काठमाडौं । कुनै समय देशकै ठूलो र सबैभन्दा बढी चलेको एउटै भवनभित्र धेरैवटा हल भएको गोपीकृष्ण मुभिजको अस्तित्व अहिले आएर समाप्त भएको छ ।
कोभिडका कारण २०७६ चैतदेखि सुरु भएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय हल सञ्चालन हुन सकेन । २०७७ पुस माघमा हल खोल्ने भनिए पनि सहज भएन र कोरोनाको दोस्रो लहरले फेरी निषेधाज्ञा सुरु भयो ।
सिनेमा हल नचलेपछि सञ्चालक उद्धव पौडेलले चलचित्र भवनलाई भत्काएर पाँचतारे होटलसहित ‘गोपीकृष्ण कम्प्लेक्स सेन्टर’ बनाउने तयारी थालेका छन् । कुल ४ अर्ब रुपैयाँ लगानीमा बन्ने सो सेन्टर आगामी साढे २ वर्षमा सम्पन्न हुने भएको छ ।
उक्त हलको नाम परिवर्तन भई गोपीकृष्ण सेन्टर कम्प्लेक्स (जिकेसीसी) राखिएको छ । चलचित्र व्यवसायी उद्धव पौडेलले २०५३ सालदेखि सञ्चालन गर्दै आएको सो सिनेमा हल नचलेपछि बिजनेस सेन्टरमा परिणत गर्न लागिएको हो ।
कोरोना महामारीका बीचमा सिनेमा भवन भत्काइएको हो । भत्काएर बन्ने नयाँ बन्ने बिजनेस भवनमा सिनेमा हल नहुने भएको छ । पहिलादेखि नै सञ्चालनमा रहेका पुराना भवनमा ३ वटा सिनेमा हल सञ्चालनमा रहने प्रवन्धक प्रदीप दाहाल बताए ।
१० रोपनी क्षेत्रफलमा फैलिने उक्त भवनमा २ तल्ला पार्किङसहित १८ तल्लाको बन्ने प्रवन्धक दाहालले जानकारी दिए । नयाँ बन्ने भवनमा पाँचतारे होटलसहित सपिङ मल, स्वीमिङ पुल, रेष्टुराँलगायत रहने प्रवन्धक दाहालले बताए ।
उनका अनुसार कोरोनाको संक्रमण हटेर वा जोखिम कम भएपछि ३ वटा हल भने सञ्चालन हुनेछ । बाँकी ३ वटा हलको नामसमेत रातो, नीलो, हरियो राखिएको छ । नामअनुसार नै रातो हलमा रातै कुर्सी, ट्वाइलेट, कार्पेट, हरियोमा सबै हरियो तथा नीलोमा पनि सबै नीलो नै हुने गरी सजावट गरिने भएको छ ।
यसअघि गोपी, कृष्ण, राधा, मीरा, ओम, नम र शिवाय नामका हलहरु सञ्चालनमा थिए । अब बाँकी रहेका हल पनि आधुनिक प्रविधिको प्रयोग गरेर परिमार्जनसहित दर्शक माझ आउँदै प्रवन्धक दाहालले जानकारी दिए ।
‘३ वटा हल सञ्चालनका लागि बक्स अफिस, टिकट काउन्टरलगायत संरचना निर्माण गरिसकेका छौं । सरकारले हल खोल्न अनुमति दिएको बेला खोल्न सकिन्छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘चीनको कम्पनीलाई जिम्मा दिएकोमा मोटामोटी नक्सा तयार भएको छ, आगामी मंसिरको दोस्रो सातादेखि निर्माण सुरु हुन्छ ।’
उक्त कम्प्लेक्स निर्माणको लागत ४ अर्ब रुपैयाँको अनुमान गरिएको छ । कम्पनीले साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने बताएको प्रवन्धक दाहालको भनाइ छ । पहिला ७ रोपनीमा रहेको हलमा ३ रोपनी जग्गा थपेर जम्मा १० रोपनीमा कम्प्लेक्स निर्माण गर्न लागिएको उनी बताउँछन् ।
कोरोना संक्रमणभन्दा पहिला हलमा ७० जनासम्मले रोजगारी पाएका थिए । तर, कोरोना संक्रमणसँगै भत्काइएको उक्त हलमा आश्रितले पूर्णरूपमा रोजगारी गुमाएका छन् ।
हाल त्यहाँ ५ जना कर्मचारी मात्रै कार्यरत छन् । यद्यपि हल पुनः सुचारु भएपछि आवश्यक जनशक्तिलाई रोजगारी दिने उनले बताए । साथै हलमा काम गर्नेे प्रायः जसोले वैकल्पिक पेसामा लागेकोसमेत दाहालले बताए ।
गत वर्षको पुसदेखि भत्काउन सुरु गरिएको उक्त हल वैशाखमा सकिएको हो । कोरोना संक्रमणको समयमा पनि भवन भत्काउने काम भने नरोएिको कम्पेक्स सञ्चालक बताउँछन् । १ हजार सिट क्षमताको उक्त हलमा घट्ने तथा नाम परिवर्तन भई नयाँ स्वरूपमा आउने भएको छ ।
पहिलाकोभन्दा सिट क्षमता घटाएर ६०० मात्रै सिट राखिने भएको छ । त्यस्तै हलबाट कम्प्लेक्समा रूपान्तरण हुने भएको छ । क्यापिटल नेपालसँग कुरा गर्दै दाहालले भने, ‘अब १०००/१५०० सिट क्षमताका हलको अर्थ छैन, घर–घरमा डिसहोम, टिभी, इन्टरनेटले गर्दा हलको महत्व घट्न थालेको छ त्यसैले २/ २ सय सिट क्षमताका ३ वटा हल भए पुग्छ भन्ने लागेको हो ।’
पाँचतारे होटल सञ्चालन गर्न लागेको उक्त कम्प्लेक्सले सबै सेवा सुविधा सुलभ मूल्यमा उपलब्ध गराउने जनाएको छ । ‘पाँचतारे होटल भए पनि हामी सस्तो–सुलभ रूपमा सेवा दिन्छौं धेरै महँगो हुँदैन । एयपोर्ट, पशुपतिलगायत धार्मिक र पर्यटकीय क्षेत्र नजिकै भएकाले होटल तथा व्यवसाय राम्रो हुन्छ भन्ने लागेको छ,’ दाहालले भने ।