वाशिङटन डीसी (अमेरिका) । अमेरिकी अर्थतन्त्रले गतमहीना अपेक्षा गरिएभन्दा धेरै रोजगारी सृजना गरेको छ । अगष्टमा त्यहाँको गैर–कृषि क्षेत्रमा करीब १४ लाख नयाँ रोजगारी सृजना भएको छ ।
यो सँगै बेरोजगारी दरमा उच्च कमी आएको छ । यसलाई महामारीका कारण उत्पन्न सुस्तीबाट अमेरिकी अर्थतन्त्र विस्तारै माथि उक्लिन थालेको संकेतको रुपमा हेरिएको छ ।
त्यहाँको श्रम मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको तथ्यांकअनुसार मार्चमा अमेरिकाको गैर–कृषि क्षेत्रमा १३ लाख ७० हजार नयाँ रोजगारी थपिएको छ । योसँगै जुलाईमा १० दशमलव २ प्रतिशत रहेको बेरोजगारी दर अगष्टमा घटेर ८ दशमलव ४ प्रतिशतमा आएको छ ।
महामारी शुरु भएयता बेरोजगारी दर अगष्टमा पहिलो पटक १० प्रतिशतभन्दा तल आएको हो । रोजगारी सृजनामा भएको वृद्धि र बेरोजगारी दरमा आएको कमी अर्थशास्त्रीहरुले अनुमान गरेकोभन्दा राम्रो हो ।
सो अवधिमा गैर–कृषि क्षेत्रमा १३ लाख २० हजार रोजगारी सृजना हुने दाउ जोन्सको सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले बताएका थिए ।
समीक्षा अवधिमा बेरोजगारी दर पनि ९ दशमलव ८ प्रतिशतमा झर्ने उनीहरुको अनुमान थियो । अप्रिलमा भने बेरोजगारी दर २२ दशमलव ८ प्रतिशतको कीर्तिमानी उचाईमा पुगेको थियो ।
‘यो अमेरिकी रोजगारी र कामदारका लागि अर्को राम्रो दिन हो,’ अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भने । यसले अर्थतन्त्र विस्तारै लयमा फर्किएको संकेत गरेको पेन्सको भनाइ छ ।
समीक्षा अवधिमा रोजगारी सृजना उच्च भएको क्षेत्रमा खुद्रा, पेशाकर्मी र व्यवसायिक सेवा रहेको छ । शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा पनि रोजगारी सृजना सुदृढ रहेको छ । वित्तीय, म्यानुफ्याक्चरिङ र थोक व्यापार क्षेत्रमा पनि रोजगारी सृजना सकारात्मक देखिएको छ ।
अगष्टकै दरमा रोजगारी सृजना भइरहने हो भने निजी क्षेत्रको रोजगारी महामारीपूर्वको स्तरमा फर्किन १० महीना लाग्ने विश्लेषण गरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा अगष्टमा औसत प्रतिघण्टा ज्याला पनि ४ दशमलव ७ प्रतिशतले बढेको छ । एजेन्सी