लन्डन (बेलायत) । सोमवार विश्व शेयर बजार मिश्रीत रहेको छ । बेलायती–स्वीडिश फर्मा कम्पनी अस्त्रजेनेकाले कोभिड–१९ विरोधी खोपको तेस्रो चरणको परीक्षण सुचारु गरेसँगै खोप बन्ने आशा बढ्दा शुरुआती कारोबारमा शेयर बजार उकालो लागेको थियो ।
तर यसै हप्ता हुने लागेको केही प्रमुख केन्द्रीय बैंकहरुको बैठकको पर्खाईमा लगानीकर्ताहरुले लगानी थाँती राख्दा भने बजार दबाबमा आएको हो । गत हप्ताको शुरुमा अस्त्रजेनेकाले विश्वभर खोपको परीक्षण बन्द गरेको थियो । तर सप्ताहन्तमा बेलायती नियामकले अनुमति दिएपछि खोपको परीक्षण सुचारु गरियो ।
खोपको बारेमा यो सकारात्मक खबर भएपनि यो कहिले आउँछ र कसरी सबैतिर प्रयोग हुन्छ भन्नेबारे भने आशंका कायमै छ । अमेरिका, बेलायत र जापानमा यसै हप्ता केन्द्रीय बैंकको बैठक बस्दैछ । यी बैठकमा सम्बन्धित बैंकहरुले नीतिगत निर्णय लिनेछन् ।
उक्त दिन एशियाली क्षेत्रमा बजार मिश्रीत रह्यो । जापान बाहिर एशिया प्रशान्त क्षेत्रको बृहत परिसूचक शून्य दशमलव ९ प्रतिशतले बढेर करीब एक हप्ताकै उच्च विन्दुमा उक्लियो ।
जापानमा सत्तारुढ दलको अध्यक्ष पदको निर्वाचनमा प्रमुख क्याबिनेट सचिव योशिहिदे सुगाले बहुमत हासिल गरेपछि उनी प्रधानमन्त्री सिञ्जो आबेलाई विस्थापित गर्दै प्रधामन्त्री बन्ने मार्ग प्रशस्त भएको छ । यो खबरसँग सोमवार बेञ्चमार्क निक्केई २२५ शून्य दशमलव ६५ प्रतिशतले बढेर २३ हजार ५५९ दशमलव ३ अंकमा पुगेर बन्द भयो ।
दक्षिण कोरियामा बेञ्चमार्क कोस्पी १ दशमलव ३ प्रतिशतले बढेर २ हजार ४२७ दशमलव ९१ अंकमा पुग्यो । हङकङमा पनि कारोबार बन्द हुँदा हाङशेङ परिसूचक शून्य दशमलव ५६ प्रतिशतले बढ्दै २४ हजार ६४० दशमलव २८ अंकमा उक्लियो ।
मुख्यभूमी चीनमा साङहाई कम्पोजिट शून्य दशमलव ५७ प्रतिशतले बढी ३ हजार २७८ दशमलव ८१ अंकमा पुगेर बन्द भयो । इन्डोनेशिया, र ताइवानमा बजार हरियोमा आएर बन्द हुँदा सिंगापुरमा बजार मिश्रीत रह्यो । थाइल्याण्डमा सेट कम्पोजिट रातोमा आएर बन्द हुँदा भारतमा पनि शेयर बजार ओर्लियो ।
उता, यूरोपमा पनि बजार मिश्रीत नै रह्यो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ८ :०७ बजे बेलायतको फूट्सी परिसूचक शून्य दशमलव शून्य ८ प्रतिशतले घटेको थियो । फ्रान्समा क्याक ४० र जर्मनीमा डीएएक्स भने क्रमशः शून्य दशमलव ४६ प्रतिशत र शून्य दशमलव शून्य २ प्रतिशत माथि आएका थिए । अमेरिकामा भने नास्डाक परिसूचक १ दशमलव ९८ प्रतिशतले बढेको थियो । एजेन्सी