लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा उच्च कमी आएको छ । कोभिड–१९ को महामारीबाट अर्थतन्त्रको पुनर्बहाली सुस्त हुने चिन्तामा तेलको माग कमजोर बन्दा भाउ दबाबमा आएको हो ।
कारोबार बन्द हुँदा लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा शुक्रवार ब्रेन्ट क्रुडको भाउ ३ दशमलव ७५ प्रतिशतले घटी प्रतिब्यारेल ४१ डलर ९१ सेन्टमा आएको थियो ।
न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि सो दिन प्रतिब्यारेल ४ दशमलव ४५ प्रतिशतले घटेर ३९ डलर ४२ सेन्टमा आएको थियो ।
हप्ताभरिको कारोबारमा भने ब्रेन्टको भाउ ५ दशमलव ३ प्रतिशतले घट्यो भने डब्ल्यूटीआईको भाउमा ७ दशमलव ४ प्रतिशतको कमी आएको थियो ।
अमेरिकी शेयर बजारमा आएको कमी र अमेरिकाको रोजगारी सृजना अगष्टमा थप सुस्ताएको तथ्यांकले पनि तेल बजारमाथि दबाब बढेको हो । अमेरिकामा पेट्रोलको माग यस हप्ता फेरि घटेको तथ्यांक सार्वजनिक भएपछि समग्रमा बजारको मनोबल वियरिश बनेको छ ।
महामारीका कारण यस वर्ष विश्वको तेल माग दैनिक ९० लाखदेखि १० करोड ब्यारेलले घट्ने रुसी ऊर्जामन्त्री अलेक्जान्डर नोभाकले बताएका थिए ।
यस वर्ष तेलको भाउ औसत प्रतिब्यारेल ५० डलरदेखि ५५ डलरबीच रहने नोभाकको प्रक्षेपण छ । तेल बजारमा भावी पुनर्बहाली निकै सुस्त हुने उनको भनाइ छ ।
गत हप्ता अमेरिकी बहुराष्ट्रिय बैंक गोल्डम्यान श्याख्सले भने आगामी वर्षको तेस्रो त्रैमाससम्म ब्रेन्टको भाउ प्रतिब्यारेल ६५ डलरमा पुग्ने बताएको थियो । एजेन्सी