काठमाडौं । खाडी मुलुक कतारले आप्रवासी कामदारले आफूखुशी रोजगारी परिवर्तन गर्न पाउने व्यवस्था गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार रियाल अर्थात ३२ हजार रुपैयाँ तोकेको छ । यसबाट नेपाली कामदारलाई फाइदा हुने देखिएको छ ।
नेपाली श्रमको प्रमुख गन्तव्य कतारमा रहेका नेपाली राजदूतले नयाँ कानूनी व्यवस्थालाई कतारी सरकारको अग्रगामी कदम भनेका छन्।
यद्यपी,राजधानी दोहा नजिकै औद्योगिक क्षेत्रमा कार्यरत नेपाली श्रमिकले त्यहाँका धेरै नेपालीलाई नयाँ कानूनी व्यवस्थाबारे जानकारी नरहेको जनाएका छन्।
राजदूत नारद भारद्वाजले पछिल्लो कानूनी व्यवस्था कामदारहरूको हितमा रहेको बताएका छन । उनले भने, “न्यूनतम पारिश्रमिक वृद्धि हुनुपर्छ भन्ने माग लामो समयदेखिको माग हो।
पछिल्लो निर्णयले कामदारलाई आकर्षण र प्रोत्साहन दुवै गर्छ। यसले कतारमा काम गर्ने सबै कामदारलाई उत्साहित बनाएकाले सकारात्मक र अग्रगामी कदम नै भन्नुपर्छ।”
उनले सुरुको रोजगारदाताको पूर्वस्वीकृति नलिई अन्यत्र काम गर्न जान नपाउने व्यवस्थाको खारेजीले पनि धेरै नेपालीलाई फाइदा पुर्याउन सक्ने बताए।
यसै साता अनुमोदित कानून आप्रवासी कामदारले करार अवधि सामाप्त नभए पनि रोजगारदाताबाट पूर्वस्वीकृति नलिई काम बदल्न पाउने छन्।
यसै वर्षको सुरुमा काम छोड्न बर्हिगमनपत्र आवश्यक रहने व्यवस्था अन्त्य गरेको कतारको पछिल्लो निर्णयसँगै ‘कफाला’ भनिने कामदारको शोषण गर्ने विवादास्पद व्यवस्था समाप्त गरेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले जनाएको छ।
आईएलओका अनुसार नयाँ कानूनले दुई वर्ष वा त्योभन्दा कम अवधि काम गरेको अवस्थामा कामदारले करार अवधि तोड्न वा रोजगारी बदल्न चाहे कम्तीमा एक महिनाको पूर्वजानकारी दिनुपर्ने व्यवस्था गरेको छ।
रोजगारदातासँग दुई वर्षभन्दा बढी काम गरेकाको हकमा दुई महिनाको सूचना दिनुपर्ने भनिएको छ। न्यूनतम पारिश्रमिम भने गजेटमा छापिएको छ महिनापछि मात्रै कार्यान्वयनमा आउनेछ। यो नियम घरेलु कामदारसहित सबै किसिमका रोजगारीका क्षेत्रमा लागु हुने भनिएको छ।
रोजगारदाताले खाना र आवास उपलब्ध नगराएको अवस्थामा कम्तीमा ३०० कतारी रियाल खानाको लागि र ५०० रियाल आवासको लागि उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था छ।
सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिरहेको कतारमाथि त्यसका लागि बनिरहेका रङ्गशाला सहितका पूर्वाधार निर्माणमा खटिएका आप्रवासी कामदारको अधिकार र सुरक्षा सुनिश्चित गर्न दबाव परेको छ।
आप्रवासनसम्बन्धी विज्ञ गणेश गुरूङ् भन्छन्, “विश्वकप फुटबल आयोजना गर्ने भएपछि त्यहाँ कार्यरत कामदारलाई राम्रो व्यवहार भएको छैन भनेर चौतर्फी रूपमा भनिएपछि मात्रै कतारले सुधारहरू गर्न थालेको हो।
उनी थप्छन्, “यसबाट नेपालीलाई फाइदा हुने देखिन्छ किनभने कम्पनीले पनि राम्रो व्यवहार गरेनौँ भने उनीहरूले छाडेर जान्छन् भन्ने महसुस गर्छन्।“
त्यसबाहेक न्यूनतम पारिश्रमिक बढेको र रोजगारीको दायरा पनि फराकिलो भएकाले कतारबाट भित्रने रेमिट्यान्स पनि बढ्ने उनले बताए। आधिकारिक रूपमा झण्डै तीन लाख नेपाली कतारमा कार्यरत छन्।