नयाँ दिल्ली (भारत) । भारत अहिलेसम्मकै ठूलो परिमाणमा चिनी निर्यात गर्ने क्रममा रहेको छ । अमेरिकी डलरको तुलनामा रुपयाको भाउमा आएको कमी, सहुलियत र प्रतिस्पर्धी आपूर्तिकर्ता देशमा न्यून उत्पादनका कारण भारतको निर्यात बढेको हो ।
यसै महीना सकिने सिजनमा भारतबाट ५७ लाख टन चिनी निर्यात हुने क्रममा रहेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशत धेरै हो । आगामी सिजनमा पनि निर्यातमा सुदृढ वृद्धि हुने अपेक्षा सरकारले गरेको छ ।
‘हामीहरुले ५७ लाख टनको लागि करार गरेका छौं, यस मध्ये ५५ लाख टन यसअघि नै मिलहरुबाट पठाइसकेको छ । मौसम सकिनु अघि थप ५६ लाख टन चिनीको लागि करार हुने अपेक्षा हाम्रो छ,’ खाद्य मन्त्रालयका सह–सचिव सुबोध कुमार सिंहले भने ।
चालू सिजनमा ६० लाख टन चिनी निर्यात गर्ने लक्ष्य भारतको छ । कोरोना भाइरसको महामारीको बेलामा पनि मन्त्रालय, मिल र ट्रान्सपोर्टरहरुबीच राम्रो समन्वयका कारण कीर्तिमानी स्तरमा चिनी निर्यात सम्भव भएको उनले बताएका छन् ।
सिंहका अनुसार विश्व बजारमा सुदृढ मागले गर्दा पनि निर्यात बढेको हो । यसअघि भने भारतले सर्वाधिक चिनी निर्यात सन् २००७–०८ मा गरेको थियो । त्यतिबेला भारतबाट बाह्य बजारमा ४९ लाख टन चिनी निर्यात भएको थियो ।
आगामी मौसममा पनि यही स्तरमा चिनी निर्यात हुने बताइएको छ । ‘आउँदो मौसम (सन् २०२० को अक्टोबरदेखि सन् २०२१ को सेप्टेम्बरको बीच)मा ३ करोड २५ लाख टन चिनी उत्पादन हुने हाम्रो अपेक्षा छ ।’ उनले भने ।
यस वर्ष नै १० लाख टन जति चिनी उब्रिने र यो बढ्दो निर्यात माग पूर्तिमा काम लाग्ने बताइएको छ । सरकारले खपत भएर बाँकी रहेको चिनी निर्यातका लागि मिलहरुलाई प्रेरित गर्न ६२ अर्ब ६८ करोडको सहुलियत उपलब्ध गराउने निर्णय गरेको थियो । पहिलो पटक इन्डोनेशियाको बजार खुलेको र लामो समयको अन्तरालपछि मलेशियाली बजारमा भारतीय चिनी निर्यात हुँदा पनि निर्यात बढेको हो ।
सुख्खाका कारण थाइल्याण्डको चिनी उत्पादनमा उच्च कमी आएको थियो । फलतः थाइल्याण्डबाट चिनी निर्यात हुने इन्डोनेशिया र मलेशियाली बजारमा भारतीय चिनी आपूर्ति भएको थियो । अमेरिकी डलरको तुलनामा भारतीय रुपयाको भाउमा आएको कमीका कारण पनि निर्यातले टेवा पाएको बताइएको छ । एजेन्सी