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । नेपालका कोइलाबाट बिजुली निकालिँदैन । तर, सिमेन्ट तथा स्टिल उद्योगको कोइलाको प्रयोग हुन्छ । त्यस्ता वस्तुको उत्पादन बढ्ने देखिएकाे छ ।
छिमेकी मुलुक भारतमा कोइलाको चरम अभाव भएपछि सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपैयाँ बढिसकेको छ । नेपालमा पनि कोइला अभावको असर देखिन सुरु भइसकेको छ ।
उद्योगी राजेशकुमार अग्रवालका अनुसार प्रतिटन ७५ डलरमा पाइने कोइलाको मूल्य अहिले २२५ डलर पुगेको छ । कोइलाको मूल्य तीन गुणा बढ्दा पनि कोइला पाउन नसकिएको सिद्धार्थ ग्रुपका अध्यक्षसमेत रहेका अग्रवालले जानकारी दिए ।
कोइला अभाव हुँदा चीनका उद्योगहरू गम्भीर संकटमा परेका छन् । भारतका कैयौं उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । चीनमा ७० प्रतिशत बिजुली कोइलाबाट निकालिन्छ । भारतमा पनि ठूलो परिमाणमा बिजुली कोइलाबाटै निकालिन्छ ।
तर, अहिले विश्वमै कोइला उत्पादनमा कमी आएपछि उत्पादित सामग्रीका मूल्य आकासिने उद्योगीहरूको अनुमान छ । नेपालमा कोइलाबाट बिजुली निकालिएको छैन । तर, विश्वमा जति उद्योग चलेका छन्, तिनको ऊर्जा भनेको कोइलाबाट निकालिएको बिजुली हो ।
अब बिजुली नै निकाल्न नसकेपछि उद्योग चल्दैन । उद्योग नचल्ने बित्तिकै बजारमा उपभोग्य वस्तुको चरम अभाव हुन्छ र मूल्य पनि बढ्ने उद्योगीहरूको अनुमान छ ।
कोभिड संक्रमण बढेका बेला कोइला उत्पादन ७० प्रतिशत घट्यो भने कोइलाको २५ प्रतिशत हाराहारीमा रह्यो । कोइला उत्पादन गरेर मौज्दातमा राखिन्थ्यो । तर, कोभिडका कारण उत्पादन हुन सकेन । अहिले संसारभरबाट अत्यधिक कोइलाको माग भइरहेको छ, उत्पादन छैन । त्यही भएर मूल्य बढेको उत्पादकहरू बताउँछन् ।
अब सिमेन्ट, स्टिल, गाडी, खाद्यान्नलगायत हरेक वस्तुको मूल्य आकासिन सक्ने देखिन्छ ।