काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरिरहेका ठूला विमानस्थलका सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ।
अख्तियार उच्च स्रोतका अनुसार प्राधिकरणले निर्माण गरिरहेका विभिन्न ठूला विमानस्थल आयोजनामा भ्रष्टाचार भएको उजुरी परेपछि ती आयोजनाका सबै कागजात नियन्त्रणमा लिएर छानबिन अगाडि बढाएको हो।
’अति भ्रष्टाचार हुने निकायमध्ये नागरिक उड्डयन प्राधिकरण पनि पर्छ,’ अख्तियार उच्च स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘उड्डयन प्राधिकरणले निर्माण गरिरहेका ठूला विमानस्थल आयोजनाहरूमा भ्रष्टाचार भएको उजुरी आएपछि तीसम्बन्धी सबै कागजात नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको छ।’
प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणदेखि निर्माण लागतमा समेत अस्वाभाविक वृद्धि देखिएको भन्दै विभिन्न व्यक्तिले अख्तियारमा प्राधिकरणविरुद्ध उजुरी परेको थियो। अख्तियार टोलीले केही दिनअघि प्राधिकरण केन्द्रीय कार्यालय बबरमहल पुगेर विभिन्न विमानस्थलका सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो।
प्राधिकरणले नेपालगन्ज, विराटनगर र गौतमबुद्ध विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि जारी गरेको टेन्डर रद्द गर्दै पुनः टेन्डर आह्वान गरेपछि मिलेमतोको आशंका गर्दै अख्तियारले प्राधिकरणमाथि निगरानी बढाएको हो। अख्तियारले कुन–कुन विमानस्थलका कागजात नियन्त्रणमा लिइएको हो भनेर खुलाएको छैन।
तर, उड्डयन प्राधिकरण स्रोतका अनुसार अख्तियारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन ( डिपिआर) देखि निर्माण सम्पन्न भएका आयोजनाका बिलसमेत नियन्त्रणमा लिएको छ। अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘बुटिक’ बनाउन खर्चिएको रकममा समेत आशंका गरेको छ। महालेखा नियन्त्रकको कार्यालयले समेत बुटिक विमानस्थल निर्माण गर्दा गरेको खर्चको विषयमा प्रश्न उठाएको थियो।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अख्तियारले विभिन्न विषयमा चासो राखेको पुष्टि गरे। ‘दुवै सरकारी निकाय भएकाले विभिन्न समयमा विभिन्न व्यक्तिले उजुरी गरेका आधारमा सोधखोज भइरहन्छ। यो नियमित प्रक्रिया हो। प्राधिकरणमा ठूला परियोजनाहरू सञ्चालन भइरहेकाले चित्त नबुझेका र शंका लागेका आधारमा केही व्यक्तिले अख्तियारमा उजुरी गरेका हुन्छन्,’ निरौलाले भने, ‘अख्तियारले पनि कुनै गल्ती नहोस् भन्ने उद्देश्यले निगरानी वा सोधखोज गरिरहेको हुन्छ। यसलाई हामीले सामान्य लिएका छौं।’
उनका अनुसार परियोजनाहरू गरिरहँदा कुनै त्रुटि नहोस् भन्ने उद्देश्य अख्तियारको भएकाले उजुरीपछि बेलाबेला प्रश्न सोधिने र जवाफ पठाउने गरिएको छ। अख्तियारले मागेका विभिन्न कागजात उपलब्ध गराउनैपर्छ।
प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलसँगै विभिन्न आन्तरिक विमानस्थल स्तरोन्नति पनि गरिरहेको छ। स्तरोन्नतिलगाय काममा प्राधिकरणका कर्मचारीले विभिन्न निर्माण कम्पनीसँगको मिलेमतोमा टेन्डर निकाल्ने गरेको आरोपसमेत लामो समयदेखि लाग्दै आएको छ। कुनै निश्चित कम्पनीसँग मात्र मिल्ने खालका प्रक्रिया (मापदण्ड) राखेर प्राधिकरणले टेन्डर आह्वान गर्ने गरेको स्रोतको दाबी छ।