×

क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौँ उडान गर्ने 

images

काठमाडौं । हङकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङकङ–काठमाडौँ–हङकङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख)  देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र स्लट मात्रै मिलाउन बाँकी रहेको छ ।

एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ ।

प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुंगो लागिनसकेको प्रवक्ता निरौलाले बताए । उनले भने, 'क्योथे प्यासिफिक एयरवेजले अक्टोबर १ देखि नियमित उडान गर्ने भनेको हो तर, स्लट मिलिसकेको छैन । एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, हामी (प्राधिकरण) ले राति ८ बजेपछिको समय दिने भनेका छौँ, एयरवेजले सहमति जनाइसकेको छैन ।'

क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङकङ–काठमाडौँ–हङकङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हङकङको ड्र्यागन एयरलाइन्सअन्तर्गतकै एयरलाइन्स हो । काेभिड–१९ महामारीपूर्व ड्र्यागन एयरलाइन्सले हङकङ–काठमाडौँ गन्तव्यमा नियमति उडान भर्दै आएको थियो ।

अहिले काठमाडौं–हङकङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ  । नेपालीको बाहुल्यता रहेको हङकङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौँबाट हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पनि जान सकिन्छ ।

हाल क्याथेले हङकङ–काठमाडौँमा चार्टर्ड उडान भर्दै आएको छ । तर, अब भने क्याथेले एयरबस ‘३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लोपटक गत असार १७ गते थाइल्यान्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलंकन एयरलाइन्सले उडान भर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा २७ एयरलाइन्स

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई नेपालीसहित हाल २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यीमध्ये नेपालसहित २१ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सीधा हवाई उडान भर्दैआएका छन् । 

आगामी असोज १५ देखि क्याथे प्यासिफिकले पनि सीधा उडान भर्ने भएपछि अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको संख्या २७ पुग्नेछ । त्रिभुवन विमानस्थलमा कोभिड–१९ महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान भर्दै आएका थिए ।

कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेका छन् । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । नेपालले हालसम्म ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ ।

पछिल्लो पटक नेपालले सन् २०१९ मा अस्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो । रासस

शनिबार २१ साउन २०७९ ०७:०० PM मा प्रकाशित

प्रतिक्रिया