काठमाडौं । रासायनिक मलको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होलिको मल्टिपल प्रालिले मल ल्याउने सम्भावना टरेको छ । ती कम्पनीले मल ल्याउन प्रतितपत्र (एलसी) खोलेको ११७ दिनभित्र भित्र नेपालमा मल आइसक्नुपर्ने हो । जुन, समयसीमा आज (भदौ २० गते) सकिँदैछ । तर, आपूर्तिकर्ताले मल ल्याएन ।
मल आपूर्ति गर्ने बेलासम्म पनि ठेकेदार कम्पनीले मल ‘बुक’ गरेको वा चलान गरेको छ कि छैन भन्ने जवाफ समेत दिएको छैन् । पटक–पटक कृषि सामग्री कम्पनीले स्पष्टीकरण सोधे पनि आपूर्तिकर्ता कम्पनीले कुनै जवाफ नदिएको कम्पनीका एक अधिकारीले बताए ।
आपूर्तिकर्ता कम्पनी शैलुङले लिखित रुपमा नै दिएको अधिकतम समयसीमा सम्पन्न भएकाले ‘टेन्डर डकुमेन्ट’ र खरिद ऐन, नियमको प्रावधानअनुरुप प्रक्रिया अघि बढ्ने कृषि सामग्री कम्पनीका प्रवन्ध निर्देशक नेत्रबहादुर भण्डारीले बताए ।
घुमाउरो पाराले उनले ठेकेदार कम्पनीको सम्झौता रद्ध गर्न सक्ने संकेत गरे । ‘मल नल्याउने कुरा त करिव करिव टुंगियो । अब हामीले टेन्डर डकुमेन्ट र खरिद ऐनका प्रक्रियाबाट कानूनी उपचार खोज्नेबाहेक अरु उपाय छैन’ उनले भने, ‘ठेक्का रद्ध गर्ने कि अरु गर्ने भन्ने बारेमा आइतबार छलफल गरेर यसबारे टुंग्याउँछौं ।’
यता, कृषिमन्त्री घनश्याम भूसालले कृषि सामग्री कम्पनीलाई टेन्डरको सम्झौता र खरिद नियम हेरेर आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । मल नल्याउने ठेकेदारको सम्झौता खारेज नै गरिदिन मन्त्री भूसालले ‘ग्रीन सिग्नल’ देखाएको मन्त्रालयका एक कर्मचारीले बताए ।
सार्वजनिक खरिद ऐन बमोजिम मल आपूर्ति गर्न दुबै कम्पनीले ‘लो बिड’ सवैभन्दा कम कबोल गरेका आधारमा मल आपूर्ति गर्ने ठेक्का पाएका थिए । शैलुङले अन्र्तराष्ट्रिय मुल्यअनुसार, प्रतिमेट्रिक टन ३२० अमेरिकी डलरमा मल आपूर्ति गर्ने गरी ठेक्का पाएको थियो ।
यता, होलिको मल्टिपल प्रालिले परमेट्रिक टन ३०९ अमेरिकी डलरमा मल ल्याउने गरी ठेक्का पाएको थियो । अहिले मलको अन्र्तराष्ट्रिय मूल्य क्रमशः बढ्दै गएर ३७० अमेरिकी पुगेको अवस्था छ । यसअघि मल ‘बुक’ नगरेकै कारण महंगोमा मल खरिद गरेर ल्याउने सम्भावना पनि अब छैन् ।
शैलुङले ८० हजार टन र होलिका मल्टिपलले २५ हजार टन मल ल्याउन दुवै कम्पनीले ४ अर्ब रुपैयाँ हाराहारीको ठेक्का पाएका थिए । ती दुवै कम्पनीले २०७६ माघमा ठेक्का पाएका थिए । शैलुङ पुसमै २५ हजार टन मल ल्याउने ठेक्का पाएकाे थियाे । पछि, गत असार १८ गते कृषि सामग्री कम्पनीसँग ३० हजार मेट्रिक टन युरिया मल आयात गर्ने शैलुङले सम्झाैता गरेकाे थियाे ।
त्यसको अर्को हप्ता नै थप २५ हजार मेट्रिक टन मल ल्याउने गरी शैलुङले तीनवटा ठेक्का पाएका थियाे । तर, कोरोना भाइरस महामारीको बाहना बनाउँदै मल नल्याएपछि देशभर किसानले मल पाएनन् । देशभर युरिया मलको हाहाकार नै भएको छ ।
आपूर्तिकर्ता शैलुङको भगिनी संस्था शैलुङ इन्टरप्राइजेजले असार पहिलो हप्तासम्म मल ल्याइदिने सम्झौता गरेको थियो । ठेकेदारले समयमै मल नल्याउँदा पनि सरकार लाचार देखिएको छ ।
ठेकेदार सरकारकै अध्यक्ष निकटको व्यक्ति भएकाले मल आयातमा लापरबाही देखिएको छ । मलको ठेक्का पाउने शैलुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डका घरबेटी मानिएका शारदाप्रसाद अधिकारीको कम्पनी हो ।
सत्ता निकटकै व्यक्तिकै पहुँचमा ‘लो बिड’ हालेर मलको ठेक्का हात पार्ने र मल नल्याउने आपूर्तिकर्ता कम्पनी शैलुङलाई कृषिमन्त्री भूसालले कारबाही गर्लान कि ठेकेदारसामु गल्ने हुन त्यो हेर्न बाँकी नै छ ।
‘घरबेटी हुन कि के हुन कानुनले चिन्दैन । सम्झौताअनुसार मल ल्यायो कि ल्याएन भनेर हेर्ने हो, समय दिएका छौं । त्यस बेलासम्म पर्खनै पर्छ । त्यसपछि आवश्यक प्रक्रिया चाल्छौं’ उनले एक सञ्चार माध्यममा बोलेका थिए ।
यो पनि पढ्नुहोस, मलको ढिलाईप्रति कृषिमन्त्री भुसालको चासो, २ साताभित्र शैलुङले नल्याए बिकल्प खोजिने
यता, कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले पनि समयमै आपूर्तिकर्ताले मल ल्याउन नसकेकाले अवस्था हेरेर सम्झौताअनुसार कानूनी प्रक्रिया अघि बढ्ने बताए ।
‘आपूर्तिकर्ताले किन ल्याउन सकेन, मल ल्याउँदै छ, मल चलान गर्ने प्रक्रियामा छ वा मल आपूर्तिसम्वन्धी कुनै प्रक्रिया नै अघि बढाएको छैन भने अवस्था हेरेर कानूनी प्रक्रिया अघि बढ्छ’ उनले भने, ‘अवस्था हेरेर सम्झौता रद्ध गरेर धरौटी फिर्ता गर्न पनि सकियो । त्यो बाहेक अवस्था हेरी कालोसूचीमा राख्ने पनि हुन सक्छ । त्यो सबै कुरा अवस्था हेरी कानूनी परामर्श लिएर मात्र गरिने कुरा हो । भोलीसम्म केही निर्णय आउँला ।’
अझै म्याद थप्न ठेकेदारको ताकेता
मल आपूर्तिकर्ता कम्पनीले थप समय उपलव्ध गराउन ताकेता गरिरहेको छ । दुबै कम्पनीले कोभिडका कारण मल चलान गर्न समस्या परेको भन्दै कम्तीमा १ देखि ३ महिना म्याद थप गरिदिन कृषि सामग्री कम्पनीसमक्ष धाइरहेका छन् ।
‘उहाँहरु हिजो (शुक्रबार) पनि आउनुभएको थियो । अस्ति पनि आउनुभएको थियो । केही समय थप गरिदिनुपर्यो भन्दै चिठी लेख्नुभएको छ’ भण्डारीले भने, ‘तर, हामीले ‘बिडिङ’ गरेअनुसार समयमै मल नआएपछि अब धेरै अपेक्षा गर्ने पक्षमा छैनौं ।’
शैलुङले कम्तीमा २ महिना र होलिको मल्टिपल प्रालिले एक महिना समय माग गरेका छन् । मल ‘बुक’ भइसकेको भनेर चिठी दिएपनि त्यसको आधिकारीता पुष्टि नभएको भण्डारी बताउँछन् ।
क्यापिटल फलोअप्ः
मल खरिदमा चलखेल गर्न ठेक्का संशोधन,जीटुजीको पाँचवर्षे प्रतिवेदन अलपत्र
भारतीय दूतावास भन्छ, ‘सरकारी निकाय नै जीटुजीमार्फत मल आपूर्ति गर्न चाहँदैनन्’
किसानका आँखामा गिर्दै कृषिमन्त्री भुसाल, अनुदानको रकममा र्याल
मल हाहाकार हुँदा पनि सरकार मुकदर्शक, सत्ताको शक्तिमा ठेकेदारको लापरबाही
सीमित ठेकेदारलाई पोस्न मलको बोलपत्र संशोधन, नयाँलाई रोक्न पुराना कम्पनी नै सक्रिय
कृषिमन्त्री भूषालको ९ महिनाः बिचौलियाको निशानामा कक्रक्कै ! किसानका समस्या ज्यूँका त्यूँ