काठमाडौं । भ्रमण वर्ष २०२० नजिकिरहेका बेला बेलायती हकी खेलाडीहरुले नेपालमा आएर विश्व कीर्तिमान राखेका छन् । ५ हजार १९ मिटरको उचाइमा हकी खेल खेलेर बेलायती टोलीले कीर्तिमान राखेका हुन् । हालसम्म हकी खेलमा ५ हजार मिटरको उचाइसम्ममा मात्र खेलेको विश्व रेकर्ड छ ।
बेलायतबाट एडभेन्चर लाइभसाइन प्रालिले आयोजना गरेको हकी खेल नेपालमा नरबा ट्रेक्स एन्ड एक्सपेडिसन प्रालिले संयोजन गरेको थियो ।
नरबा ट्रेक्सका म्यानेजिङ डाइरेक्टर नरबहादुर गौतमले बेलायती खेलाडीहरुले मनाङमा हकी खेलेर कीर्तिमान राखेको जानकारी दिए । खेल खेल्न ३४ जना आएकामा ३१ जनाले सहभागिता जनाएका थिए ।
नरबा ट्रेक्सले हकी खेलका लागि जुलाई ११ बाट १८ तारिखसम्मका लागि अनुमति लिएका थिए । खेल भने एक दिन मात्र आयोजना गरिएको उनको भनाइ छ ।
नेपालका उच्च भेगमा यस्ता साहसिक खेलहरु खेलाएर विभिन्न किसिमका पर्यटक भित्र्याउन सकिन्छ भन्ने सन्देश दिनका लागि हकी खेलको संयोजन गरिएको डाइरेक्टर गौतमको भनाइ छ । हकी खेल विदेशमा धेरै चर्चित रहे पनि नेपालमा खासै चर्चामा छैन । छिमेकी मुलुक भारतमा समेत यसको धेरै चर्चा रहने गरेको छ । खेलमा राष्ट्रिय इङ्लिस हकी टिमका सदस्य तथा प्रबन्धक एन्डी हलाडेको पनि सहभागिता थियो ।
नेपालका हिमाली भेग, जुम्ला, मनाङ्ग, सोलुखुम्बु जस्ता उच्च क्षेत्रमा बनिरहेका खेलकुद तालिम केन्द«ले सो भेगमा खेल्न मिल्ने खेल हकी, म्याराथन, आर्चरी जस्ता खेल खेल्न र हेर्न रुचाउने खेलाडी, खेलप्रेमी तथा अन्य पर्यटकहरुलाई आकर्षित गर्दै नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि गर्न टेवा पु¥याउने पर्यटन व्यवसायीहरुको विश्वास छ ।
नेपालमा आएर हकी खेलको विश्व कीर्तिमान राखेको भन्दै सहभागी विदेशीहरुलाई भ्रमण वर्ष २०२० को सचिवालयले सम्मान गरेको छ ।