काठमाडौं । कतार एयरवेजले ग्लोबल डिस्ट्रिब्युसन सिस्टम (जीडीएस) मा सस्तो फेयरको टिकट हटाएर महँगोमात्र राखेर उडान भर्दै आएको पाइएको छ । जसका कारण नेपालीहरुले सस्तो पाइने टिकटलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ ।
कोरोना भाइरस महामारीको मौका छोपेर कतारले यात्रुहरुलाई महँगो शुल्क भएको सिटको टिकट मात्रै बेच्दै आएको उजुरी नेपाल नागरिक उड्डयन प्राधिकरणमासमेत परेको छ । तर, प्राधिकरणले उक्त एयरलाइन्सलाई कारवाही गर्न नसकेकै कारण उसको मनोमानी बढिरहेको ट्राभल एजेन्सी सञ्चालकहरुको भनाइ छ ।
सरकारले कतारमा नियमित उडान खुला गरे पनि सो एयरलाइन्सले भने टिकट नभएको भन्दै महंगो शुल्क लिने गरेको आरोप लाग्दै आएको छ । यति मात्र हैन, यस अघिनै काटिसकेकाहरुलाई पनि टिकट नदिने र दिनै परे अर्को टिकटसँग साट्न लगाएर उल्टै सर्भिस चार्जबापत २०० अमेरिकी डलरसम्म लिने आरोप कतार एयरवेजमाथि छ । यो गुनासो प्राधिकरणसम्म पुगे पनि उसले अहिलेसम्म कारवाही गर्न सकेको छैन ।
जीडीएस सिस्टममा यस अघि महँगो र सस्तो गरी दुई खालका टिकटहरुको व्यवस्था हुन्थ्यो । तर, अहिले महँगो क्लासको मात्र राखेको छ । पुरानो काटेको टिकटको सिट नभएपछि यात्रुहरुले नयाँ टिकट काट्नुपर्छ । जुन, पुरानो भन्दा महंगो फेयर पर्छ ।
सीमित उडान रहेको र यात्रुको चापका कारण पनि एयरलाइन्सले मनोमानी गरेको प्राधिकरणका अधिकारीहरुको भनाई छ । सरकारले कुनै शर्त नराखी नियमित उडान खुला गरे केहि हदसम्ममा यस्तो मनोमानी कम हुने बताउँछन् ।
अहिले अमेरिकालगायत युरोपियन मुलुकमा जाने नेपाली विद्यार्थीहरुको संख्या धेरै रहेको बताइएको छ । करिब १ लाख भन्दा बढी युरोप, अमेरिका जान खोजिएकोले पनि टिकटको माग ह्वात्तै बढेको र एयरलाइन्सले महंगोमा टिकट दिएको हुन सक्ने प्राधिकरणको भनाई छ ।
हुनत एयरवेजले कोरोना भाइरसको संक्रमणपछि टिकट सार्दा कुनै सर्भिस चार्ज नलिने घोषणा गरेको थियो । तर, अहिले ट्राभल एजेन्सी र एयरलाइन्सको मिलेमतोमा यात्रुहरुबाट सर्भिस चार्ज लिँदै आएको खुलासा भएको हो । यस विषयमा अहिले एयरलाइन्सले ट्राभल एजेन्सीलाई र ट्राभल एजेन्सीले एयरलाइन्सलाई दोष देखाउदै आएका छन् ।
नेपाल एससिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा)का अध्यक्ष अच्यूत गुरागार्इंले एयरलाइन्सले मिति सार्दा सर्भिस चार्ज निःशुल्क दिने भने पनि त्यो घोषणामा मात्र सिमित भएको बताए ।
‘ट्राभल एजेन्सीहरुले एयरलाइन्समा मिति सार्दा सस्तो क्लासमा सिट नदेखाउने, पहिला काटेको टिकटमा सिट नदेखाउने र महंगो क्लासको सिट उपलब्ध गराउदा महँगो भाडा ट्राभल एजेन्सीले तिरेको र एयरलाइन्सले तिराएको छ,’ उनले भने ।
‘यसमा होटल, ट्रेकिङका संस्थाहरुले पनि टिकट सार्दा सर्भिस चार्ज कटाएको हुन सक्छ, अध्यक्ष गुरागाईले भने, त्यसैले यसमा ट्राभल एजेन्सी, नाट्टाका सदस्यहरुलाई मात्र दोष देखाएर एयरलाइन्स पन्छिन हुदैन’ ।
एकाध ट्राभल एजेन्सीले बदमासी गरे पनि त्यसको दोष सबैलाई थुपार्न नहुने उनको भनाइ छ । यस विषयमा कतार एयरवेजको नेपाल स्थित कार्यालयका सेल्स म्यानेजर सरिक बोगटीलाई जानकारी लिन खोज्दा उनि सम्पर्कमा आउन चाहेनन् ।
बोगटीमाथि आर्थिक अनियमिता गरेर चार्टर्ड उडानमा टिकट महँगो बनाएको आरोप छ । उनी र कतार एयरवेजमाथि अहिले छानविन चलिरहेको छ ।
प्राधिकरणले उजुरीहरु धेरै आएको र त्यस विषयमा छानविन गरिरहेको जनाएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले केहि त्यस्ता उजुरीका विषयमा सम्बन्धित विभागले हेरिरहेको संक्षिप्त प्रतिक्रिया दिए ।