एजेन्सी । बढ्दो बिजुलीको माग पुरा गर्न छिमेकी मुलुक भारतले स्वच्छ ऊर्जा उत्पादन बढाउने भएको छ । आउँदो २ वर्षमा विद्युत उत्पादन जडित क्षमता बढाएर २ लाख २० हजार मेगावाट पर्याउने लक्ष्य सार्वजनिक गरेको छ ।
जलविद्युत, आणविक, डिजेल प्लान्ट र सोलार प्रविधिबाट गरी भारतमा १ लाख ३४ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ । आगामी २ वर्षमा सोलार प्रविधि र जलविद्युतबाट थप ८६ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी गराएका छन ।
उनले आगामी सन २०२२ भित्र उत्पादन क्षमता बढाएर सो परिमाणमा नविकरणीय ऊर्जा उत्पादन गर्ने योजना सार्वजनिक गरेका हुन । ऊर्जाको प्रविधिलाई थप विकास गरेर उत्पादन लागत कम गर्ने र बिजुलीको भाउलाई सस्तो बनाउने घोषणा गरेको दी इकोनोमिक टाइमले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय सोलार अर्गनाइजेसनले मंगलबार राजधानी दिल्लीमा आयोजना गरेको विश्व सोलार प्रविधि सम्मेलनमा त्यहाँका ऊर्जामन्त्री आरके सिंहले प्रधानमन्त्री मोदीको सन्देश पढेर सो योजना सार्वजनिक गरेका हुन ।
भारतले डिजेलबाट भन्दा पनि नविकरणीय ऊर्जा उत्पादनमा जोड दिएको बताउँदै उनले प्रधानमन्त्री मोदीको सन्देश पढेर सुनाएका थिए । प्रधानमन्त्री मोदीको सन्देश पढेर ऊर्जामन्त्री सिंहले आगामी सन २०२२ मा विद्युत जडित क्षमता २ लाख २० हजार मेगावाट पुर्याउने जानकारी गराएका थिए ।
प्रविधिको विकास गरेर सोलारलगायत अन्य विधिबाट ऊर्जा उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए । प्रविधिको विकासले यसअघिनै बिजुलीको मूल्य कम भएको र लागत कम गर्ने योजनाले ऊर्जा उत्पादन बढाउन ठुलो योगदान गर्ने ऊर्जामन्त्री सिंहले जानकारी गराएका छन ।
एक पृथ्वी, एक सूर्य र एक ग्रिड भन्ने नाराका साथ गाउँमा सोलार प्रविधिबाट बिजुली पुर्याउने काम भइरहेको उनले बताए । ऊर्जा उत्पादनमा डिजेल जस्ता खनिज इन्धनको प्रयोगलाई प्रतिस्थापन गर्न भारतले घरघरमा सोलार प्रविधि पुर्याइरहेको उनले जानकारी गराए ।
भारतमा सोलार प्रविधिबाट २७० मेगावाट बिजुली उत्पादन गरिहेको छ । यो वर्ष मात्रै सोलारबाट ६० मेगावाट बिजुली उत्पादन थपिने भएको छ । खजिन इन्धनलाइ कम गर्न भारतले सोलार ऊर्जामा जोड दिएको छ ।
भारतमा ३५ प्रतिशत मात्र नविकरणीय प्रविधिबाट र ६५ प्रतिशत डिजेलबाट बिजुली उत्पादन भइरहेको छ ।नेपालले भारतबाट ६०० मेगावाटसम्म बिजुली आयात गरेको छ । यस्तै १०० मेगावाट बिजुली भारतमा निकासी गरेको छ ।