काठमाडौं । काठमाडौंमा विद्युत् वितरणलाई भरपर्दो र स्मार्ट कम्युनिकेसन बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत उद्घाटन भइ सुरु भएको भूमिगत तारको काम ठप्प भएको छ ।
कोरोना भाइरस(कोभिड–१९) का कारण बाहिरी जिल्ला र छिमेकी भारतबाट कामदार आउन नसक्दा निर्माणधीन काम प्रभावित बनेको हो । चैत ११ गतेयता मुलुकमा बन्दाबन्दी(लकडाउन) भएपछि भारत गएका कामदार नफर्कदा र विभिन्न जिल्लाबाट कामदार फर्कन नसक्दा तार भूमिगत गर्ने काम थला परेको हो ।
‘कोभिडकै कारणले बाहिरबाट जनशक्ति ल्याउन सकिएको छैन् । यसअघि भारतबाट पनि आउन पाएनन् । त्यसपछि प्रशासनको अनुमति लिनुपर्ने, स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने, कहिले यताबाट अनुमति दिन्छ, उताबाट रोकिन्छ’ नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले भने,‘एउटै जिल्लाका मात्रै कामदार छैनन् । मान्छे साइटमा ल्याउन एकदमै गाहे हुँदा काम नै हुन सकेको छैन ।’
उनले कोभिडकै कारण लक्ष्यअनुसार काम हुन नसकेपछि आयोजना लम्बिने बताए । ‘कोभिड महामारीकै कारण त्यति काम भएन् । यसले ६÷७ महिना ढिला हुने भएकाले म्याद थप हुने स्थिति देखिन्छ ।’ दुइवर्षभित्र काठमाडौंमा भूमिगत तार व्यवस्थापन गर्ने लक्ष्य थियो ।
गत २०७६ पुस १ गतेदेखि काठमाडौंको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रमा पहिलो चरणमा तार भूमिगतको काम सुरु भएको थियो । सडकलाई ‘होराइजनल ड्रिलिङ’ प्रविधिमार्फत ठाउँ ठाउँमा प्वाल पारेर तार अन्डरग्राउन्ड गरिन्छ । सबै सडक खन्नु नपर्ने प्रविधि प्रयोग गरिएको छ ।
यता, सरकारले चालू आर्थिक वर्षको बजेटमा नै तोकेर भक्तपुर, ललितपुर, चितवन लगायत ठूला शहरमा पनि तार भूमिगत गर्ने काम विस्तार गर्ने लक्ष्य लिएको छ । तर, त्यसअनुसार ती ठाउँमा तार भूमिगत गर्ने काम यो वर्ष सुरु हुने देखिँदैन ।
ललितपुर र भक्तपुरमा पनि तार भूमिगत गर्नका लागि टेण्डर निकालिसकेपनि यो वर्ष निर्माण सुरु हुन नसक्ने सिलवाल नै बताउँछन् । ‘कोभिड महामारीले हामी पछि नै पर्यो । भक्तपुर र ललितपुरको ठेक्का निकालिसक्यौं । अबको डेढ महिनामा भरतपुर र पोखराको पनि टेन्डर निकाल्छौं । यो वर्ष फिल्डमा निर्माण हुँदैन ।’
ललितपुर र भक्तपुरमा ठेक्का अवार्ड गर्न कम्तीमा ४ महिना र मुल्यांकन लगायतका काम गर्न २ महिना गर्ने काम सकिने उनले बताए । त्यसपछि ठेकेदार कम्पनी आएर सर्भे र डिजाइन गरेपछि मात्रै काम सुरु हुनेछ । त्यो खण्डमा काम नै सुरु हुन एकवर्ष लाग्ने उनको भनाई छ ।
भरतपुर र पोखरामा पनि तार भूमिगत गर्न यो आर्थिक वर्ष मै ठेक्का प्रक्रिया अघि बढाइने प्राधिकरणको दाबी छ । काठमाडौंमा पहिलो चरणमा तार भूमिगत गर्ने ठेक्का भारतीय केइआइके कम्पनीलाई दिइएको छ ।
एसियाली विकास बैंक(एडीबी)को झन्डै १५ अर्ब ऋण सहयोगमा विद्युत् वितरण भूमिगत गर्ने कार्यक्रमअन्र्तगत निर्माण सुरु भएको हो । ललितपुर, भक्तपुर, भरतपुर र पोखरामा पनि एडीबीकै ऋण सहयोग रहनेछ ।
तार भूमिगत भएपछि महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्र्तगतका झन्डै ९० हजार विद्युत् उपभोक्ता लाभान्वित हुने प्राधिकरणले जनाएको छ । सुरुवाती चरणमा स्मार्ट र भीईआपी क्षेत्रका रुपमा दुइओटा वितरण केन्द्रबाट तार भूमिगतको काम अघि बढेको हो ।
विद्युत् वितरण भूमिगत भएपछि अहिलेजस्तो सडक र पोलमा लथालिङ अवस्थामा तार देख्नु नपर्ने प्राधिकरणको दाबी छ । सरकारले पनि काठमाडौं उपत्यकाका सहित देशका मुख्य सहरमा तार भूमिगत विस्तार गर्ने कार्यक्रम अघि सारेको छ ।