काठमाडौं । दोस्रो चक्रपथ विस्तारअन्र्तगत कलङ्कीदेखि महाराजगन्ज खण्डका पूर्वतयारीका काम सम्पन्न हुने चरणमा पुगेका छन् । महाराजगन्जस्थित नारायणगोपाल चोकको जग्गा र भवन हटाउने र मुआव्जाको केही कामबाहेक अन्य काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
त्यस खण्डमा पर्ने रुख, विद्युत्तीय पोल, सेवा प्रदायकका तार र खानेपानीका पाइप हटाउने काम झन्डै सकिएको र नारायणगोपाल चोकमा भवन तथा जग्गा व्यवस्थापनको काम बाहेक अरु क्लियरेन्स भएको सडक विभागले जनाएको छ । तर, चिनियाँ कम्पनीले सो खण्डमा ८.३ किमि अर्थात् कलंकीदेखि नारायणगोपाल चोकसम्म सडकको विस्तार तथा निर्माण गर्ने सडक विभागले जनाएको छ ।
उक्त खण्डमा पूर्व तयारीका काम झन्डै सकिन लागेपनि चिनिँया पक्ष नआउँदा काम थाल्न नसकिएको विभागअन्र्तगत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।
यसअघि गत बैशाखअघि नै सो खण्डको ‘साइट क्लियरेन्स’ सकेर चिनियाँ कम्पनीलाई हस्तान्तरण गर्ने सरकारी योजना थियो । तर, कोरोना महामारीका कारण चिनिँया पक्ष नेपालमा आउन नसकेको र पूर्वतयारीका काम पूरा नहुँदा निर्माण सुरु हुन सकेको थिएन् ।
चार लेनको उक्त खण्ड ८ लेनमा विस्तार हुनेछ । कलंकी–महाराजगन्ज चक्रपथ खण्ड विस्तार गर्न ६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सो खण्डका मुख्य—मुख्य क्षेत्रमा आकाशे पुल बन्नेछन् । सो खण्डको चिनियाँ कम्पनीले यसअघि नै सर्भे गरिसकेको छ । डीपीआर, ठेकेदार, सुपरभिजन र निर्माण सामग्रीको व्यवस्थापन चिनियाँ कम्पनीमार्फत नै हुनेछ ।
चिनियाँ अनुदानमा दुई बर्षभित्र सम्पन्न हुनेगरी चिनियाँ पक्षलाइ सडक निर्माण गर्न जिम्मा दिइनेछ । यसअघि पनि पहिलो खण्ड अन्र्तगत कलंकी—कोटेश्वर चक्रपथ पनि चिनियाँ सरकारकै सहयोग निर्माण भएको थियो ।