काठमाडौं । आर्थिक अनियमिततामा मुछिएका सुनील पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउन विभागीय मन्त्रीदेखि बालुवाटारसम्म सकारात्मक देखिएका छन् ।
अदालतले नयाँ एमडी नियुक्तिका लागि सरकारलाई बाटो खोलिदिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीदेखि बालुवाटारसम्म विवादित व्यक्ति पौडेललाई एमडी बनाउने तयारीमा छन् ।
कार्की प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र हुन् । सुनिलले दुवै ठाउँ खुसी बनाएपछि नयाँ एमडीका रुपमा पौडेललाई ल्याउन लागिएको मन्त्रालय स्रोतको दाबी छ । ‘मन्त्रीको इच्छा नै पौडेल ल्याउने छ । त्यसमा बालुवाटार पनि सकारात्मक देखिएपछि उनैले नियुक्ति पाउने पक्कापक्की जस्तै छ’, स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘टेलिकम क्षेत्रमा काम गरेको अनुभव शून्य छ । त्यस्तो व्यक्ति एमडी भएर आए टेलिकमको भविष्य नै संकटमा पर्न सक्छ ।'
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र सोही प्रकृतिका दूरसञ्चार सेवाप्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायमा तीन वर्ष व्यवस्थापकीय पदमा कार्यअनुभवसहित १२ वर्षको अनुभव बनाइएको छ।
तर, सुनिलको अनुभवको मापदण्ड भने पुग्दैन ।
यो खेल बालुवाटरबाट भएको मन्त्रालय उच्च स्रोत बताउँछ। बालुवाटरबाट सुरू भएको खेलमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री कार्कीको सहयोग थियो । उनले मन्त्रालयका सचिव तथा टेलिकमका बोर्ड अध्यक्ष अर्याललाई सोहीअनुसार काम गर्न निर्देशन दिएका थिए ।
अहिले आवेदन दिएका व्यक्तिहरूको बायोडाटा हेर्दा त्यो संशोधन पौडेलका लागि नै गरिएको भन्ने प्रष्ट हुने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
प्रबन्ध निर्देशकका लागि मागिएको आवेदनमा ९ जनाले आवेदन दिएका छन् ।
अहिलेको निर्देशिका संशोधन पौडेललाई एमडी बनाउनका लागि भएको टेलिकमका अधिकारीहरू बताउँछन् । त्यहाँका योग्यलाई फ्याँकेर सुनिल भित्र्याउने खेल चलिरहेको छ ।
संशोधनको एउटा पक्ष ठ्याक्कै पौडेलका लागि गरिएको उनीहरूको दाबी पनि मिल्छ। जस्तो, सरकारी व्यवस्थापनमा ५ वर्षको अनुभव हुनुपर्नेलाई ३ वर्ष बनाइनु भनेकाे पौडेललाई ल्याउनुसँग जोडिएको टेलिकमका एक उच्च अधिकारी बताउँछन् ।
पौडेलको उच्च सरकारी व्यवस्थापनमा काम गरेको साउनमा ३ वर्ष पुगेको हो । त्यहाँ आवेदन दिएका अधिकांश सरकारी उच्च व्यवस्थापनमा ५ वर्षको अनुभव हुने धेरै छन् । त्यही भएर १५ वर्षको अनुभवलाई १२ वर्षमा झारिएको उनको तर्क छ ।
पौडेलले यसरी गरेको थिए आर्थिक अनियमितता
महालेखा परीक्षकको कार्यलायले गरेको अडिट रिपोर्टमा पौडेलले आर्थिक अनियमितता गरेको शंका गरेको छ । पौडेलले राज्यकोष खर्च गरेर बनाएका कतिपय संरचनाहरू प्रयोगमै नआएकाले त्यसमा गरिएको खर्च फजुल भएको बताएको हो । पौडेलले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटासँग सेटिङ गरेर अर्बौंको ठेक्का हात पारेका थिए ।
बालुवाटारको दरिलो साथ
कार्य सम्पादनमा कमजोर कहलिएका पौडेल प्रधानमन्त्रीपत्नी आरजु राणा देउवासँग निकट छन् । यता सञ्चारमन्त्री कार्की र आरजुको पनि कुशल सम्बन्ध छ । त्यही भएर आरजुकै जोडबलमा एमडी बनाउन लागिएको हाे । दुवै जना पौडेलकै पक्षमा देखिएपछि सहजै एमडी हुन लागेको चर्चा मन्त्रालयमा सुरु भएको छ ।