नेपालको एक प्रतिष्ठित व्यापारिक समूहमध्ये एक हो त्रिवेणी ग्रुप । ८० वर्षभन्दा बढी अनुभव रहेको उनको ग्रुपले आठ क्षेत्रमा लगानी विस्तार गरी ५२ कम्पनीको नेतृत्व गरिरहेको छ । बैंक, खाद्यान्न, हाइड्रोपावरलगाय क्षेत्रमा लगानी विस्तार गर्दै स्थापित ब्रान्ड त्रिवेणीमा बिस्तारै नयाँ पुस्ताको प्रवेश पनि हुँदै छ । पारिवारिक व्यापार सम्हाल्ने क्रममा अहिले त्रिवेणी ग्रुपमा सांघाई परिवारमा उमेरले सबैभन्दा कान्छा साकेत सांघाईको प्रवेश भएको छ ।
भारत बैंगलोरस्थित अन्तर्राष्ट्रिय विद्यालयबाट उच्च शिक्षा पूरा गरेर अमेरिका बोस्टनमा उद्यमशिलता र मार्केटिङ अध्ययन गरी सन् २०१९ मा नेपाल फर्किएका साकेतले पुस्तेनी व्यवसाय सम्हाल्दै आएका छन् ।
‘ग्राउन्ड लेभल’ बाट कम्पनी सञ्चालनका हरेक पक्ष सिकिरहेको बताउने उनले कम्पनीलाई दिगो र विस्तार हुने उद्योगहरूमा सफलतापूर्वक विविधिकरण गर्ने गरी काम गरिरहेका छन् ।
८० वर्षअघि काठमाडौं इन्द्रचोकबाट साकेतका हजुरबुबा गोपालराय सांघाईले आफ्नो करियरको प्रारम्भिक चरणमा कपडा व्यापारीका रूपमा व्यवसाय सुरु गरेपछि त्रिवेणी ग्रुप सुरु भएको थियो । इन्द्रचोकपछि न्युरोडमा पसल राखेर कपडाका सामान र अन्य उत्पादनको व्यापार गरेका थिए । नेपाली बजारमा विशेषज्ञता हासिल गरेपछि ‘अमृत’ नाममा नेपालमै पहिलोपटक वनस्पति तेल कारखाना स्थापना गरेका थिए । जसको नेतृत्व अहिले साकेतले गरिरहेका छन् ।
हाल त्रिवेणी ग्रुपअन्तर्गत ५२ कम्पनी छन् । तीमध्ये निर्माण क्षेत्रका करिब दुई दर्जन कम्पनी, अटोमोबाइलका तीन, कृषिअन्तर्गत एक, मनोरञ्जन र आतिथ्यअन्तर्गत तीन, हाड्रोपावरको एक, बैंक तथा बिमाअन्तर्गत चार, शिक्षामा एक, खुद्राअन्तर्गत बिगमार्ट र व्यापार–वितरणअन्तर्गत करिब डेढ दर्जन गरी ५२ कम्पनी छन् ।
त्रिवेणी ग्रुपअन्तर्गत ऊर्जा क्षेत्रको ग्रिन भेन्चर्स हाइड्रोपावर, वाणिज्य बैंकअन्तर्गत एनआइसी एसिया बैंक र विकास बैंकअन्तर्गत महालक्ष्मी विकास बैंक, बिमा कम्पनीअन्तर्गत नेपाल लाइफ र प्रुडेन्सियल इस्योरेन्स, अटोमोबाइलअन्तर्गत रोयल इन्फिल्ड, सिमेन्टअन्तर्गत सगरमाथा सिमेन्ट, चियाअन्तर्गत टोकला चियालगायतकम्पनी छन् ।
तीमध्ये साकेतले आधा दर्जन कम्पनीको नेतृत्व सम्हालिरहेका छन् । उनले खाद्यान्नअन्तर्गतका दाल, चिनी, अमृत तेललगायत वस्तु क्षेत्रलाई हेरिरहेका छन् । साकेतले चामलमा नयाँ उत्पादन ल्याउने तयारी थालेका छन् । उनले ग्रुपको व्यापार विकास मामिला पनि हेर्दै आएका छन् । व्यवसायलाई नेपालभरि दिगो रूपमा विस्तार गर्न के गर्न सकिन्छ भन्ने विषयमा पनि उनैले अध्ययन गरिरहेका छन् ।
‘यो परिवारमा जन्मनु मेरो सौभाग्य हो,’ उनी भन्छन्, ‘हाम्रो परिवारले मलाई अहिले हामीसँग भएका सबै कुरा दिएको छ तर, यसको मतलब कुनै कडा परिश्रम समावेश छैन भन्ने होइन । हजुरबुबाले मेरो बुबालाई विरासतमा छाड्नुभयो र अब यो मलाई हस्तान्तरण भइरहेको छ । मलाई हस्तान्तरण गरिएको विरासतलाई नेपालभरि विस्तार गर्न म प्रतिबद्ध छु ।’
अमृत तेल ब्रान्ड स्थापित भयो
अमेरिकाबाट फर्किएपछि साकेतले अमृत तेलको नेतृत्व सम्हालिरहेका छन् । उनले नेतृत्व सम्हालेको तीन वर्ष भइसकेको छ । उनले नेतृत्व लिँदा ब्रान्ड बनिसकेको थिएन । अमृत के हो भनेर धेरैलाई थाहा थिएन । तर, अहिले धेरैलाई अमृतबारे थाहा छ ।
तेल दैनिक प्रयोग हुने उत्पादन हो । ‘म सुरुमा सामेल हुँदा तेलको पुसमार्केट थियो, जहाँ बजारमा विभिन्न ब्रान्डबीच प्रतिस्पर्धा थियो,’ साकेत भन्छन, ‘त्यसबेला बाँच्न हामीले हाम्रा उत्पादन बिक्रीका लागि खुद्रा बिक्रेतामा धकेल्नुपथ्र्याे, तर अहिले दिनहुँ मानिसहरू स्वास्थ्य र ब्रान्डमाथि सचेत छन् ।’
आफू अमृतमा प्रवेश गरेपछि बजारीकरणमा आबद्ध भएको र अमृत ब्रान्ड नाम बनाउन तथा नेपाली जनताको दिमागमा ब्रान्ड दर्ता गर्न नेपालभरि गएको उनी सुनाउँछन् । ‘अमृत ब्रान्डको नाम र यसको आफ्नै पहिचान सफलतापूर्वक सिर्जना गर्न सक्षम भएका कारण पुलमार्केट बनाउन सक्षम छौं,’ उनी भन्छन्, ‘अहिले उपभोक्ताले आफ्नो रोजाइका रूपमा अमृत उपभोग गरिरहेका छन् ।’
त्रिवेणी ग्रुपले आयातमात्र नभएर उत्पादनमा पनि जोड दिइरहेको छ । रुस र युक्रेन कच्चा सूर्यमुखी तेलको प्रमुख आपूर्तिकर्ता हुन् । त्यो कच्चा तेल खरिद गरेर प्रशोधन गरी अन्य देशमा पनि निर्यात गरिरहेको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि आपूर्ति शृंखला केही समय बन्द भएकाले उत्पादनको मूल्यवृद्धि भएको छ ।
रोयल इन्फिल्ड डिलर
नेपालमा मोटरसाइकलको मूल्यले आकास छोएको छ । सरकारले नै २ सय ५० सिसीका लागि अहिले स्वीकृत गरेको भन्सार महसुल कम गरे केही मूल्य घट्न सक्ने साकेतको तर्क छ ।
रोयल इन्फिल्डको डिलर लिएपछि मुख्यतयाः लागतका कारण पहिले उपलब्ध नभएका सेवामा ध्यान केन्द्रित गर्दै बिक्रीपछि सर्भिसिङ स्टेसन आदिप्रति उपभोक्ताको सम्पूर्ण अनुभव परिवर्तन गर्ने योजना उनले बनाएका छन् ।
टोकला चियाको बजार हिस्सा २५ प्रतिशत
त्रिवेणी ग्रुपको टोकला चिया नेपाली बजारमा स्थापित ब्रान्ड हो । अब यसलाई बजारमा कुनै ब्रान्डिङको आवश्यकता पर्दैन । केही कम्पनी त्यस्ता हुन्छन् जसले विरासत सिर्जना गर्छन् । हरेक नेपाली टोकला चियासँग परिचित छन् । हरेक किराना पसलमा टोकला चिया पाइन्छ । वर्षौंदेखि यसले आफ्नै विरासत र ब्रान्ड छवि सिर्जना गरेको छ ।