काठमाडाैं। आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन्।
बैंक खाता विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाव भएको उनकाे भनाइ छ। बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनले बताइन्।
गृहजिल्ला इलाममा श्रीमानकाे दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन्। 'मेरो श्रीमानले मलाई पैसा आवोस भन्नकै लागि त्यो कदम चाल्नु भएको होइन,' उनले भनिन्, 'अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाव दिने म्यासेज र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ।'
उनले भने, 'मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रुपमा आग्रह गरेको छैन। सहयोगी मनबाट सहयोग स्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ।'
उनले आफनो गोपनियता भंग गर्ने बैंक र कर्मचारीलाई काठमाडौंमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन्। सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमइ बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिीन सटहरु पोस्ट भइरहेको छ।
अधिकारीले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको विषयमा जानकार भएको बताए। 'बुधबार (हिजाे) सांसदहरुले उठाउनु भएको विषयमा थोरै जानकार छु। सांसद मोहन बस्नेतले काठमाडौंमा केही समयअघि रोजगारी र नानीहरुको शिक्षामा सहयोग गर्ने आश्वासन दिनुभएको थियो,' उनले भनिन्। सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उनको भनाइ छ।
इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उनले बताइन्। उनका अनुसार केही दिनअघि प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयको प्रतिनिधिको रुपमा आएर आफ्नो मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।
अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग त्यही बेला बैंक खातामा जम्मा भएको रकमबारे सूचना बाहिर गइरहेको जानकारी गराएकी थिइन्। सरकारबाट सहयोग गर्ने आश्वासन पाएपछि आफू सकारात्मक भएको उनको भनाइ छ।
श्रीमान् प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने वित्तिकै काठमाडौं आउने बताइन्। उनले भनिन्, 'उहाँलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु। उहाँलाई शहीद घोषणा गर्न माग पनि गरेकी छु।'