काठमाडौं । बन्चरेडाँडामा फोहोर फाल्न गएका गाडी रोकिएपछि अन्ततः काठमाडौं महानगरपालिकाले बल प्रयोग गर्ने निर्णय गरेको छ । फोहोर फाल्ने समहति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारीलाई ठाउँठाउँमा रोकेका छन् ।
प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिइसकेको छ । ‘दिउँसोसम्म प्रहरीले अवरोध हटाउँछ, र फोहोर सोमबारको सहमतिअनुसार बिसर्जन हुन्छ,’ ती अधिकारीले भने,’अब प्रहरी लगाएरै भए पनि फोहोर उठाउँछौं ।’
यसअघि मेयर बालेन साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति केही स्थानीयबासीले नमान्ने बताएपछि मेयर साहले प्रहरी परिचालनमा सहमति जनाएको ती अधिकारीले बताए ।
सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।
गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।
सहरी विकास मन्त्रालयको पहलमा बसेको बैठकमा भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रवीन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका थिए ।