काठमाडौं । हवाई इन्धनको मूल्य अधिक रहेकै कारण भाडा महंगो भएको निश्कर्ष सरकारको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा भदौ २२ गते मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण (क्यान)का सरोकारवाला पदाधिकारीहरुको उपस्थितिमा बसेको बैंठकमा इन्धनको मूल्य समयानुकुल समायोजन नहुँदा हवाई भाडादर कम गर्न नसकिएको निश्कर्ष निकालेको हो ।
पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा बनाएको कार्यदलले २०६७ मंसिर २० गते बुझाएको प्रतिवेदनमा अन्तरमन्त्रालय स्तरमा समन्वय गरी भ्रमण वर्ष–२०२० मा सकारात्मक सन्देश प्रवाह गर्न अन्तर्राष्ट्रिय एयरलाइन्सले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन मन्त्रालयलाई सुझाव दिएको थियो ।
नेपाल आयल निगमले आन्तरिक र बाह्य उडानमा रहेका जहाजहरुलाई उपलब्ध गराउँदै आएको इन्धनमा नाफा धेरै राखेर बिक्री गरेको भन्दै पर्यटनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मूल्य समायोजनाका लागि प्रस्ताव पठाउने तयारी गरेको हो ।
पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले वाणिज्य मन्त्रालयमा प्रस्ताव पठाउन लागिएको बताए । वाणिज्यलाई पठाउने प्रस्ताव तयार पारिरहेका छौैं,प्रवक्ता भट्टराईले क्यापिटल नेपालसंग भने ।
लामो समयदेखि वायुसेवा सञ्चालकहरुले हवाई भाडामा निगमले धेरै नाफा राखेको गुनासो गरिरहेको बेला पर्यटनमन्त्री भट्टराईले मूल्य समायोजन गर्न अन्तरमन्त्रालय समन्वय गर्न लागेका हुन् ।
वाणिज्य मन्त्रालयसँग इन्धनको मूल्य पुनरावलोकन गर्न आवश्यक प्रस्ताव सात दिनभित्र नागरिक उड्डयन महाशाखाले तयार गर्ने जिम्मेवारी समेत पाएको छ ।
निगमले अहिले आन्तरिक एयरलाइन्सहरुलाई प्रतिलिटर ६५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा रहेका एयरलाइन्सहरुलाई ०.८६८ अमेरिकी डलर १०२ रुपैयाँ ३८ पैसा (भदौं २८ गते) तोकेको छ अर्थात अमेरिकी डलर ८६८ किलोलिटर तोकिएको छ ।
हवाई इन्धनबाटै निगमले आन्तरिक तर्फ १० रुपैयाँ ४६ पैसा र अन्तर्राष्ट्रिय तर्फ ४५ रुपैया ३९ पैसा प्रति लिटर नाफा लिइरहेको छ । कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कोही कसैले पनि आफ्नो वस्तु तथा सेवामा २० प्रतिशतभन्दा नाफा राख्न पाइँदैन । तर, एकाधिकारप्राप्त सरकारी स्वामित्वको नेपाल आयल निगमले हवाई इन्धनमा ४५ प्रतिशतसम्म नाफा राखेको छ ।
कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिएर वा अभावको लाभ उठाई वस्तु बिक्री गरी अनुचित नाफा लिएको स्थितिमा त्यस्तो व्यक्ति तथा संस्था प्रमुखलाई १ वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने व्यवस्था छ ।
तर, सोही ऐनले सरकारले तोकेको मूल्यका हकमा ऐन आकर्षित नहुने व्यवस्था गरेको छ । आयल निगमले तोकेको मूल्यलाई सरकारी निर्णयसरह कार्यान्वयन गरिंदा नेपालमा पेट्रोलियम पदार्थको मूल्य उच्च रहँदै आएको हो ।
नेपालमा हवाई इन्धनको मूल्य चर्को रहेकै कारण धेरै जहाजहरुले विदेशमै इन्धन भरेर आउने गरेका छन । जुन गन्तव्यबाट आउने हो, त्यही गन्तव्यबाट नेपालबाट फर्किन मिल्ने वा बीचमा कुनै देशमा गएर इन्धन भर्न सक्ने गरी आउने गरेको क्यानका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको भनाई छ ।
जसको कारण नेपालमा आउने यात्रुहरुले महंगो भाडा तिर्दै आउनु परेको छ । जहाज खाली राखेर त्यसको तौल बराबरको इन्धन लिएर आएपनि पुरा सिटको भाडा सबै यात्रुहरुबाट लिने गरेको हुन्छ ।
त्यहि भएर ती एयरलाइन्सहरुको हवाई भाडा स्थीर नहुने गरेको समेत उनको भनाई छ । यो विषयमा पर्यटन मन्त्रालय पूर्ण रुपमा जानकार भएपनि कुनै निर्णयमा पुग्न नसक्दा यात्रुहरुले समस्या भोग्नु परेको उनले बताए ।
बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले निगमले इन्धनमा सबैभन्दा बढी नाफा लिएकै कारण भाडा महंगो भएको बताउदै आएका छन् । निश्चित नाफा राखेर इन्धन दिएमा अहिलेको भन्दा धेरै कम मूल्यमा हवाई यात्रा गराउन सकिने उनको भनाई छ ।
यो पनि पढ्नुस
इन्धनमै अधिक नाफाले महँगो अन्तर्राष्ट्रिय हवाई भाडा