काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बोर्ड बैठक बसाउनै सकस भएको छ । निगमको कार्यकारी अध्यक्ष भएर आएको तीन महिना भइसक्दासमेत अहिलेसम्म दुइटा मात्र बोर्ड बैठक बसेको छ ।
त्यो बाहेक उनले बोर्ड बैठक बसाउन सकेका छैनन् । आफूअनुकूल निर्णय गराउन सहज होस् भन्ने उद्धेश्यका साथ सञ्चालक समितिलाई हटाउने तयारीमा लागेका अध्यक्ष अधिकारीले पछिल्लो दुईपटक बोलाएको बैंठक स्थगित हुँदै आएको छ ।
बोर्ड बैठक बस्न नसकेकै कारण धेरै कामहरू रोकिएका छन् । त्यति मात्र हैन, अति संवेदनशील मानिएको न्यारोबडी जहाजको इन्जिन मर्मत सम्भारको निर्णयसमेत हुन नसक्दा ९ दिनदेखि कतारमै थन्किएको छ ।
नाइन एन एकेडब्लू कलसाइन भएको एयरबस ३२० जहाजको बायाँ इन्जिनमा समस्या देखिएको छ । बोर्ड बैठक नबस्दा इन्जिनमा समस्या देखिएसँगै जहाज मर्मत गरी नेपाल ल्याउने विषय पनि अन्योलमा परेको छ । अब जहाजको इन्जिन नै फेर्नुपर्ने छ । इन्जिन निर्माता कम्पनीले अहिलेको इन्जिन झिकेर नै मर्मत गर्नुपर्ने हुँदा अर्को इन्जिन प्रयोग गर्न सुझाव दिएको छ।
पुस १३ गते मंगलबार नेपालबाट यात्रु लिएर कतार पुगेको नेपाल एयरलाइन्सको ३२० जहाजको इन्जिन बिग्रिँदा कतारको दोहामै ग्राउन्डेड भएको हो । बिग्रिएको जहाजको इन्जिन मर्मतका लागि निगम सञ्चालक बोर्डबाट स्वीकृत हुनुपर्छ ।
इन्जिन मर्मतसहित २५ वटा विषयमा छलफलका लागि बिहीबार ४ बजेका लागि बोलाइएको सञ्चालक समितिको बैठक पनि अन्तिम समयमा स्थगित गरिएको छ । बोर्ड सदस्य किशोर प्रधान विराटनगरमा रहेको र बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि बैठक स्थगित भएको निगमका एक अधिकारीले जानकारी दिए ।
त्यति मात्र हाेइन बिहीबारको बैठक प्रधान नआए पनि सञ्चालन गर्ने तयारी गरिरहेका बेला सञ्चालक समितिका सदस्यहरू फुरग्येल्जे शेर्पा, ईश्वरी पौडेल र डिमप्रकाश पौडेलले सुरक्षाको कारण देखाउदै बैठकमा आउन नसक्ने जानकारी गराएका थिए ।
यस अघि पुस १९ गते सोमबार साढे ४ बजे बोलाइएको थियो । तर, त्यो बैठक पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । पटकपटक बोलाइएको बैठक स्थगित भएपछि कार्यकारी अध्यक्ष अधिकारीको कार्यक्षमता माथिनै प्रश्न उठ्न थालेको छ ।
यता कार्यकारी अध्यक्ष अधिकारीले भने बिहीबारको बैठक आफूले नबोलाएको जानकारी दिए । ‘मैले बैठक बोलाएको छैन, डिमप्रकाशले बोलाएको बोलाएको भए मलाई थाहा छैन' अध्यक्ष अधिकारीले क्यापिटलसँग भने ।
बैंठक बस्न नसके पनि पर्यटन मन्त्रालयबाट सञ्चालक समितिको रूपमा गएका होम लुईंटेललाई स्वागत गरिएको थियो । निगम सञ्चालक समितिमा ७ जना रहेका छन् । जसमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लुईंटेल, अर्थ मन्त्रालयका सहसचिव महेश आर्चाय छन् ।