काठमाडौं । रोजगारीका लागि जापान जाने कामदारहरुको भाषा परीक्षा आगामी कात्तिकको दोस्रो साता (अक्टोबर) र सीपसम्बन्धी परीक्षा मंसिरको पहिलो साता (नोभेम्बर) मा हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले भाषा परीक्षा कात्तिक १० र ११ गते अर्थात अक्टोबर २७ र २८ तारिखमा हुने र सीपसम्बन्धी परीक्षा मंसिर ४ र ५ गते अर्थात नोभेम्बरको ६ र ७ तारिखमा तय गरिएको जानकारी दिए ।
जापानले पहिलो चरणमा बृद्धबृद्धाहरुको हेरचाहको लागि भन्दै केयरगिभरका रुपमा नर्सहरुलाई लैजाने तयारी गरेको छ । तर कति संख्यामा लैजाने भन्ने टुंगो नलागेको सचिव दाहालले जानकारी दिए ।
जापानले नेपालसहित अन्य ९ ओटा देशबाट विभिन्न क्षेत्रमा कामदार भित्राउने भन्दै केही वर्षअघि कानून संशोधन गरेको थियो । कानून संशोधन गरे पनि कतिपय बाहिरी देशमा परीक्षा सञ्चालन हुन सकेको छैन ।
जापानमा वर्षैपिच्छे कामदारको अभाव हुन थालेपछि विदेशी कामदार भित्राउने नीति अवलम्बन गरिएको हो । जापानले विभिन्न क्षेत्रमा विदेशी कामदार लिने भए पनि नेपालबाट पहिलो चरणमा केयर गिभरमा मात्र लिने बताएको छ ।
नोभेम्बरमा लिइने परीक्षाका लागि सेप्टेम्बरमा अनलाइनबाट निवेदन दर्ता गर्न सकिनेछ । तर नेपालका सन्दर्भमा भने दुई देशका अधिकारीबीचको वार्ता निर्णायक हुने जापानको परीक्षा विभागले जनाएको छ ।
नेपाल र जापानबीच गत चैतमा श्रम समझदारी (एमओयू) भएको थियो । त्यतिबेला उक्त सम्झौता अनुसार नेपालबाट कामदार जापान पठाउने प्रक्रिया अप्रिल महिनाबाटै शुरू हुने बताइए पनि त्यसमा अलमल भएको थियो।
दुई सरकारीबीच भएको सहमति अनुसार जाने नेपालीहरूले १४ वटा विभिन्न क्षेत्रमा काम गर्न पाउँछन्। नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा नेपाली लगायत अन्य आठवटा मुलुकबाट जापानले कामदार लिन खोजेको बताइएको छ।