काठमाडौं । संगीता पहाडीलाई सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउन उनलाई सुहाउँदो गरी कानुन बनाउने खेल सुरु भएको छ ।
यसअघि गोकुल बाँस्कोटा सूचना तथा सञ्चार प्रविधिमन्त्री हुँदा पनि हालका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई मिल्ने गरी कानुन बनाइएको थियो । अहिले पनि पहाडीलाई प्रबन्ध निर्देशक बनाउने गरी कानुन बनाउन मन्त्रालय जुटेको खुलेको छ । अधिकारीको पदावधि आगामी पुस २२ गते सकिँदैछ ।
नयाँ प्रबन्ध निर्देशकका लागि नेपाल टेलिकमले यसै साता विज्ञापन खुलाउने भएको छ । यसका लागि मन्त्रालयले पहाडीलाई मिल्ने गरी कानुन बनाउने तयारी सुरु भएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
‘हरेक पटक आफू अनुकूल व्यक्तिलाई ल्याउने गरी कानुन संशोधन भइरहेको छ । यसअघि पनि अधिकारीलाई त्यसैगरी प्रबन्ध निर्देशक बनाइएको थियो,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘अहिले पनि संगीता पहाडीलाई हेरेर कानुन निर्माणको तयारी भइरहेको छ ।’ उनी हाल टेलिकमको चिफ कमर्सियल अफिसर हुन् ।
देशको सबैभन्दा धेरै प्रयोगकर्ता भएको पहिलो र ठूलो सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीको आगामी नेतृत्व सम्हाल्न प्रबन्ध निर्देशक पदका लागि धेरै इच्छुक छन् । तर, प्रबन्ध निर्देशक पदका लागि छनौट हुने आकांक्षीले मन्त्रालयले बनाएका विभिन्न मापदण्ड पूरा गर्नुपर्छ । मापदण्ड पहाडीलाई मिल्ने गरी मात्रै बनाइँदै छ ।
टेलिकम भित्रका कर्मचारीको हकमा मन्त्रालयको पुरानो मापदण्डअनुसार इच्छुकले तीन वर्षसम्म कम्पनीको व्यवस्थापक भएर फस्ट क्लास अफिसरको रुपमा काम गरेको हुनुपर्नेछ । १०औं तहमा पुगेका कर्मचारीले मात्र प्रबन्ध निर्देशक पदका लागि दरखास्त दिन पाउने छन् । यी सम्पूर्ण मापदण्ड पूरा गरेपछि जुनसुकै कर्मचारीले पदका लागि दरखास्त दिन सक्ने छन् । डिल्ली अधिकारीलाइ ल्याउँदा कम्प्यूटर इन्जिनियर तथा कम्युनिकेसन इन्जिनियर बाहेक अन्यको दर्खास्त मान्य नहुने कानुन बनाइएकाे थियाे । १० औं तहमा समय तोकिएको थिएन । अहिलेकाे नियममा कम्प्यूटर इन्जिनियर तथा कम्युनिकेसन इन्जिनियर हुनुपर्ने हटाइएकाे छ । १० औं तह अावश्यक भए पनि ५ वर्ष काम गरेकाे अनुभव हुनुपर्ने बनाइएकाे छ । पहाडी १० औं तहमा पुगेर काम गरेकाे पाँच वर्ष भइसकेकाे छ । डिल्ली अधिकारी १० औं तहमा भए पनि काम गरेकाे पाँच वर्ष नपुगेकाले त्याे बेला अनुभवकाे सीमा राखिएकाे थिएन ।
टेलिकमकाे प्रबन्ध पत्रमा प्रबन्ध निर्देशकको नियूक्ति र सेवा सूबिधा सम्बन्धी शर्तहरु नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत निर्देशिकामा उल्लेख गरे बमोजिम हूने भन्ने उल्लेख छ । त्यही भएर अहिले सरकारले व्यक्तिलाइ हेरेर निर्देशिका बनाउन लागेकाे हाे ।
यसअघि २०७५ पुसमा भएको प्रबन्ध निर्देशकको प्रतिस्पर्धामा पनि पहाडीको उम्मेदवारी थियो । हालको व्यवस्थाअनुसार प्रबन्ध निर्देशक पदका लागि सम्पूर्ण मापदण्ड पूरा गरेको आफू एकजना मात्र वरिष्ठ कर्मचारी रहेको संगीता बताउँछिन् ।
तर, टेलिकमको प्रबन्ध निर्देशक पदका आकांक्षीका लागि आवश्यक अर्को नयाँ मापदण्ड मन्त्रिपरिषद्ले भर्खरै पास गरेको हुँदा नयाँमा के कस्तो व्यवस्था छ त्यो टेलिकमलाई पनि जानकारी छैन ।
‘टेलिकमको एमडीका लागि नयाँ क्राइटेरिया भर्खरै मन्त्रिपरिषद्ले पास गरेको छ । त्यो बाहिर नआएको कारण कसकसले अप्लाई गर्न मिल्छ भन्ने कुरा निश्चित भइसकेको छैन । भ्याकेन्सी गोरखापत्रमा निस्किएपछि कसकसले अप्लाइ गर्न पाउँछ भनेर थाहा हुन्छ’, स्रोतले भन्यो ।
यो पनि हेर्नुहोस
प्रबन्ध निर्देशकका लागि विज्ञापन खुलाउँदै नेपाल टेलिकम