काठमाडौं । चालू आर्थिक वर्ष (आव) राष्ट्रिय प्रणालीमा सबैभन्दा बढी बिजुली थप भएको छ । साउनयता सार्वजनिक तथा निजी साझेदारी बनेका साना र ठूला विभिन्न दुई दर्जन आयोजना सम्पन्न भई प्रणालीमा ७१७ मेगावाट बिजुली थप भएको हो ।
बिजुली थपको हिसाबले चालू आव ऐतिहासिक रेकर्ड कायम भएको छ । यो वर्ष सोलार र चिनी उद्योगबाट पनि बिजुली उत्पादन भएको छ ।
चालू आवमा सरकारले १६०० मेगावाट उत्पादन थप गरी जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको थियो ।
जसमध्ये निजी क्षेत्रबाट १०५५ मेगावाट थप गर्ने महत्वकांक्षी लक्ष्य सरकारले लिएको थियो । तर, सरकारको सो लक्ष्य पूरा भने हुन सकेन । सरकारले आगामी आवमा ७१५ मेगावाट बिजुली थप गर्ने लक्ष्य लिएको छ ।
सञ्चालनमा आएको देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी आयोजना
राष्ट्रिय गौरवको माथिल्लो तामाकोसीबाट ४५६ मेगावाट बिजुली उत्पादन भएकाले यो वर्ष बिजुली उत्पादनमा ऐतिहासिक रेकर्ड कायम भएको हो ।
माथिल्लो तामाकोसी सञ्चालनमा आएकोमध्ये देशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । चालू आवमा माथिल्लो तामाकोसीका साथै, लिखु–४, न्यादी र सिंगटी, तल्लो मोदी र लिखु खोला–१ जस्ता ठूला आयोजना सम्पन्न भएका छन् ।
विद्युत् प्राधिकरणका अनुसार सिंगटी खोलाबाट २५, रिचेट खोला आयोजनाबाट ५, चन्द्रनिगाहपुर सोलार प्रोजेक्टबाट ४, माइबेनीबाट ९.५, तल्लो मोदीबाट २० र बलेचौतार सोलारबाट ५ मेगावाट बिजुली थप भएको छ ।
यस्तै तल्लो जोगमाइबाट ६.२, लिखु–४ बाट ५२.४, अपर छ्याङ्दी खोलाबाट ४, तल्लो खारेबाट ११, ढल्केबर सोलार प्रोजेक्टबाट १, सापसुप खोलबाट ६.६, लिखुखोला एबाट २४.२, इन्दुशंकर चिनी उद्योगबाट ३, अपर स्याङेखोला २.४, ढल्केबर सोलारबाट ३, लोअर तादी ४.९, काबेली बी–१ बाट ९.९ र अपर हेवाखोलाबाट ८.५ मेगावाट बिजुली प्रणालीमा थपिएको छ ।
विशाल ग्रुप र संघई ग्रुपको लगानीमा निर्माण भएको लिखु ४ आयोजना
सिउरी खोलाबाट ६.४, न्यादी खोलाबाट ३०, अपर खिम्तीबाट १२ र अपर खिम्ती २ बाट ७ मेगावाट बिजुली थप भएको छ ।
विद्युत् प्राधिकरणले सहायक कम्पनीहरुबाट निर्माण गरिरहेको ५७ मेगावाटका माथिल्लो तथा तल्लो सान्जेन र १११ मेगावाटको रसुवागढीबाट यो आर्थिक वर्षभित्र बिजुली उत्पादनको लक्ष्य तय गरेकामा पछि धकेलिएको छ ।
कोराना महामारीले अवरुद्ध अधिकांश आयोजनाको काम अन्तिम चरणमा पुगेकाले प्रणालीमा जोडिने क्रममा रहेका छन् । यी सबै आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न हुने अनुमान सरकारले गरेको छ ।
यस्तै निजी लगानीमा ८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, २५ मेगावाटको दोर्दीखोला ए, २७ मेगावाटको माथिल्लो दोर्दीखोला र ५४ मेगावाटको दोर्दीखोला आयोजना आगामी वर्ष सम्पन्न हुने अनुमान गरिएको छ ।
बिजुलीको पहुँच विस्तार भई ९४ प्रतिशत जनसंख्याले राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका छन् ।
हिमालय ऊर्जा विकास कम्पनी बनाएको उपल्लो खिम्ती आयोजना
जडित क्षमता २१८५ मेगावाट पुग्यो
चालू आवमा १६०० मेगावाट थप गरेर जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको थियो । प्राधिकरणका अनुसार जडित क्षमता बढेर २१८५ मेगावाट पुगेको छ । आगामी आवमा लिएको लक्ष्य पूरा भएमा जडित क्षमता ३ हजार मेगावाटनजिक पुग्ने छ ।
प्राधिकरणले दिएको जानकारीअनुसार निजी क्षेत्रबाट सबैभन्दा बढी १ हजार ५३ मेगावाट बिजुली उत्पादन भएको छ । यस्तै प्राधिकरणका आयोजनाबाट ६५३ र सहायक कम्पनीहरुबाट ४७८ मेगावाट बिजुली उत्पादन भएको प्राधिकरणले जनाएको छ ।
वर्षामा बढी भएको ३६४ मेगावाट बिजुली प्राधिकरणले भारतमा निर्यात गरिरहेको छ । हाल बिजुलीको माग औसत १६०० मेगावाट रहेको छ । प्राधिकरणले यो वर्ष २० अर्ब रुपैयाँ बढीको बिजुली भारतमा निर्यात गर्ने भएको छ ।
यो वर्ष सम्पन्न भएका आयोजना