काठमाडौं । गत आर्थिक वर्ष ०७८/७९ मा एक दर्जन वाणिज्य बैंकले ३५ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । हालसम्म १२ वाणिज्य बैंकले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
१४ वाणिज्य बैंकले भने सार्वजनिक गरेका छैनन् । वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकमध्येमा अधिकांश सूचकमा ग्लोबल आईएमई बैंक अघि देखिएको छ ।
हालसम्म एनआईसी एसिया, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
त्यसैगरी, नबिल बैंकसहित १४ वाणिज्य बैंकले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । वित्तीय विवरण सार्वजनिक गर्ने १२ वाणिज्य बैंकमध्ये ११ को खुदनाफा बढेको छ भने सानिमा बैंकको घटेको छ ।
खुदनाफामा ग्लोबलको अग्रता
वित्तीय विवरण सार्वजनिक गर्ने १२ बैंकमध्ये ग्लोबल आईएमई बैंकले सर्वाधिक ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ । त्यस्तै दोस्रोमा एनआईसी एसिया बैंक रहेको छ । एनआईसीले ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको छ । लक्ष्मी बैंकले सबैभन्दा कम १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेको छ । नेपाल बंगलादेश बैंकलाई आफूमा समाहित गरेकाले गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा गर्नेमा नबिल नै हुने देखिएको छ । नबिलको नाफा झन्डै ६ अर्ब रुपैयाँ नजिक छ ।
वितरण योग्य नाफा कुन बैंकको धेरै ?
खुदनाफाका साथै वितरणयोग्य नाफामा ग्लोबल आईएमई अग्रस्थानमा रहेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य नाफामार्फत सेयरधनीलाई लाभांश दिने गर्छन् । एभरेस्ट बैंकको वितरण योग्य नाफा २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । लक्ष्मी बैंकको वितरण योग्य नाफा सबैभन्दा थोरै १ अर्ब २५ करोड रहेको छ । प्रकाशित वित्तीय विवरणअनुसार लक्ष्मीको नाफा सबैभन्दा कम अर्थात् १ अर्ब ६० करोड रुपैयाँ छ ।
खराब कर्जा कुनको कति ?
सानिमा बैंकको खराब कर्जा सबैभन्दा थोरै छ । सो बैंकको खराब कर्जा ०.३५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा सानिमा बैंकको खराब कर्जा सामान्य बढेको छ । वित्तीय विवरण सार्वजनिक गर्नेहरुमध्ये खराब कर्जा सबैभन्दा बढी सिटिजन्स बैंकको छ । बैंकको खराब कर्जा १.८७ प्रतिशत छ । अघिल्लो वर्ष खराब कर्जा १.६४ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको खराब कर्जा बढेको छ ।
खुद ब्याज आम्दानी कुन बैंकको कति ?
एनआईसी एसिया बैंकले गत वर्ष सबैभन्दा बढी खुद ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकले ११ अर्ब ७७ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । त्यसैगरी प्रभु बैंकले ६ अर्ब १८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । सोही अवधिमा स्ट्याण्र्ड चार्टर्ड बैंकले सबैभन्दा थोरै ब्याज आम्दानी गरेको छ । बैंकले ३ अर्ब ७५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
निक्षेप कुन बैंकको कति ?
निक्षेप संकलनमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । गत वर्ष एनआईसी एसिया बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यसैगरी ग्लोबल आईएमई बैंकले २ खर्ब ६६ अर्ब र स्ट्याण्र्ड चार्टर्ड बैंकले सबैभन्दा कम ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
कर्जा विस्तारमा आक्रामक
कर्जा विस्तारमा ग्लोबलको आईएमई बैंकले अग्रता कायम गरेको छ । गत वर्ष ग्लोबल आईएमई बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । त्यस्तैगरी स्ट्याण्र्ड चार्टर्ड बैंकले सबैभन्दा कम ७९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ ।