काठमाडौं । ‘टु ह्वीलर’ र ‘फोर ह्वीलर’मा एकछत्र राज गरेका दुई ओटा ग्रुप गोल्छा र अग्नीले नेपाली बजारमा नयाँ ब्रान्डको मोटरसाइकल भित्र्याउँदै छन् । गोल्छाले स्वीडेनको ब्रान्ड भित्र्याउँदै छ भने अग्नीले भारतीय बजारमा रजगज गरेको ब्रान्ड जाभा भित्र्याउन लागेको छ ।
अग्नीले नेपालमा भित्र्याउन लागेको नयाँ ब्रान्डले रोयल इन्फिल्डलाई कडा टक्कर दिने सम्भावना छ । गोल्छाले भित्र्याउन लागेका बाइकले सुजुकी जिक्सर २५०, यामाहा एफ जेट एस २५०, केटीएम ड्युक २५०लाई पछि पार्ने सम्भावना देखिन्छ ।
गोल्छा अर्गनाइजेसनले स्वीडेनको चर्चित ब्रान्ड हसक्वर्ना भिटपिलेन भित्र्याउन लागेको छ । त्यसैगरी, अग्नी ग्रुपले भारतीय बजारमा चर्चा कमाएको जाभा ब्रान्ड ल्याउन लागेको छ । बजाज पल्सर, केटीएम ड्यूक मोटरसाइकलमा एकाधिकार नै जमाएको गोल्छाले पायोनियर स्वीडेनको मोटरसाइकल हसक्वर्ना भिटपिलेन नेपाली बजारमा ल्याइसकेको छ ।
अर्गनाइजेशनले तत्कालका लागि केटीएम ड्युककै सोरुमबाट यो बाइक बिक्री गर्ने जनाएको छ । पहिलो चरणमा २० ओटा हसक्वर्ना भिटपिलेन बाइक आउँदै छन् ।
अहिले गोल्छाले ल्याउन लागेको २५० सीसी क्षमताको ब्रान्ड हो । कम्पनीले हसक्वर्ना भिटपिलेन बाइक ड्यूक २५० भन्दा सस्तो दरमै नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको बजाज मोटरसाइकलका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले जानकारी दिए ।
ड्यूक युवा लक्षित एग्रेसिभ, स्पोर्टी लुक्सको बाइक हो । हाल नेपालमा आउन लागेको नयाँ ब्रान्ड २८ देखि ३५ बर्षका मानिसले चढ्न सक्ने उनीहरुलाई सुहाउँदो बाइक भएको कम्पनीले जनाएको छ । दसैंलगायत चाडपर्वलाई लक्षित गरेर नयाँ ब्रान्ड भित्र्याउन लागेको गोल्छाले जानकारी दिए ।
हसक्वर्ना भिटपिलेन मोटरसाइकल आधुनिक युगको सबैभन्दा लोकप्रिय युरोपियन मोटरसाइकल ब्रान्डको रुपमा विकसित भएको छ । हसक्वर्ना भिटपिलेन मोटरसाइकल संसारकै सब भन्दा पुरानो मोटरसाइकल निर्माणकर्ता ब्रान्ड हो ।
यो मोटरसाइकल १६८९ मा स्वीडेनको एउटा सहर हसक्वर्ना भिटपिलेन नाम दिएर स्वीडेनी आर्मीले निर्माण गरेका थिए । युरोपिएन बजारमा हसक्वर्ना भिटपिलेन मोटरसाइकलले ठूलो लोकप्रियता कमाइसकेको छ । हाल एचएच बजाजले हसक्वर्ना भिटपिलेन २५० मोडल मात्रै नेपाली बजारमा ल्याउने कम्पनीको तयारी छ । यसको मूल्य नेपालमा ६ लाख तल नै रहने अनुमान गरिएको छ ।
त्यस्तै नेपालमा महिन्द्रा बाइक र स्कूटरको आधिकारीक वितरक अग्नि ग्रुपले आगामी अक्टोबर भित्र नयाँ मोटरसाइकल ब्रान्ड जावालाई नेपाली बजारका ल्याउने तयारी गरेको छ ।
अहिले कम्पनीले नेपालभर डिलरसीपका लागि आवेदन मागिरहेको छ । अग्नी ग्रुपका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भारतबाट सिपमेन्ट नभएसम्म नेपालमा कहिले सार्वजनिक हुने टुङ्गो नभएको बताए । अहिले भारतका कतिपय ठाउँमा लकडाउन नै रहेको कारण कति ओटा आउँदै छ भन्ने एकिन नभएको उनको भनाइ छ । ‘हामीले नेपाली बजारमा ल्याउने तयारी गरिरहेका छौं सम्भवत् आगमी अक्टोवर भित्र आइसक्छ’ श्रेष्ठले भने ।
कम्पनीले हाल जावा क्लासिक र जावा ४२ लाई पहिलो चरण प्रवेश गराउने भएको छ । रोयल इन्फिल्ड जस्तै लुक्स रहेको यो बाइकले नेपाली बजारमा धमाका मचाउने अनुमान गरिएको छ । नेपाली बजारमा यी दुबै मोडलका बाइकको मूल्य रोयल इन्फिल्ड बाइक समान नै हुने जनाइएको छ । कम्पनीका अनुसार यी मोटरसाइकलको मूल्य पनि ६ लाख रेन्जकै हुने छन् ।
जावा चेकोस्लोभाकियन मोटरसाइकल निर्माता कम्पनीको हो । अहिले जावाबाइक भारत सहित १२० भन्दा बढी मुलुकमा बिक्री हुँदै आएको छ । भारतीय बजारमा महिन्द्रा कम्पनीको स्वामित्व प्राप्त कम्पनी क्लासिक लेजेन्ड्सले भारत सहित पूर्वी एसियाली देशहरमा बिक्री गरिरहेको छ । भारतीय बजारमा विगत केही बर्षदेखि चर्चित छ ।