काठमाडौं । बुधबार सार्वजनिक भएको आइफोन–१४ प्रो म्याक्सको मूल्य नेपालमा २ लाख ६३ हजार ४४० रुपैयाँ पर्ने भएको छ । १ लाख ६४ हजार ५६० भारु रहेको आइफोन–१४ प्रो म्याक्सको नेपाली मूल्य २ लाख ६३ हजार रुपैयाँ पर्नेछ ।
त्यस्तै आइफोन–१४ प्रोको मूल्य नेपालमा २ लाख ४४ हजार ६०८ रुपैयाँ, आइफोन–१४ प्लसको मूल्य २ लाख २३ हजार ८४० रुपैयाँ र आइफोन–१४ को मूल्य २ लाख ७ हजार ८४० रुपैयाँ पर्नेछ ।
अमेरिकाको टेक कम्पनी एप्पल इंकले सेप्टेम्बर ८ अर्थात् बुधबार राति ४ मोडलका आइफोन सार्वजनिक गरेको हो । अमेरिकामा आइफोन–१४ को मूल्य ७९९ डलर र आइफोन–१४ प्लसको ८९९ डलर निर्धारण भएको छ । तर, नेपालको मूल्य निर्धारण भने अमेरिकाको मूल्य अनुसार नभइ भारतीयअनुसार हुने गर्दछ । जसका कारण नेपालमा फोनको मूल्य बढी पर्न जान्छ ।
विश्वमा आइफोन सबैभन्दा सस्तो पाइने अमेरिकामा हो । महंगो पर्ने देशमा ब्राजिल र अर्जेन्टिना रहेका छन् । टेक कम्पनीले आइफोनसँगै घडी र एयरपड्स पनि सार्वजनिक गरेको छ ।
बुधबार सार्वजनिक भएका नयाँ ब्राण्डहरुमा आइफोन–१४, आइफोन–१४ प्लस, आइफोन–१४ प्रो, आइफोन–१४ प्रो म्याक्स, एप्पल वाच सिरिज–८, एप्पल वाच एसइ, एप्पल वाच अल्ट्रा र एयरपड्स प्रो–२ रहेका छन् ।
दुर्घटना भएको सूचना दिने फिचर
आइफोन–१४ र आइफोन–१४ प्लसमा दुर्घटना भएको सूचना दिने क्र्यास डिटेक्सन फिचर रहेको बताइएको छ । दुर्घटना भएको सूचनासँगै यी फोनहरुबाट आपतकालीन कल गर्न सकिनेछ।
सोे मोबाइलको एन्टेना स्याटलाइट फ्रिक्वेन्सीसँग सिधै सम्पर्क हुने भएकाले नेटवर्क नभएको समयमा पनि स्याटलाइटमार्फत् काम गर्ने क्षमता रहेको छ।
कालो, निलो, स्टारलाइट, बैजनी र रातो गरी ५ रङ्गमा उपलक्ध रहेको आइफोन–१४ फाइभ–जी फोन हो । तर, फोनको डिजाइन भने यसअघि सार्वजनिक भएको आइफोन–१३ को जस्तै रहेको बताइएको छ । नयाँ सार्वजनिक भएका फोनहरुमा चिपसेट पनि पहिलाकै रहेको छ भने आएफोनको मिनी संस्करण सार्वजनिक भएको छैन ।
आइफोन–१४ मा १२ मेगापिक्सलका दुई क्यामरा छन्। त्यस्तै आइफोन–१४ को स्क्रिन आकार ६.१ इन्च रहेको छ । तर, आइफोन–१४ प्लसको भने स्क्रिन आकार ६.७ इन्चको छ । साथै आइफोन–१४ प्लसमा अहिलेसम्म सार्वजनिक भएका मध्ये सबैभन्दा राम्रो ब्याट्री भएको कम्पनीको दाबी छ ।
कहिले अफ हुँदैन डिस्प्ले
अमेरीकाको टेक कम्पनीका अनुसार आइफोन–१४ प्रो र आइफोन–१४ प्रो म्याक्समा भएका फिचरसँगै अरू धेरै नयाँ फिचर छन । आइफोन–१४ प्रो र आइफोन–१४ प्रो म्याक्स फोन भने नचलाउँदा पनि डिस्प्ले अन नै हुनेछ।
यसको चिपसेट आइफोन १४ र आइफोन १४ प्लसको भन्दा भिन्न छ । त्यस्तै आइफोन–१४ प्रोको स्क्रिन ६.१ इन्च र प्रो म्याक्सको ६.७ इन्च छ। आइफोन–१४ प्रोको मूल्य ९९९ डलर र प्रो म्याक्सको मूल्य १०९९ डलर पर्छ ।
आइफोन–१४ मा सिम कार्ड राख्नु नपर्ने
आइफोन–१४ को अर्को नयाँ विषेशता भनेको सिम कार्ड राख्नु नपर्ने हो । अन्य फोनमा जसरी आइफोन–१४ का मोडलमा सिम कार्ड राख्ने ठाउँ छैन। तर, डिजिटल रुपमा ई–सिम कार्ड रहने छ ।
अमेरिकामा प्रयोग हुने आइफोन–१४ मा ई–सिम कार्ड रहने निश्चित भए पनि अन्य देशमा जाने फोनको विषयमा कम्पनीले प्रष्ट उल्लेख गरेको छैन।
कम्पनीले आइफोनसँगै एप्पल वाच पनि बुधबार राति नै सार्वजनिक गरेको छ । आइफोन–१४ सँग तीन मोडलका एप्पल वाच बजारमा आएका छन् । सार्वजनिक भएका वाचहरुमा एप्पल वाच सिरिज–८, एप्पल वाच अल्ट्रा र एप्पल वाच एसइ रहेका छन् ।
महिनावारीको मिति आँकलन हुने
नयाँ एप्पल वाचले महिलाको महिनावारीको मिति आँकलन गर्न मिल्ने दाबी गरेको छ । नयाँ एप्पल वाचले हरेक ५ सेकेण्डमा शरीरको तापक्रम मापन गर्ने भएकाले महिनावारीको मिति आंकलन गर्न सकिने बताइएको छ । जिपिएस भएको मोडलको मूल्य अमेरिकी डलर ३९९ छ भने सेलुलर मोडलको ४९९ डलर पर्नेछ ।
नयाँ एयरपड्समा पहिलेभन्दा स्पष्ट आवाज सुनिनेछ। त्यस्तै एयरपड्स एप्पल वाच चार्जरले नै चार्ज गर्न सकिनेछ । नयाँ एप्पल एयरपड्स प्रो–२ को मूल्य २४९ डलर तोकिएको छ ।