सोमबार, जेठ ३१ २०७८ १२:४१ PM

×

संकटमा फुरेको आइडियाः लकडाउनले रोटी व्यवसाय बन्द, टर्की पालेर सफलता  

images

काठमाडौं । भनिन्छ, जब मानिसलाई संकट पर्छ त्यो बेला एउटा न एउटा आइडिया (सोच) उसले निकाली हाल्छ । त्यो मानिस सफल हुन्छ, जब उ जस्तोसुकै संकटलाई टार्न सक्छ र त्यो किसिमको क्षमता राख्न सक्छ । त्यही किसिमको क्षमता र आँट भएका दुई युवा हुन् सन्जीव सिंह र माधव पन्त ।

गत वर्षको लकडाउन (बन्दाबन्दी) ले आफूहरूको रोटी व्यवसाय बन्द भयो । तर, उनीहरूले हार खाएनन् र तत्कालै नयाँ आइडिया निकाले टर्की पाल्ने । विभिन्न समयमा समाचारमा सुन्दै आएको टर्की व्यवसायलाई व्यवहारमा उतार्ने सोचका साथ सुरु गरेको व्यवसायले अहिले विस्तारै सफलताउन्मुख हुँदा उनीहरू आफंै दंग परेका छन् ।

उनीहरूले लामो समयदेखि ‘निड फुड प्रालि’ (रोटी बनाउने व्यवसाय) सञ्चालन गर्दै आएका थिए । ‘हामीले बनाएका रोटी स्कुल–कलेजका क्यान्टिन, हस्पिटलगायत विभिन्न कार्यालयमा बिक्री हुन्थ्यो । अन्य क्षेत्र बन्द भएपछि हामीले व्यवसाय बन्द गरेका हौं तर, स्थिति सहज भएपछि त्यसलाई पनि निरन्तरता दिने योजना छ’, सञ्चालक मध्येका सिंहले भने । 

घर दुवै जनाको कञ्चनपुर हो । उनीहरूको ५ वर्षदेखि व्यावसायिक रूपमा सहकार्य चलिरहेको छ । पन्त राजनीति गर्छन् भने सिंह बक्सिङ खेलाडी हुन् । 

सामान्य चिनजान भने करिब ११ वर्ष पहिलाबाट थियो उनीहरूको । राजनीति तथा खेलको माध्यमबाट चिनेजानेकै मान्छेले टर्की तथा मासु खरिद गर्दा पनि आफ्नो व्यवसायका लागि बजारको अभाव नहुने सोचेर सुरु गरेको सिंह बताउँछन् । 

उनीहरूले कीर्तिपुरको दूधपोखरीमा ३ रोपनी जग्गा वार्षिक १० प्रतिशतका दरले बढ्ने गरी भाडामा लिएर ‘कीर्तिपुर टर्की फार्म’ सञ्चालन गरेका हुन् । व्यवसाय सुरु गर्दा उनीहरूले प्रतिरोपनी जग्गाको वार्षिक १५ हजार भाडा बुझाएका थिए । 

गाउँमा पालिने लोकल कुखुरासँग टर्कीका केही गुणहरू मिल्ने सञ्जीवको भनाइ छ । चर्न, उड्न, घाँस खाने भएकाले जति फराकिलो खोर तथा बाहिरको खुल्ला ठाउँ त्यति नै राम्रो हुने उनको अनुभव छ । हाल उनीहरूले १ रोपनी जग्गामा बाँसबाट टर्कीका लागि खोर बनाएका छन् भने २ रोपनी जग्गा खुल्ला छ । 

व्यवसाय सुरु गर्न ५ लाख रुपैयाँ बढी लगानी गरेका छन् । ‘सुरुमा ३८५ वटा चल्ला प्रतिगोटा ४०० रुपैयाँका दरले किनेर ल्याएर व्यवसाय सुरु गरेको उनीहरूको भनाइ छ । 

माधव राजनीतिमा व्यस्त रहने भएकाले टर्कीको हेरचाहामा धेरैजसो सञ्जीवले समय दिने गरेका छन् । उनका अनुसार चल्ला हुर्काउँदा ३८ डिग्रीभन्दा कम तापक्रम भयो भने मर्ने सम्भावना हुन्छ । 

नेपालमा टर्की धेरै प्रचारमा नरहे पनि व्यवसायको राम्रो सम्भावना रहेको उनीहरूको अनुभव छ । हालसम्म उनीहरूलाई बजारको कुनै समस्या छैन । बरु माग धान्नसमेत गाह्रो भएकाले अरूको फामबाट टर्की खरिद गरी पुनः बेचेर पनि ग्राहक बढाइरहेका छन् । 

टर्कीको मासु प्रतिकिलो १ हजार रुपैयाँ रहेको छ । उनीहरूले अवस्था हेरेर होमडेलिभरी पनि गर्छन् । यसपालिको निषेधाज्ञापछि उनीहरूले मासु तथा जिउँदो टर्की बेच्न थालेका हुन् । दैनिक ८/१० केजी तथा शुक्रबार र शनिबार ५० देखि ६० केजीसम्म मासु बिक्री हुने गरेको छ । डेढ महिनाको अवधिमा साढे ४ लाख रुपैयाँ जतिको कारोबार गरेका छन् । 

सञ्जीवका अनुसार, व्यवसाय सुरु गरेको ६ महिनासम्म लगानी मात्रै गर्नुपर्छ । त्यसपछि भने नाफा नभए पनि थप लगानी गर्नुपर्ने धेरै आवश्यकता हुँदैन ।

सामान्यतयाः ६ महिनाको भएपछि पोथीले अण्डा दिन थाल्छन् भने भाले बेच्नको लागि योग्य हुन्छ । फुलबाट चल्ला बन्नका लागि २८ दिन लाग्छ भने, चल्ला एक महिनाको भएपछि भाले–पोथी छुटिन्छ । भाले ८/९ केजीका हुन्छन् तर, पोथी आधि नै कम अर्थात् ३/४ केजीका हुने सिंहले बताए । 

उनीहरूले पहिलो पटक उपत्यका भित्रै नैकापको एउटा फार्मबाट चल्ला खरिद गरेका हुन् । त्यसपछि आफैंले पालेका टर्कीको अण्डाबाट २०० वटा चल्ला थपेका छन् । साथै फेरि ४ क्यारेट अण्डा चल्ला बनाउनका लागि ह्याचरीमा पठाएका छन् । 

राम्रो स्याहार पुगेको पोथी टर्कीले ६ महिनादेखि दैनिक अण्डा दिन्छ । सञ्जीवका अनुसार, एउटा पोथीले आफ्नो जीवनकालमा १२० वटा अण्डा दिन सक्छ । अण्डाको बजार मूल्य अहिले प्रतिगोटा करिब १०० रुपैयाँ रहेको छ । तर, उनीहरूले भने नियमित ग्राहकलाई प्रतिगोटा ८० रुपैयाँमा बिक्री गर्दै आएका छन् । 

अहिले चल्ला बनाउने मेसिन खरिद गर्न लागेका छन् । तर, भारतबाट ल्याउनुपर्ने भएकाले कोरोनाको कारण समस्या भएको छ । मेसिनको मूल्य कम्पनी र चल्ला उत्पादन क्षमताको आधारमा फरक–फरक हुन्छ । 

उनीहरूले आफूले मात्रै काम गरेर व्यवसाय सञ्चालन गर्न समस्या भएकाले २ जना कामदार पनि राखेका छन् । जिउँदो टर्की र मासु बराबरी मात्रामा अर्डर आइरहेको हुन्छ ।

उपत्यका बाहिरको माग भने उनीहरूले धान्न सकेका छैनन् । आगामी दिनमा ७०० टर्की पाल्ने योजना रहेको समेत सिंहले बताए । यद्यपि १ हजार टर्की पाल्ने उनीहरूको खोरको क्षमता रहेको छ । 

No description available.

नेपाल केल्पो खुकुरी मार्सल आर्सको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशको सह–इन्चार्ज हुन् । सिंहले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरका खेल खेलेका छन् । 

साथै स्कुल–कलेजहरूमा प्रशिक्षण पनि दिने गरेका थिए पछिल्लो समय उनले प्रशिक्षण दिने क्रमलाई छोडेका छन् । तर, खेललाई माया मार्न नसकिने सिंह बताउँछन् । 

माधव अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्षा  हुन् । साथै उनले ‘कूटनीतिक इतिहास’ मा पीएचडी गर्दैछन् । ‘हामी कृषि प्रधान देश नेपाल भनेर कुरा गर्छौं तर, मासु आयात अन्य देशबाट गरिरहेका छौं, हाम्रो व्यवहार र पढेलेखेका मान्छेले कृषिकर्म गर्दा हेयभावले हेर्ने दृष्टिकोण पनि बदल्न व्यवसाय सुरु गरेका हौं ।’ 

माधव भन्छन्, ‘राजनीति र पढाइले मात्रै काठमाडौंमा जीवनयापन गर्न समस्या हुने भएकाले केही गर्नुपर्छ भन्ने सोच तथा बेरोजगार रहेका केही युवालाई रोजगारीको अवसर सिर्जना गर्न सके आत्मा सन्तुष्टि मिल्ने सोचेर व्यवसाय सञ्चालन गरेका छौं, अहिले राम्रो हुँदै गएकाले खुसी छौं ।’

बिहीबार २७ जेठ २०७८ ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया