दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध जाने पहुँच सुरुङ पूरा भएको छ । काम शुरु गरेको ४ महिनामा बाँध जाने पहुँच सुरुङको काम आज पूरा भएको हो ।
सडक पुर्याउन नसकिने भएकाले आयोजनाले पहुँच सुरुङ खनेको आयोजना प्रमुख अच्युत रेग्मीले जानकारी दिए। उनका अनुसार ३१४ मिटर लामो सुरुङ खन्ने काम सकिएको छ ।
आयोजनाको प्याकेज १ अन्तर्गतको निर्माण कम्पनीले गर्नुपर्ने काम सम्झौतामा ढिलाइ भएपछि प्याकेज २ अन्तर्गतको सिनो हाइड्रो कर्पोरेशनले उक्त सुरुङ खन्ने काम पूरा गरेको हो ।
“मुख्य बाँध निर्माणका लागि पुनः बोलपत्र आह्वान गर्दा सम्झौता ढिलाइ भयो, यसले काम प्रभावित हुने भएकाले प्याकेज २ अन्तर्गतको निर्माण कम्पनीलाई यसको काम गरायौँ”, घिमिरेले भने, “सुरुङ सकिएपछि बाँधको काम शुरु गर्न पनि सहज हुने भएको छ ।” पहुँच सुरुङ सम्पन्न भएपछि पानी पठाउने मुख्य सुरुङ जान पनि सहज हुने भएको छ ।
आयोजनाको काम निषेधाज्ञाको अवधिमा पनि सञ्चालन भइरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर आयोजनाको कामलाई गति दिइएको आयोजनाले जनाएको छ ।
आयोजनाको तीन वटै प्याकेजका कामलाई निरन्तरता दिइएको छ । केही समयअगाडि मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माणलगायतका पहिलो प्याकेजको काम शुरु गरिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो ।
घिमिरेका अनुसार भियतनामी कम्पनी र नेपाली कम्पनीका प्रतिनिधिहरु फिल्डमा खटिएका छन् । दुवै कम्पनीका गरी २५ जना पूर्वतयारीको काममा जुटेको घिमिरेले बताए । आयोजनाले ती कम्पनीसँग पहिलो प्याकेजका लागि १६ अर्ब ६२ करोड रुपैयाँमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आयोजनाको प्याकेज १ (हेडवक्र्स० निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भएपश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो ।
कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रूपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैंक (एडीबी) को खरिद निर्देशिकाअनुरूप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।
प्याकेज २ अन्तर्गतको विद्युत्गृह निर्माणका लागि पनि काम भइरहेको छ । त्यसका लागि कर्मचारी र श्रमिक गरी ३७० परिचालित छन् । प्याकेज २ को कामका लागि २५० श्रमिक क्याम्पभित्रै छन् ।
प्याकेज २ अन्तर्गत सात भागमा एकैचोटि काम भइरहेको छ । यो प्याकेजअन्तर्गत केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युतगृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्याङ्कतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य भइरहेको छ ।
प्याकेज ३ अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ३० जना श्रमिक परिचालित छन् । प्रसारण लाइन निर्माणका लागि टावर फाउण्डेशनको काम जारी छ । तेइस वटा टावर निर्माणका लागि काम सम्पन्न भइसकेको र १० ठाउँमा काम शुरु भइरहेको छ ।
कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस