मप्रति उठेका प्रश्नको जवाफ दिन म तयार छु । संसदमा आएर बोल्न नपाउने नैतिकता के कारणले मैले गुमाए । न मैले कोरोना संक्रमणको कारण संकटमा परेको जनताको लागि बदमासी गरे, करको दर हेरफेर पूर्व कुनै व्यापारीलाई सूचना दिए, न मैले बच्चाले खाने दूधको रेट बढाएर चकलेटको दर घटाए । म के कारणले अहिले अनैतिक भए ? यो पूर्वाग्रहको परकाष्ठ हो ।
अहिले मेरो छानबिन गर्न समिति बनेको छ । त्यसका लागि म पूर्णरूपमा तयार छु । कुनै पार्टीले दोषी करार गर्ने बित्तिकै कोही दोषी हुँदैन । यो राजनीतिक पूर्वाग्राहीकाे परकाष्ठ हो । सच्याइएको गहिराइमा पुग्नुपर्छ । राजनीतिक पूर्वग्राहीका रूपमा भएको विवादलाई गहिराइमा पुग्नुपर्छ ।
छानबिन समितिले छानबिन गर्नुपर्छ । मैले बजेट निमाण गर्दा कुनै त्रुटि गरेको छैन । तोकिएका व्यक्तिहरुले मात्र बजेट निर्माण गरेका छन् । यो सच्याइलाई कसैले पनि गलत सावित गर्न सक्दैन । करको दर हेरफेर गर्ने सन्दर्भमा मन्त्रालयका दुईवटा सचिव र दुईवटा डीजीहरुलाई नीतिगत निर्देशन गरेको छु ।
के गर्ने ? देशको अहिलेको अर्थतन्त्रलाई, उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकतालाई, विदेशी मुद्रा सञ्चितिलाई कायम गर्नुपर्ने आवश्यकता र औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्न सकिन्छ भनेर कच्चापदार्थहरुमा करहरु नबढाउने र जनताले उपभोग नगरे पनि हुने र नेपालमा उत्पादन हुने वस्तुहरुको कर बढाउने र महँगो डलर पर्ने साधानहरुलाई कर केही बढाएर आम जनताका लागि कम डलर खर्च भएर आउने सामानहरुमा करको दर यथावत् राखेको हुँ । यो नीतिले औद्योगिक क्षेत्रको विकास, निर्यात प्रवर्द्धन हुने कुराको लक्ष्य तोकिएको छ । त्यो लक्ष्यले देशको अर्थतन्त्रको सवलीकरणका लागि ठूलो टेवा पुग्ने विश्वास लिएको छु ।
मैले चिन्ने मेरा सचिवहरु र डीजीहरुलाई हो । मेरो आधिकारिक व्यक्तिहरु भनेकै उहाँहरु भएकाले मैले स्पष्ट निर्देशन गरेको थिए । मेरो निर्देशनपछि उहाँहरुले रातभरि काम गर्नुभएको थियो । बजेटको अघिल्लो दिन म साढे ११ बजे सिंहदरबारबाट पुल्चोक क्वार्टरमा गएर सुतेको छु । बिहान ६ बजे मन्त्रालय आएको छु । म त्यहाँ पुग्दा सचिव सोफामा पल्टिनु भएको थियो भने डीजीहरु काम गरेर टुङ्ग्याउने तरखरको अवस्था देखेको थिए ।
अहिले जसरी कुराहरु बनाएर जनतालाई भ्रममा पारिएको छ । यो विलकुल गलत हो । केही दिनअघि मात्र अर्को समाचार आएको छ । मन्त्रालयको सीसीटीभीको फुटेज हटेको छ । कुन सीसीटीभीको कति क्षमता हुन्छ र कहिलेसम्म रहन्छ भन्ने ज्ञान मन्त्रीसँग हुँदैन र चासो राख्ने विषय पनि हाेइन । सायद, यो पाठबाट भने अव सबै मन्त्रीहरुले आफ्नो मन्त्रालयमा रहेका सीसीटीभीको क्षमता कतिसम्म रहन्छ भन्ने ज्ञान अवश्य पनि लिनुहुन्छ होला ।
मलाई कुनै कुरा डिलिट गर्नु छैन । सत्यतथ्य त्यही छ । हटाउने ज्ञान पनि मलाई छैन र आवश्यक पनि छैन । म माथि नैतिकताको प्रश्न उठाउनेहरु प्रतिप्रश्न गर्न चाहन्छु । बिगतमा अर्बौंको चलखेल गरेर खोलिएका सुपारी तस्करीको ढोका बन्द गरिएको छ । अब तस्करी हुनै सक्दैन । केराउ र मरिचहरुको पनि तस्करी हुने गरेको थियो ।
त्यो पनि पूर्णरूपमा बन्द हुने गरी करको दर बढाएको छु । के नेपालमा तस्करी घटाउनु अनैतिकता हो ? मैले तस्करी हुने मालहरुलाई बन्द गरिदिएको छु । बिगतको इतिहास पनि साक्षी छ । कसरी तस्करी हुन्थ्यो सुपारी,केराउ र मरिच ? यो सबै मैले बन्द गरिदिएको छु,यो कुरा कसरी गलत हुन्छ र नैतिकता माथि प्रश्न उठ्छ ।
विद्युतीय गाडीमा कर बढायो भन्ने आरोप छ । डलरको सञ्चितिका लागि महँगो डलर पर्ने गाडीमा थोरै प्रतिशत जुन पेट्रोलियम गाडीको भन्दा एक तिहाइ कम छ । पेट्रोलियम गाडीको चार गुणा छ भने अर्को एक तिहाइ मात्र छ ।
सेनेटरी प्याडको करको विषय पनि विगतका वर्षमा महिलाहरुले रातो कर, माफ गर भन्ने नारासहित गरेको आन्दोलनलाई सम्बोधन गरेको हुँ । यसो गर्दा देश भित्रको उद्योगको संरक्षण गर्ने नीतिसँगै ल्याएको कुरा धेरै चोटी बताइसकेको छु ।
करका दर हेरफेर हुँदा कसरी सूचना चुहियो ? कुन व्यापारीले फाइदा लियो छानविन गरियोस । बजेटले कुन घरनालाई इंगित गरियो भन्ने विषयमा पनि स्पष्ट पार्न आवश्यक छ ।
बजेट निर्माणको सन्दर्भमा मैले आफ्नो नैतिकता,जनताप्रतिको इमान्दारितालाई कतै पनि डगमगाउन दिएको छुइन र भोलिका दिनमा पनि दिने छैन । म एउटा हैन हजारौं छानबिनका लागि तयार छु । एउटा संसदिय छानविन मात्र हैन,सबै छानविनका लागि तयार छु ।
(राजीनामा दिनुअघि अर्थमन्त्री शर्माले संसदमा गरेको सम्बोधनको सम्पादित अंश)