काठमाडौं । सिभिल सहकारीका निक्षेपकर्ताको ४० करोड रुपैयाँ ठगेको आरोपमा पक्राउ परेका पूर्वसांसद इच्छाराज तामाङको सिभिल बैंकको अध्यक्ष पद के हुन्छ भन्ने सर्वत्र चर्चा छ ।
उसले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ताको ४० करोड रुपैयाँ ठगी गरेको भन्दै सीआईबीले पक्राउ गरेको थियो । उनी पक्राउ परे पनि उनी सिभिल बैंकका अध्यक्ष हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार उनीमाथि लागेको आरोप पुष्टि भएपश्चात अध्यक्ष पद गुम्ने र आरोप लाग्दैमा दोषी ठहर हुँदैन । तर, उनले नैतिकताका आधारमा बैंकको अध्यक्ष पदबाट राजीनामा दिँदा उपयुक्त हुने केन्द्रीय बैंकको बुझाइ छ ।
‘ठगी जस्तो गम्भीर आरोपमा तामाङ पक्राउ परिसकेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यही भएर तामाङमाथि नैतिक प्रश्न उठेको छ । त्यही भएर राजीनामा दिएर प्रहरीलाई अनुसन्धानमा सहयोग पुर्याउँदा राम्रो हुन्छ ।’ तामाङ अनुसन्धानको धेरामा पर्ने वित्तिकै उनको अध्यक्ष पद भने नजाने देखिन्छ ।
उनका कारणले बैंकमाथि पनि कुनै गडबढी छ की भन्ने शंका हुन थालेको छ । तर, बैंकमा कुनै पनि समस्या नभएको केन्द्रीय बैंकले जनाएको छ । सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङले १३७ जना निक्षेपकर्ताको ७० करोड ८७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
पक्राउ पर्ने अन्य व्यक्तिमा सिभिल सहकारीको सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन छन् ।
यस्तै जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ पनि पक्राउ परेका छन् ।
जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह, पूर्वलेखा समिति सदस्य हरिहर लामिछानेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका निक्षेपकर्ताले आफूले जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि झिक्न पाएका थिएनन् । रकम नै फिर्ता नपाएपछि उनीहरुले उजुरी दिएका थिए ।
प्रहरीले अन्य निक्षेपकर्ता तथा सर्वसाधारणहरुले उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनबमोजिम आवश्यक थप कारवाहीको लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।
आकर्षक ब्याज दिने प्रलोभनमा पारेर संस्थाले निक्षेपकर्ताबाट रकम उठाएको थियो । बजारमा चलेको भन्दा बढी ब्याज दिने भएपछि धेरै व्यक्तिले लाखौं रुपैयाँ संस्थामा राखेका थिए ।
त्यसमाथि १५ लाख रुपैयाँसम्म राखेमा अपार्टमेन्टलगायत पाउने प्रलोभनमा पारिएको एक पीडितले बताए । ‘त्यस्तो रकम ३ वर्षसम्म चलाउन पाइँदैनथ्यो,’ उनले भने, ‘दुःख गरी कमाएको रकम अहिले पाउन नसकेर सास्ती खेप्नुपरेको छ ।’
निक्षेपकर्ताको रकम हिनामिना भएपछि पीडितहरुले संघर्ष समिति गठन गरेर निरन्तर आन्दोलन तथा सम्बन्धित निकायहरुमा उजुरी गरिरहेका छन् । तर, पनि उनीहरुको समस्या समाधान हुन सकेको छैन ।
अर्का एक पीडितका अनुसार निक्षेपकर्ताहरुको भीड लागेपछि संस्थाले १०र१५ हजार गरेर रकम फिर्ता गर्न थालेको थियो । ‘एउटै व्यक्तिले करोडसम्म राखेका छन्, केही हजार रुपैयाँ किस्तामा पाएर कहिले त्यत्रो रकम फिर्ता पाउने,’ उनले भने ।
उनका अनुसार संस्थामा अवकाशप्राप्त कर्मचारी, बुढाबुढी, बिरामीलगायतले रकम जम्मा गरेका थिए । ‘कति जना बचतकर्ता ६५ देखि ९५ वर्षसम्मका छन् । कति जना बचतकर्ता बिरामी भएको बेला अपरेसन गर्न र औषधि किन्न नपाएर मरिसके,’ ती पीडितले भने ।
ओखलढुंगामा जन्मिएका तामाङ नेकपा एमालेका पूर्वसभासदसमेत हुन् । रियलस्टेट कारोबारीका रुपमा परिचित तामाङको बैंक, सहकारी, मल, अपार्टमेन्ट लगायतमा लगानी छ ।