भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप १ लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म २ करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८० हजार २ सय ३२ ले कमी आएको छ । हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सक्रिय संक्रमितको संख्या ६।२१ प्रतिशतले कमी आएको मन्त्रालयको भनाई छ ।
कोभिड–१९ बाट संक्रमितमध्ये २४ घण्टाको अवधिमा थप २ हजार ८ सय ८७ व्यक्तिको मृत्यु भएको छ । योसहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३७ हजार ९ सय ८९ पुगेको छ ।
यसैबीच, दैनिक संक्रमितको संख्याभन्दा निको हुने दर पनि २१ दिनदेखि निरन्तर बढेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार ४९९ व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म दुई करोड ६३ लाख ९० हजार व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । निको हुने दर ९२।७९ प्रतिशत रहेको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
परिषदका अनुसार देशभर ३५ करोड ३७ लाख ८२ हजार नमुना परीक्षण गरिएको छ भने बुधबार एकै दिन २१ लाख ५९ हजार नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार भारतमा हालसम्म २२ करोड १० लाख ४३ हजार डोज खोप लगाइएको छ ।
कोभिड–१९ को पछिल्लो अवस्था
कोरोना भाइरस महामारीका कारण बिहीबार अपराह्नसम्म ३७ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोभिडबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा छ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ ।
दोस्रो स्थानमा रहेको ब्राजिलमा ४ लाख ६७ हजार, भारतमा ३ लाख ३८ हजार, मेक्सिकोमा २ लाख २८ हजार, पेरुमा १ लाख ८४ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २६ हजार, रसियामा १ लाख २२ हजार, फ्रान्समा १ लाख ९ हजार, कोलम्बियामा ८९ हजारको मृत्यु भएको छ ।
विश्वभर १७ करोड २४ लाखभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएकामध्ये १५ करोड ५० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । संक्रमित व्यक्तिमध्ये करिब ९० हजार व्यक्तिको स्वास्थ्य अवस्था जटिल रहेको छ ।
विश्वभर करिब १ अर्ब ९८ करोड डोज खोप लगाइएको छ जसमा चीनमा गरिएको खोप अभियान समेटिएको छैन । सिन्ह्वाका अनुसार चीनमा बुधबारसम्ममा ७० करोडभन्दा बढी डोज खोप लगाइएको छ । रासस–एएनआई