सोमबार, जेठ ३१ २०७८ १०:४५ AM

×

एनसेलले विश्वका १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क गर्‍याे परिमार्जन

images

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले विश्वका १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क जेठ २१ देखि लागू हुने गरी परिमार्जन गरेको छ । नयाँ शुल्कहरू नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दरअनुसार नै रहेको बताएकाे  छ ।

गत जेठ ९ गते शनिबार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी १९ देशहरुका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो । 

प्राधिकणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरू सेवा प्रदायकहरूले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको कम्पनीले जनाएको छ ।

नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्कअनुसार उल्लेखित १८ वटा देशहरूको शुल्क करबाहेक प्रतिमिनेट ३० रुपैयाँ निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कल शुल्क करबाहेक ३०.६५ पैसा निर्धारण भएको कम्पनीले जनाएको छ । 

यसअघि यी देशहरूमा कल गर्दा गन्तव्य देश अनुसार प्रतिमिनेट ४.९९ देखि १५ रुपैयाँसम्म लाग्ने गरेको थियो । अझै पनि माल्दिभ्सका लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरू सेवा प्रदायकले लिने शुल्कभन्दा निकै नै कम रहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकैनै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्षदेखि एनसेलले अन्तर्राष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी बेहोर्दै आएको जनाएको छ । 

साथै यस अघि एनसेलले यी देशहरूका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवा प्रदायकहरूको स्वीकृत कल शुल्क भन्दा ६ गुणा कम दरमा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको जनाएको छ ।  

सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तर्राराष्ट्रिय कल सेवामा अव्यावहारिक नोक्सानी बेहोरेको बताएकाे छ । विगत ५ वर्षमा एनसेलले अन्तर्राष्ट्रिय कलबाट हुने आयमा २७.५ करोड रुपैयाँभन्दा बढी नोक्सान भोगेको जनाएको छ । 

केही युरोपियन गन्तव्यहरूमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढिरहेकोले हाल यी देशहरूका लागि गरिएको शुल्क परिमार्जनपश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने बताएकाे छ । 

प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रतिमिनेट ३० रूपैयाँ रहे पनि कल गरिने गन्तव्य देश अनुसार कुनै-कुनै युरोपियन  गन्तव्यहरूको कल शुल्क कर बाहेक १,१७०.३० रूपैयाँसम्म रहेको बताएकाे छ ।

गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउँदै यसले दिने लाभहरूसँग सबैलाई जोड्न एनसेल प्रतिबद्व रहेको जनाएको छ । एक जिम्मेवार कर्पोरेटको रुपमा एनसेलले सबै नियम तथा कानुनको पूर्णरुपमा परिपालना गर्दै आएको छ ।

स्थापनाकालदेखि गत आर्थिक वर्ष २०७६/०७७ सम्ममा एनसेलले कर तथा शुल्कहरु बापत रु २४२ अर्ब भन्दा बढी राजस्व सरकारलाई बुझाएको छ । देशको एक सबैभन्दा ठुलो करदाताको रुपमा नेपालमा सामाजिक तथा आर्थिक विकासको लागि एनसेलले उल्लेखनीय भूमिका रहेको छ र देशको हितका लागि दिगो व्यवसाय संचालनलाई निरन्तरता दिँदै जाने बताएकाे छ ।

मङ्गलबार २५ जेठ २०७८ ०९:०२ PM मा प्रकाशित

प्रतिक्रिया