बुधबार, साउन १३ २०७८ ०९:०६ AM

×

ट्राउट माछापालनमा युवाको आकर्षण बढ्दो, उत्पादन १० गुणा वृद्धि

images

काठमाडौं । पछिल्लो ११ वर्षमा ट्राउट माछाको उत्पादन १० गुणले बढेको छ । मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रले उपलब्ध गराएको तथ्यांक अनुसार २०६५/०६६ देखि २०७५/०७६ सम्म देशभर २६ लाख ८५ हजार किलोग्राम ट्राउट माछा उत्पादन भएको देखिएको हो ।

खासगरी, बग्ने खोलामा ट्राउट माछा पालन गरिन्छ । तराईका जिल्लाभन्दा पहाडी जिल्ला ट्राउट माछा पालनका लागि उपयुक्त हुने र सोही जिल्लाहरुमा ट्राउट माछा पालन भइरहेको मस्त्य विकास अधिकतम प्रशान्त सापकोटाले क्यापिटल नेपाललाई जानकारी दिए ।

बग्ने खोलाको माछा खान पनि स्वादिलो हुने भएकाले ट्राउटको माग पनि वार्षिक रुपमा ५० प्रतिशतले बढेको उनको भनाइ छ । ‘सीमित जिल्लामा मात्रै ट्राउट उत्पादन हुने भएकाले अन्य माछाको तुलनामा यसको मूल्य पनि बढी छ,’ अधिकृत सापकोटाले भने, ‘ट्राउटको माग नेपालमा मात्रै नभई विदेशमा समेत अत्यधिक छ ।’

मस्त्य प्रवर्द्धधन तथा संरक्षण केन्द्रको तथ्यांकअनुसार नेपालमा २०६३/०६४ बाट ट्राउट माछा पालन सुरुवात भए पनि त्यसले व्यावसायिक रुप २०६५/०६६ बाट लिएको हो । त्यसपछिका समयलाई मात्रै केन्द्रले व्यावसायिक रुपमा माछा पालनको रुपमा गणना गर्ने तथ्यांक राख्ने गरेको छ ।

२०६५/०६६ मा १३० टन ट्राउट माछा उत्पादन भएको थियो । २०६६/०६७ मा १८०  सय टन, २०६७/०६८ मा १ सय ४० टन, २०६८/०६९ र २०६९/०७० मा बराबरी १ सय ८० टन ट्राउट उत्पादन भएको सरकारी तथ्यांक छ ।

त्यस्तै २०७०/०७१ मा नेपालमा १ सय ९२ टन माछा उत्पादन भयो भने आव २०७१/०७२ मा २ सय ५० टन तथा २०७२/०७३ मा ३ सय टन उत्पादन भयो । सापकोटाका अनुसार, २०७३/०७४ मा ३ सय १५ टन तथा २०७४/०७५ मा र २०७५/२०७६ बराबरी ४ सय २० टन उत्पादन हुँदै क्रमशः बढेर आव २०७६/०७७ मा ५ सय ५१ मेट्रिक टन पुगेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ट्राउट उत्पादन ३१ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।

रेन्बो ट्राउट सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, कास्की (पोखरा), रसुवालगायत क्षेत्रमा बढी उत्पादन हुने उनले बताए । मुख्यतयाः ७ देखि १९ डिग्रीबीचको तपक्रम हुने ठाउँ वा उच्च पहाडी क्षेत्रमा ट्राउट माछा पालन गर्न सकिन्छ ।

मत्स्य प्रबद्र्धन तथा संरक्षण केन्द्रको तथ्यांकअनुसार आव २०५८/०५९ को तथ्यांकअनुसार नेपालमा माछा उत्पादनमा २८ हजार ६ सय २ घरपरिवार आबद्ध थिए भने आव २०७६/०७७ सम्म आइपुग्दा घर संख्या बढेर ५५ हजार ७ सय ९१ पुगेको छ । साथै आव २०७६/०७७ मा माछापालनबाट नेपालको कृषि क्षेत्रमा मात्रै ४.८ प्रतिशत तथा अर्थतन्त्रमा १.३ प्रतिशत योगदान पुगेको छ ।

हाल नेपालमा २ सय ५२ प्रजातिका माछा पालन गरिँदै आएको सापकोटाले बताए । उनका अनुसार, नेपालको १३ हजार ४ सय ७५.८८ हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ ।

 

शुक्रबार​ २५ असार २०७८ १२:१२ PM मा प्रकाशित

प्रतिक्रिया