मङ्गलबार, असोज १२ २०७८ ०४:३० PM

×

दूधमा आत्मनिर्भर बनाउने जलजला गाउँपालिकाको योजना, ब्याएका गाईभैँसीलाई पोषण भत्ता वितरण 

images

पर्वत । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

कृत्रिम गर्भाधानबाट गाईभैंसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाछाबाछी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरेको जानकारीदिए ।

“कृत्रिम गर्भाधान गराएका गाईँभैसीबाट जन्मिएका पाडापाडी र बाछाबाछी चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ”, उनले भने, “यसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाछाबाछी पाल्न थालेका छन् ।” 

विशेषगरी जन्मिँदाबित्तिकै भैँसीका पाडापाडी नपाल्ने चलन हटाएर संरक्षण गर्न कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक श्रेष्ठले बताए । गत आर्थिक वर्ष ०७७/०७८ मा ७२ कृषकलाई पाडापाडी र बाछाबाछी हुर्काएवापत पोषण भत्तास्वरुप २ हजार ५०० रुपैयाँका दरले १ लाख ८० हजार रुपैयाँ वितरण गरेको शाखाले जनाएको छ ।

जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाछाबाछी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातको राँगो, साँढे र बोकासमेत वितरण गरेको छ ।

आठ समूहलाई राँगो खरिद गर्न ३० हजार रुपैयाँका दरले अनुदान दिएको छ । २० जना कृषकले गोठ सुधार गर्न २५ हजार रुपैयाँका दरले अनुदान पाएका छन् । १० कृषकलाई घाँस टुक्रा पार्ने च्यापकटर खरिद गर्न २० हजार रुपैयाँका दरले अनुदान वितरण गरेको छ ।

पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन बाख्रा, गाईभैसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनका लागि बहुवर्षे डाले र भुइँघाँसखेती विस्तारका लागि बीउ र बिरुवा वितरण गरेको छ ।

वार्षिक १९ लाख ५२ हजार ३१४ लिटर दूध आवश्यक पर्ने जलजला गाउँपालिका दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा पुगेको छ । वार्षिक २७ लाख ६३ हजार १५० लिटर दूध उत्पादन हुने जलजलाबाट ८ लाख १० हजार ८३६ लिटर दूध निकासी हुन्छ ।

वार्षिक ३ लाख ३५६ किलोग्राम मासु आवश्यक पर्नेमा १ लाख ७१ हजार ५३ किलोग्राम र १० लाख २९ हजार ७९२ गोटा अण्डा आवश्यक पर्नेमा छ लाख ५७ हजार २८० उत्पादन हुने गरेको पशु सेवा शाखाले जनाएको छ । रासस

बुधबार १६ भदौ २०७८ १०:३० AM मा प्रकाशित

प्रतिक्रिया