काठमाडौं । सिभिल बचत तथा ऋण सहकारीको निक्षेपकर्ताहरुको करिब ४६ करोड रुपैयाँ ठगीको आरोपमा सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीको पक्राउमा परेका व्यवसायी इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा पनि तानिने भएका छन् ।
यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङको नाममा स्रोत नखुलेको करोडौं रुपैयाँ रहेको भन्दै बैंक तथा वित्तीय संस्थामा रहेको उनको खाता रोक्का राखेको थियो ।
धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएको भन्दै विभागले २०७७ चैतमा बैंक खाता रोक्का राखेको थियो । त्यतिबेला विभागले ६० करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत नभेटिएको जनाएको थियो ।
त्यतिबेला सत्तामा नेकपा एमाले रहेको र एमालेले आफ्ना कार्यकर्ताविरुद्ध कारबाही नगर्ने नीति लिएपछि तत्कालै पक्राउ नगरी बैंक खाता रोक्का राखेर अनुसन्धान अघि बढाइएको थियो । त्यसयता तामाङमाथि सहकारीका निक्षेपकर्ताहरुको रकम फिर्ता नदिएको भनेर सर्वसाधारण आक्रोशित हुँदै विभिन्न निकायमा उजुरी बोक्दै पुग्ने गरेका थिए ।
तामाङ एमालेका तर्फबाट संविधानसभामा सभासद भएका थिए । तामाङ सिभिल बैंकका पनि अध्यक्ष हुन् । सिभिल सहकारी र सिभिल गु्रपबाट उदाएका तामाङलाई त्यही सहकारीले सिध्याउने देखिन्छ ।
जग्गा तथा आवास विकास संघको पूर्वअध्यक्ष तामाङले सिभिल सहकारीका निक्षेपकर्ताको पैसा लिएर आफ्नो व्यावसायिक साम्राज्य खडा गरे पनि समयमै निक्षेपकर्ताको रकम भुक्तानी नगर्दा प्रहरी हिरासतमा पुग्नु परेको मात्र छैन सम्पत्ति शुद्धीकरणको फन्दामा पर्ने पनि निश्चतजस्तै छ ।
यसअघि विभागको अनुसन्धानमा सहकारीको ९० प्रतिशतभन्दा धेरै रकम नियमविपरीत तामाङले आफ्ना विभिन्न कम्पनीका नाममा प्रयोग गरेको पाइएको थियो । तामाङको सिभिल होम्स, सिभिल होटल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, कोत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत विभिन्न २४ कम्पनीमा लगानी रहेको विभागको अनुसन्धानमा भेटिएको थियो ।
विभागको अध्ययनमा सिभिल बैंकबाहेक अरू सबै कम्पनी घाटामा देखाएर करसमेत नतिरिएको पाइएको थियो । तामाङले कर नतिरे पनि सम्पत्ति भने बढिरहेको भेटिएपछि राजस्व कार्यालयबाटसमेत छुट्टै छानबिन भइरहेको थियो ।
सीआईबीका अनुसार सबै क्षेत्रबाट तामाङका बारेमा भइरहेका अध्ययनलाई नजिकबाट हेरिरहेको र अवस्था जटिल बन्दै गएपछि पक्राउ गरिएको हो । तामाङले यसअघि मुद्दा सल्टाउन नेपाल राष्ट्र बैंकको नियमविपरीत गत साउनमा श्रीमतीको नाममा रहेको करिब १० करोड रुपैयाँबराबरको सिभिल बैंकको सेयर बिक्री गरेका थिए । श्रीमान् बैंकको अध्यक्ष भएका बेला एकाघर परिवारको सेयर बिक्री गर्न पाइँदैन । तामाङकी श्रीमती २०७४ सम्म सरकारी कर्मचारी पनि थिइन् ।
सरकारीका बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि तामाङले २०७६ जेठमा सिभिल सहकारीलाई सहयोग गर्न सार्वजनिक आह्वान नै गरेका थिए । सिभिल समूहको स्वामित्वमा रहेको सिभिल सहकारीको ऋण विवादमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा पनि चलिरहेको छ ।
सहकारीले आफ्नै हाउजिङ कम्पनीलाई ८० प्रतिशतभन्दा बढी ऋण गैरकानुनी रुपमा प्रवाह गरेको भन्दै बचतकर्ता र सेयर सदस्यहरु अदालतको शरणमा पुगेका थिए । सिभिल सरकारीले राष्ट्रिय सहकारी बैंकबाट लिएको ३० करोड रुपैयाँ पनि लामो समयदेखि नतिरेको बताइएको छ ।
यो पनि पढ्नुस्
४६ करोड रुपैयाँ ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ