काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीले थला परेको कालिञ्चोक केवलकारले ब्याज र किस्ता तिर्न बैंकबाट ६ करोड रुपैयाँ ऋण लिने भएको छ । उसले ऋण लिनका लागि नेपाल एसबिआई बैंकमा प्रक्रिया अगाडी बढाएको जानकारी दिएको छ ।
दोलखाको कालिञ्चोलकमा २०७५ कात्तिकबाट सञ्चालनमा आएको केवलकार कोभिडको महामारीपछि पूर्ण रुपमा बन्द छ । केवलकार बन्द हुँदा बैंकको ब्याज र किस्ता तिर्न नसकेपछि अहिले थप ६ करोड रुपैयाँ ऋण लिन प्रक्रिया अगाडी बढाएको कालिञ्चोक केवलकारका सञ्चालक गुरु अधिकारीले जानकारी दिए ।
कोभिडले सबैभन्दा बढी पर्यटन क्षेत्रमा प्रभाव पारेको बेला केवलकार पनि अछुतो रहन नसकेकै कारण थप ऋण लिनु पर्ने बाध्यता आएको उनको भनाई छ ।
कोभिड अघिसम्म बैंकको किस्ता र ब्याज तिर्न सहज भइरहेको थियो, तर अहिले पूर्ण रुपमा समस्यामा परेपछि ऋण लिने प्रक्रिया अगाडी बढाएकौ हौं, उनले भने । नेपालकै तेस्रो केबलकारको रुपमा रहेको कालिञ्चोकमा ५२ करोड रुपैयाँ लगानी रहेको छ ।
धार्मिक एवम पर्यटकीय स्थल कालिञ्चोकमा जानेहरुलाई लक्षित गरी सञ्चालन गरिएको केवलकारमा ४ वटा क्याविन छन । मझौला व्यवसायीहरुको संयुक्त लगानीमा निर्माण भएको सो केवलकारमा एक पटकमा ४० जनाले यात्रा गर्न पाउने छन् ।
कालिञ्चोक भगवतीको दर्शनसँगै हिउँ खेल्न जानेहरुको भिड हुने गरेको थियो । ६ महिना यता कोभिडले पर्यटकीय गतिविधि ठप्प हुँदा केवलकार थप समस्यामा परेको हो ।
अहिले विस्तारै लकडाउन खुकुलो गरिए पनि पर्यटकीय क्षेत्रहरु भने खुला गरिएको छैन । जसका कारण पर्यटन क्षेत्र नराम्रोसँग थला परेको छ । धार्मिक स्थलहरुमा पनि जान नपाउने भएकै कारण अहिले गतिविधि प्राय ठप्प छ ।
कोभिडको कारण केवलकारसहित होटलहरु समेत समस्यामा परेको छ । कालिञ्चोकमा निर्माणमा भएको दर्जन भन्दा बढी होटलहरु समस्यामा छन् ।