मङ्गलबार, असोज १२ २०७८ ०५:१९ PM

×

सेयर बजार निरन्तर घट्ने चक्र ताेडिने संकेत, आगामी साता उत्साह छाउला ?

images

काठमाडौं । सेयर बजार सूचक नेप्सेमा बिहीबार झिनो विन्दुले गिरावट आएको छ । बजार तलमाथि गरिरहँदा अन्तिममा सूचक सामान्य हिसाबले घटेको छ । यस दिन क्रेता र बिक्रेताबीच भाउमा राम्रै मोलमोलाई भएको पनि देखिन्छ । घटेको बजारमा विस्तारै क्रेताहरु अलिबढी सक्रिय हुन थालेको विश्लेषण गरिएको छ । छोटो समयमा ठूलै अंकको करेक्सन आएकाले सेयर भाउ सस्तो भइसकेको हो । कतिपय कम्पनीको भाउ ६ महिनाअघिको मूल्यमा आइसकेको छ ।

यसरी मूल्य निकै सस्तोमा आएपछि अब विस्तारै गर्दै ट्रेडर र इन्भेष्टर्स दुवै आकर्षित हुने अनुमान गरिएको छ । हाइड्रोपावर समूहमा तुलनात्मकरुपमा बढी क्रेज देखिएको छ । ४ समूहमा हरियाली देखिएको छ ।  बजारमा सेयर घट्नेबारेमा विभिन्न हल्ला मच्चाइएका कारण लगानीकर्ताले एग्रेसिभ बाइङ नगरी सुस्तसुस्त सेयर खरिद गरिरहेको देखिन्छ । त्यसो त बजार घट्दा आम लगानीकर्ताको मनोबल पनि कमजोर भएको हुन्छ ।

सोहीकारण पनि फेरि बजारमा एग्रेसिभ बाइङ आउनका लागि केही समय लाग्न सक्ने विश्लेषकहरु बताउँछन् । बिहीबार पनि नेप्से पटकपटक हरियो र रातो हुनेक्रम चलिरह्यो । बजार खुलेदेखि नै हरियो बन्ने प्रयास गरे पनि बीचबीचमा बिक्रेता हावी भएका थिए । जसका कारण नेप्से सूचक कुनैबेला रातो अनि कुनैबेला हरियो बन्नेक्रम चलेको थियो । सेयर बजारमा पछिल्ला दिनहरुमा साना र नयाँ लगानीकर्ताको संख्या उल्लेख्यमात्रामा वृद्धि भएको छ ।

साना लगानीकर्ताको संख्या व्यापक वृद्धि भए पनि बजारको निर्णायक तहमा ठूला र टाठाबाढाकै वर्चस्व रहने गरेको छ । वास्तवमा साना लगानीकर्ता ठूलाकै पछि लाग्ने हुन् । बजारमा भाउ बढिसकेपछि किन्न जाने अनि भाउ घटिसकेपछि मात्र बिक्री गर्ने अधिकांश साना र नयाँ लगानीकर्ता नै हुने गरेका छन् । सोही कारण संख्यात्मकरुपमा साना लगानीकर्ताको संख्या धेरै पनि बजार घटबढमा उनीहरुले निर्णायक भूमिका खेल्न सकेको देखिंदैन ।

यस्तै, नीतिनिर्माण तहमा पनि ठूलाकै कुरा सुनिने गर्छ । यसर्थ, आम लगानीकर्ताहरुले यी महत्वपूर्ण व्यवहारिक पक्षहरुमा ध्यान दिन आवश्यक हुन्छ । हल्ला र लहैलहैको भरमा भन्दा पनि योजनाबद्ध हिसाबले अघि बढ्न सक्नुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीमा लगानी गर्नुपर्छ । विशेषगरी ग्रोथ ओरियन्टेड र लाभांश क्षमता राम्रा भएका कम्पनीहरुमा लगानी गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । 

अहिले लाभांशको सिजन चलिरहेकाले पनि सर्वसाधारण लगानीकर्ता विशेष सचेत हुन आवश्यक छ । पाकिसकेको बाली फुत्किन सक्नेतर्फ चनाखो रहनुपर्छ । यस दिन हिमालयन पावर पाटर्नर र सानिमा लाइफ इन्सुरेन्सको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । ४९ करोड ३९ लाख रुपैयाँभन्दा धेरैसहित खरिदबिक्री रकममा रिडी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

बिहीबार २४ भदौ २०७८ ०३:२८ PM मा प्रकाशित

प्रतिक्रिया