काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक आयोजनाको प्रक्रिया पुनः थालिने भएको छ । यसका लागि छ लेनको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको जनाइएको छ ।
केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले सडक विभागले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडकखण्ड विस्तारको प्रक्रिया आगामी आर्थिक वर्षको सुरुआतसँगै पुनः थालिने सडक विभाग, योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए ।
“नयाँ आर्थिक वर्षको शुरुआतसँगै आयोजनाको प्रक्रिया थालिनेछ”, उनले भने । उनका अनुसार सकेसम्म लगानीकर्ता खोजिनेछ, नभए सरकार आफैँले निर्माण गर्नेछ ।
उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग समेत छलफल भइरहेको नेपालले बताए । सो सडक करिब १५ किलोमिटर लम्बाइको छ । सङ्घीय राजधानीबाट वागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बीपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ ।
यी सडकबाट प्रदेश नं १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्छन् । विस्तारका क्रममा निर्माण हुनेछ, लेनमध्ये सवारी साधनका लागि चार र दुई लेन सर्भिस लेन हुने जनाइएको छ । छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिनेछ ।
भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित एक दशमलव २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारे समेत छलफल भइरहेको जनाइएको छ । सुरुङमार्ग भने दुई लेनको हुनेछ भने सडकको चौडाइ साढे तीन मिटरको हुनुपर्ने डिजाइनमा उल्लेख गरिएको छ ।
आयोजनाका लागि करीब ७ अर्ब रुपैयाँको टेन्डर आह्वान हुने प्रक्रियामा रहेको छ ।
करीब दशकपहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जाइकाले नै सूर्यविनायक–धुलिखेल सडक विस्तारको अघिल्लो प्रक्रियामा पनि चासो देखाएको थियो । सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेश गर्दै सरकारको बजेटमा डिजाइन अनुसारको काम गर्न नसक्ने जाइकाले जनाएको थियो ।
त्यसबेला सरकारसँग आयोजनाको बजेटमा सुरुङमार्गको योजना हटाएर पनि लागत कम गर्न अनुरोध गर्दै जाइकाले तारतम्य नमिलेको आरोप लगाउँदै हात झिकेको बताइन्छ । त्यसयता सरकारले आफैँ निर्माण गर्ने जनाउँदै आएको छ ।
सरकारले चालु आर्थिक वर्षमा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार शुरु गर्न १ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको थियो भने अघिल्लो आवको बजेटमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो । समयसमयमा जाइकाले उक्त आयोजनामा चासो दिइएको बताइए पनि कोभिड–१९ का कारण एक वर्षदेखि कुनै निकायद्वारा प्रक्रिया थालिएको थिएन ।
डिभिजन सडक कार्यालय भक्तपुरले भने गत वर्षदेखि सडक निर्माणस्थल खाली गराउन रूख कटानलगायतको काम गर्दै आएको छ । सडक विस्तार सम्पन्न भए पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ ।
जाइकाका अधिकारीका अनुसार त्यसबेला २३ अर्ब रुपैयाँ लागतको प्रस्ताव गरेको जनाइएको छ । उसले सडक विस्तारका क्रममा जग्गासमेत लिनुपर्दा ४२ अर्ब रुपैयाँ लाग्ने अनुमानसमेत गरेको जनाइएको छ । जाइकासँग उक्त सडकखण्ड विस्तारसँगै जडीबुटी अन्डरसापास वा प्लाई ओभारसमेत निर्माणको छलफल भएको थियो ।
तीनकुने–सूर्यविनायक सडक विस्तार गरेलगत्तै जाइकाले सन् २०११ मै सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको प्रारम्भिक अध्ययन गरेको जनाएको थियो । रासस