×

माउन्टेन इनर्जीको नाफा ४३ प्रतिशतले बढेर पुग्यो ६१ करोड, १२ मेगावाटको आयोजना बनाउँदै

images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत माउन्टेन इनर्जी नेपाल लिमिटेडको गत आर्थिक वर्षमा खुदनाफा ४३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले ६१ करोड ११ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्ष कम्पनीले बिजुली बेचेर ४२ करोड ६९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो वर्षको तुलनमा गत वर्ष माउन्टेन इनर्जीको नाफा १८ करोड ४४ लाख रुपैयाँ बढेको मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

माउन्टेन इनर्जीले बिजुली बेचेर गत वर्ष १ अर्ब २३ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । आयोजनाले ५ मेगावाटको तादी खोला र ४२ मेगावाटको मिस्त्री खोला आयोजनाबाट बिजुली उत्पादन गरिरहेको छ ।

कम्पनीको जडित क्षमता ४७ मेगावाट पुगेको छ । तादी खोला आयोजनाबाट कम्पनीले १५ करोड ६६ लाख र मिस्त्री खोलाबाट उत्पादन हुने बिजुली बेचेर १ अर्ब ७ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । 

कम्पनीको कुल दायित्व ४ अर्ब २४ करोड ८७ लाख र चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीले १२ मेगावाटको मिस्त्री खोला–२ आयोजना बनाउँदै छ । क्यासकेड आयोजनाबाट वार्षिक ६ करोड ९३ लाख ८० हजार युनिट बिजुली उत्पादन हुने छ ।

आयोजना बनाउन निर्माण अवधिको ब्याज बाहेक १ अर्ब ८४ करोड ७० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । ३ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

मङ्गलबार २४ साउन २०७९ ११:३८ AM मा प्रकाशित

प्रतिक्रिया