काठमाडौं । इन्जिनमा समस्या आएपछि विगत दस दिनदेखि कतारको दोहामा नेपाल एयरलाइन्सको न्यारोबडी जहाज ग्राउन्डेड छ । सोही जहाजको इन्जिन फेर्न चलखेल सुरु भएको छ । जहाजको इन्जिन निर्माता कम्पनीले इन्जिन मर्मत गर्नुको सट्टा इन्जिन नै रिप्लेस गर्न सुझाव दिएको छ ।
यता इन्जिन मर्मतका लागि निगम सञ्चालक समितिबाट स्वीकृत हुनुपर्ने भए पनि कार्यकारी अध्यक्ष युवराज अधिकारीले दुईपटकसम्म बैठक आव्हान गरेर पनि सञ्चालन गर्न सकेका छैनन् ।
जहाज अवतरणपछि पार्किङमा लैजाने क्रममा बायाँ इन्जिनमा समस्या देखिएपछि जहाज ग्राउन्डेड भएको हो ।
बैठक सञ्चालन हुन नसकेकै कारण अति संवेदनशील मानिएको न्यारोबडी जहाजको इन्जिन फेर्नसमेत ढिलाइ भएको छ । सामान्यतया इन्जिनमा समस्या आएपछि सञ्चालक समितिलाई जानकारी गराई अनुमति लिएर विकल्प खोज्नुपर्ने हुन्छ । सोहीअनुसार कार्यकारी अध्यक्ष अधिकारीले केही पाइलटहरुलाई इन्जिन खोज्न लगाएका छन् ।
सञ्चालक समितिबाट निर्णय गराएर टेन्डर आव्हान गरी इन्जिन फेर्नुपर्नेमा कार्यकारी अध्यक्ष अधिकारीले भने केही पाइलटसँगको मिलेमतोमा इन्जिन खोज्न थालेको एक अधिकारीले जानकारी दिए ।
एयरलाइन्सको नियमावलीभित्र जहाज मर्मतका लागि एयरक्राफ्ट अन्डरग्राउन्ड (एओजी) को प्रबन्ध गरिएको छ । यसैमा टेकेर अध्यक्ष अधिकारीले कमिसनको चलखेल सुरु गरेको स्रोतको दाबी छ ।
कुनै जहाजको इन्जिनमा समस्या आएमा तत्कालको उडानका लागि छोटो समयको अवधि राखेर टेन्डर आव्हान गरिन्छ । अहिले कार्यकारी अध्यक्ष अधिकारीले पनि सोहीअनुरुप प्रक्रिया अघि बढाउन थालेको बुझिएको छ ।
केही पाइलटहरु श्रीलंकन एयरसहितका विदेशी एयरलाइन्ससँग न्यारोबडी जहाजको इन्जिन खरिद वा भाडाका लागि बार्गेनिङ गर्न लागेको ती अधिकारीको भनाइ छ । छोटो समयका लागि टेन्डर आव्हान गरेर प्रक्रिया पूरा गर्ने र कमिसन धेरै दिनेलाई सेटिङका आधारमा इन्जिनको जिम्मा दिने गरी तयारी थालेको बुझिएको छ ।
इन्जिन फेर्न मात्र करिब १ अर्ब ५० करोड भन्दा बढी मूल्य र ३ देखि ४ महिनाको समय लाग्छ । अहिले ग्राउन्डेड भएको इन्जिनको आवर (समय) भने १०÷१२ दिन अघि नै सकिएको थियो । तर, एयरलाइन्सको व्यवस्थापनले इन्जिन फेर्न तर्फ नलागेर जहाज सञ्चालन गर्दा यो स्थिति आएको हो ।
यति मात्र होइन, अर्को न्यारोबडी जहाजको इन्जिन पनि अबको डेढ महिना भित्रमा ग्राउन्डेड हुनेवाला छ । सो इन्जिन मर्मत गर्ने बेला भइसके पनि अहिलेसम्म यस विषयमा व्यवस्थापनले कुनै चासो नदेखाएको एक पाइलटले जानकारी दिए ।
यता कार्यकारी अध्यक्ष अधिकारीले भने एयरलाइन्सलाई फाइदा पुग्ने गरी छिटोभन्दा छिटो जहाज सञ्चालन गर्ने प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिए । जहाज ग्राउन्डेड हुँदा निगमलाई दैनिक दुई करोड रुपैयाँ आम्दानी गुमाइरहेको जनाएको छ । एयरलाइन्सको एयरबस–३२० जहाजले दैनिक काठमाडौं–दोहा–काठमाडौं र काठमाडौं–दुबई–काठमाडौं गरी चारवटा उडान तथा अवतरण गर्दै आइरहेको छ ।