सौराहा (चितवन) । भ्रमण वर्ष २०२० सुरु हुन ५ महिना मात्र बाँकी छ । तर मुलुककै तेस्रो पर्यटकीय गन्तव्य सौराहा भने यस विषयमा बेखबर छ ।
विषेश गरी वाह्य पर्यटकले भरिभराउ हुने सौराहामा भ्रमण वर्षको कुनै छनक देखिँदैन । त्यहाँका होटल व्यवसायी र रेस्टुरेन्ट सञ्चालकहरुले यस विषयमा अनभिज्ञता जनाएका छन् ।
होटल नेचर हेरिटेजका सञ्चालक रमेशचन्द्र रेग्मीले भ्रमण वर्षका विषयमा हालसम्म सौराहामा कुनै छलफल नभएको बताए । उनले भ्रमण वर्षमा आउने पाहुनालाई कसरी स्वागत गर्ने र कुन कुन सुविधा थप गर्ने विषयमा यकिन नभएकोे जानकारी दिए ।
भ्रमण वर्षका विषयमा सरकारी पक्षबाट कुनै कार्यक्रम नआएको र निजी क्षेत्रबाट पनि यस विषयमा कुनै संवाद नभएको रेग्मीको भनाइ छ ।
सरकारी सुस्तताका कारण सौराहाले पनि नयाँ कार्यक्रम सार्वजनिक गर्न नसकेको नाम उल्लेख नगर्ने सर्तमा एक होटल सञ्चालकले क्यापिटलसँग भने । सरकारले बेवास्ता गरे पनि सौराहाका होटल व्यवसायीहरुले सामूहिक छलफल गर्ने वातावरण यहाँको होटल सङ्घले बनाउन ढिलाइ गरेको उनको भनाइ छ ।
‘भ्रमण वर्षमा आउने पर्यटकलाई होटलहरुले आन्तरिक रुपमा दिने सुविधा त छँदैछ,’ ती सञ्चालकले भने, ‘तर, होटल सङ्घले नै विषेश प्याकेज बनाएर सार्वजनिक गर्न सके राम्रो हुन्थ्यो, तर अब ढिला भइसक्यो ।’ भ्रमणमा निस्कने विदेशी पर्यटकले एक वर्ष अघि नै कार्यक्रम तय गरिसकेका हँुदा नेपालले यस विषयमा धेरै ढिलाइ गरिसकेको उनको भनाइ छ ।
होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले भ्रमण वर्षलाई सौराहाले कसरी सहयोग गर्ने र सदुपयोग गर्ने भन्ने विषयमा यही ७ गते बैठक बोलाइएको जानकारी दिए । ७ गते हुने बैठकले भ्रमण वर्षको एजेन्डामा छलफल गर्ने र नयाँ कार्यक्रम सार्वजनिक गर्ने उनको भनाइ छ ।
सौराहामा भ्रमण वर्षका बेला धेरैभन्दा धेरै पर्यटक भित्र्याउने चासो आफ्नो पनि रहेको भन्दै सुस्त र बेखबर नरहेको उनको दाबी छ । ‘म आफैं भ्रमण वर्षको सदस्य हुँ,’ घिमिरेले भने, ‘यसलाई व्यापक बनाउन लागि पर्छु ।’
सौराहामा हाल १७० भन्दा बढी होटल सञ्चालनमा छन् । तीमध्ये क्षेत्रिय होटल सङ्घमा भने १२० होटल दर्ता भएर सञ्चालनमा छन् ।
सौराहामा एक रातमा ५ हजारभन्दा बढी पर्यटक राख्न सकिन्छ । त्यहाँ हाल स्टार लेभलका होटल सञ्चालनमा आएको छैन । तर पर्यटकीय लेभलका धेरै होटल र रिसोर्टहरु सञ्चालनमा छन् ।
२०३२ सालमा चितवन राष्ट्रिय निकुञ्ज बनेपछि टाइगर टप्स होटल सञ्चालनमा आएको थियो । सोही होटलका कारण सौराहा चम्किएको त्यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् । हाल निकुञ्जभित्रका सबै होटल बन्द छन् ।