काठमाडौं । सरकारलाई नै अप्ठ्यारोमा पार्ने गरी नेपाल राष्ट्र बैंकले नीति अङ्गीकार गरेपछि अर्थमन्त्री जनार्दन शर्मा गभर्नर महाप्रसाद अधिकारीसँग रुष्ट बनेका छन् । गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई दिग्भ्रमित बनाएर मौद्रिक नीति जारी गर्दा त्यसको असर समग्र अर्थतन्त्रमै पर्ने देखिएपछि गभर्नर अधिकारीसँग अर्थमन्त्री असन्तुष्ट बनेका हुन् ।
अधिकारीले जारी गरेको मौद्रिक नीतिबाट बजारमा एकाएक लगानीयोग्य रकम अभाव हुने अवस्था आइसकेको छ भने ब्याजदर बढ्न थालेको छ । यस्तै सेयर बजारका लगानीकर्तालाई गम्भीर असर परेको छ, ब्याजदर बढ्ने र त्यसले समग्र अर्थतन्त्रलाई नै नकारात्मक दिशातिर लैजाने भएपछि मन्त्रालय र केन्द्रीय बैंकबीच दूरी बढ्न थालेको अर्थका अधिकारीहरु बताउँछन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट मानिएका अधिकारीलाई पूर्वअर्थमन्त्री डा. युबराज खतिवडाले केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गरेका थिए । खतिवडा अर्थ मन्त्रालयबाट बाहिरिएपछि विष्णुप्रसाद पौडेल अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न आइपुगे ।
ओली सरकार नै ढलेपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्यो र अर्थको जिम्मेबारी शर्माले सम्हालिरहेका छन् । उनी अर्थमा आएदेखि नै केन्द्रीय बैंकले अप्रत्यक्ष रुपमा असहयोग गर्दै आएको आरोप लाग्न थालेको छ ।
गभर्नर अधिकारी आफै ब्याजदर बढोस भन्ने चाहन्थे । अहिले सस्तो दरमा बैंकले कर्जा प्रवाह गरेको अधिकारीलाई मन परेको थिएन । त्यसैगरी, उनी सेयर बजार प्रति पनि अनुदार मानिँदै आएका छन् ।
तत्कालीन अर्थमन्त्री पौडेलले सेयर बजारलाई प्रतिकूल प्रभाव पार्ने गरी कुनै पनि नीति नल्याउन अर्थमन्त्री अधिकारीलाई दबाब दिएका थिए । त्यही भएर उनले बजारलाई असर गर्ने खालको कुनै पनि नीति ल्याएनन् ।
मार्जिन कर्जाको ७० प्रतिशतको सीमालाई ६० प्रतिशतमा झार्ने हल्ला चलेपछि बजार एकैदिन १३० अंक झरेको थियो । त्यसपछि तत्कालीन अर्थमन्त्री पौडेलले अहिले मार्जिन कर्जाको सीमामा कुनै पनि हेरफेर नगर्न भनेपछि बजार केही सम्हालिएको थियो ।
त्यसबाहेक अधिकारीले अन्य विभिन्न उपकरण प्रयोग गरेर बजारलाई नियन्त्रण गर्न चाहन्थे । तर, त्यसमा तत्कालीन अर्थमन्त्री विपक्षमा उभिएका थिए । त्यही भएर बजारलाई असर पुग्ने कुनै पनि नीति आएन ।
‘तर, अर्थमन्त्री शर्मा आएपछि एकपछि अर्को नीति जारी गरिएको छ । जसले सेयर बजारलाई प्रत्यक्ष प्रभाव र ठूला लगानीकर्तालाई सेयर बजारबाट पलायन गर्न खोजेको जस्तो देखिएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘ठूला लगानीकर्ता बजारका सपोर्ट हुन्, उनीहरु बिना साना लगानीकर्ताको आत्मविश्वास बढ्दैन । तैपनि गर्भनर अधिकारी सानालाई संरक्षण गर्ने नाममा ठूलालाई विस्तापित गर्न अग्रसर देखिनु भएको छ । जसको असर बजारमा निरन्तर परिरहेको छ ।’
शर्मा अर्थमन्त्री भएर आएपछि केन्द्रीय बैंकले मौद्रिक नीति जारी गरेको हो । त्यो मौद्रिक नीतिमा उल्लेख धेरै बुँदाले बजारमा असर पुगिरहेको छ । मौद्रिक नीतिले लगानीयोग्य पुँजीको अभाव गराउनुका साथै सेयर कर्जा र ऋण लगानीमा कडाइ गरिएको छ ।
त्यसो हुने वित्तिकै ऋणको ब्याजदर बढ्छ र त्यसको असर अर्थतन्त्रमा पर्ने अर्थ मन्त्रालयको बुझाइ छ । गभर्नर अधिकारीको कार्यशैली स्वयम् केन्द्रीय बैंकका कतिपय कार्यकारी निर्देशक र निर्देशकहरुलाई मन परेको छैन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को दबाबमा केन्द्रीय बैंकले कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) लागू गरेको छ । त्यसले बैंकमा एकाएक लगानीयोग्य रकम अभाव बनाउँदै लगेको छ । बैंकहरुले आगामी असोजबाट एकदेखि डेढ प्रतिशतसम्म ब्याज बढाउने तयारी गरेका छन् ।
कतिपय बैंकले अहिले नै ब्याजदर बढाइसकेका छन् । अन्तर बैंक कारोबारको ब्याजदर बढीसकेको छ । तरलता अभाव बढेपछि राष्ट्र बैंकले गत साता २० अर्ब रुपैयाँ रिपो जारी गर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट ६४ अर्ब ६० करोड रुपैयाँको माग आएको थियो ।
केही वर्षदेखि ब्याजदर स्थिर भएका कारण नेपालको अर्थतन्त्र चलाएमान भएको थियो । तर, बैंकहरुले ब्याजदर बढाउने होडबाजी गर्न थालेको अवस्थामा त्यसको असर अर्थतन्त्रमा पर्ने विश्लेषकहरु बताउँछन् ।
‘अहिले सेयर बजार बढ्नु, नयाँ नयाँ उद्योगको स्थापना हुनु, जग्गाको कारोबार उत्साहजनक हुनु, उद्योगीले आफ्नो क्षमता विस्तार गर्नुको पछाडि ऋणको ब्याजदर सस्तो भएर हो’ अर्थशास्त्री पोषराज पाण्डेले भने, ‘यदि ब्याजर बढ्ने अवस्था आयो भने अर्थतन्त्रमा फेरि सुस्तता आउन सक्छ । त्यसतर्फ केन्द्रीय बैंक र अर्थ मन्त्रालय गम्भीर बन्नुपर्छ ।’