सोमबार, जेठ ३१ २०७८ १२:३२ PM

×

धमाधम सेयरबाट आम्दानी गर्दै वाणिज्य तथा विकास बैंक 

images

काठमाडौं । वाणिज्य तथा विकास बैंकहरूले आफूसँग भएको संस्थापक सेयर धमाधम बेच्न सुरु गरेका छन् । राष्ट्र बैंकले २०७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थासँग भएको लघुवित्तको सेयर बेच्न अनिवार्य व्यवस्था गरेपछि उनीहरू सेयर बेच्न प्रोत्साहित भएका हुन् । 

एकातिर बैंक तथा वित्तीय संस्थालाई नाफा कमाउनुपर्ने दबाब सिर्जना भएको र अर्कोतिर केन्द्रीय बैंकले सेयर बेच्न नीतिगत व्यवस्था गरेपछि त्यसको ‘बेनिफिट’ बैंकहरूले लिन थालेका हुन् ।

केही दिनअघि मात्रै आफूसँग भएको सेयर बेच्न अनुमति माग्दै केही बैंकले केन्द्रीय बैंकसमक्ष निवेदन दिएको बुझेको छ । ‘केही बैंकले सेयर बेच्न पाउँ भन्दै केन्द्रीय बैंकमा अनुमति मागेका छन,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘नियामकले नै सेयर बेच्न बाध्यकारी नीति अख्तियार गरेकाले बैंकहरूले धमाधम आवेदन दिन थालेका हुन् ।’ 

लक्षमी बैंक, सिद्धार्थ बैंक, एनसीसी बैंकलगायत सेयर बेच्न अनुमति माग्न थालेका हुन् । अहिले बैंकसँग भएका अधिकांश सेयरकाे मूल्य बढी छ  । यही बेला सेयर बेच्न पाइयाे भने बढी नाफा लिन सकिन्छ भन्ने बैंककाे उद्धेश्य छ । तर, कतिपय बैंकले राष्ट्रबैंकबाट अनुमति लिएर राख्ने र जुन बेला बढी मूल्य हुन्छ त्यही बेच्ने दाउमा बैंकहरू छन् । 

बैंकहरूले आफूसँग भएको सेयर बेचेर अन्तिम त्रैमासको वित्तीय विवरण बलियो बनाउन लागेको देखिन्छ । 

सबै वाणिज्य तथा विकास बैंकले आफूसँग भएको सेयर गणना गरेर बेच्नका लागि सञ्चालक समितिबाट स्वीकृत गरेर केन्द्रीय बैंकमा पठाउने तयारी गरेका छन् ।  

२७ वटा वाणिज्य बैंकमध्ये धेरैसँग लघुवित्तको ठूलो परिमाणमा सेयर भएकाले त्यसलाई बेच्न बैंकहरू जुटेका हुन् । कतिपय बैंक केन्द्रीय बैंकको अनुमतिको पर्खाइमा छन् भने कतिपय बैंकहरू सञ्चालक समितिबाट पास गरिसकेका छन् । 

आइतबार​ २३ जेठ २०७८ ०९:२३ AM मा प्रकाशित

प्रतिक्रिया